१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पोखरा पुगेर ओलीले भने: सरकार निर्वाचन सार्ने बहाना गर्दैछ

पोखरामा शनिबार विजयसभामा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओली । तस्बिर सौजन्य: उमेश पुन

पोखरा-  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) को मागलाई बहाना बनाएर दोश्रो चरणको निर्वाचन अझै पछाडि सार्ने योजना सरकारले बनाएको आरोप लगाएका छन्। जेठ ३१ को दोश्रो चरणको निर्वाचनलाई अझै पछाडि लैजाने वा निर्वाचन नै नगर्ने भन्नेमा समेत सरकारको ध्यान पुगिसकेको उनको भनाई छ।

‘अब निर्वाचन कसरी नगर्ने भन्नेमा सरकारको ध्यान रहेको छ,’ पोखरा–लेखनाथ महानगरमा एमालेको विजयसभालाई सम्बोधन गर्दै शनिबार पोखरामा ओलीले भने, ‘निर्वाचन सार्नका लागि एउटा विषय रमजानलाई बनाउने, अर्को राजपाको यसो–यसो भयो भने मात्र सहमतिमा आउँछु भन्ने बाहनालाई पनि कारण बनाउन सक्छ।’

जेठ ३१ को निर्वाचन कुनैपनि बहानामा सार्न नपाईने उनले बताए । ‘राजपालाई भन्न चाहन्छु, सधैं यस्तो र उस्तो भनिरहनु हुँदैछ । यस्तो र उस्तो भनेर निहुँ खोज्नु हुन्न,’ ओलीले भने, ‘नयाँ नयाँ कुरा निकालेर संघर्षबाट आएको लोकन्त्रलाई जोखिममा पार्न पाइदैन ।’ अहिलेकै अभ्यासको बीचबाट सहमति गरेर वार्ताद्वरा अगाडि बढ्न सकिने उनले बताए।

हरेक कुरामा राजपालाई अघि सारिएको भन्दै ओलीले असन्तुष्टि जनाए । ‘राजपाले विरोधको कुरा आफै गरेको छ वा सरकारसँगको साँठगाँठमा भएको हो भनेर समेत मैले सोधे,’ उनले भने, ‘तर प्रधानमन्त्रीले राजपाले आफै गरेको भनेका छन् ।’ राजपाले सबै कुरा भनेको हो भने ७ सय १९ बाट बढाएर किन ७ सय ४४ तह पुर्‍याएको भनेर समेत एमालेको जिज्ञासा रहेको ओलीले बताए।

सरकार नचाहिने कुरामा अल्मल्याएर समस्या खडा गर्न चाहेको ओलीको आरोप छ। सहमतिका साथ देश चलाउनुपर्ने र ४ सय ६१ ठाउँको निर्वाचन गराउनुपर्ने समयमा प्रधानमन्त्रीले सरकारको झोला फ्याकेको उनले बताए । ‘सरकार छाड्नै पर्ने भए २० दिनपछि छाड भन्दा पनि मानेनन् । सरकारको नेतत्व लिन हतार गर्नेले केही दिन पर्खेको भए हुन्थ्यो,’ ओलीले भने, ‘यस्तो बेलामा सहमतिको वातावरण बनाउनुपर्छ भन्ने आग्रह गर्दा सरकारले मानेन।’

राजपाले मागलाई कानुन संशोधन गरेर सम्बोधन गर्न सकिने ओलीको भनाई छ। तर नयाँ नयाँ बहाना बनाएर निर्वाचन विथोल्न नपाइने उनले बताए। ‘हामीले निर्वाचनमा सहभागि गराउनका लागि हस्ताक्षर गरेर दिने समय रहेन । १५ दिन समय छैन,’ उनले भने, ‘तर उनीहरुलाई ठाउँ दिलाउने काम गर्छौं, छुट्यो भन्नु पर्दैन।’

सभामा बोल्दै पोखरा–लेखनाथ महानगरकी नवनिर्वाचन उपमेयर मञ्जु गुरुङले सबैसँग मिलेर पोखरालाई समृद्ध सहर बनाउने बताईन। उनले निर्वाचन अघि घोषणपत्रमा उल्लेख गरिएका प्रतिवद्धता पुरा गरेरै छाड्ने बाचा गरिन । नवनिर्वाचित मेयर मानबहादुर जिसीले स्वाभिमान झुक्नेगरि कहिल्यै काम नगर्ने बचन दिए । ‘बिगार्ने काम कहिल्यै गर्नेछैनौं,’ हजारौं मतदातामाझ जिसीले भने, ‘सबैको सहयोगमा पोखरा सहर बनाउनेछौं।’

 

 

प्रकाशित: १३ जेष्ठ २०७४ १३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App