१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पाँच हजार दुई सय ५३ महिला निर्वाचित

काठमाडौं- स्थानीय तहको निर्वाचनमा आरक्षणसहित खुला प्रतिस्पर्धाबाट जनप्रतिनिधि महिलाको उपस्थिति बढेको छ। पहिलो चरणको चुनावको मतपरिणामअनुसार गाउँपालिका र नगरपालिका प्रमुखमा १२ जना, उपप्रमुखमा दुई सय १४ जना महिला निर्वाचित भएका छन्।

सबैभन्दा धेरै जनप्रतिनिधि बन्ने अवसर महिलाका लागि यो पहिलोपटक हो। मतपरिणामअनुसार प्रमुख, उपप्रमुख, महिला सदस्य, दलित महिला सदस्य गरी पाँच हजार दुई सय ५३ महिला निर्वाचित भएका छन््।  

निर्वाचन आयोगले दुई सय ७३ स्थानीय तहको मत परिणाम घोषणा गरेको छ। पहिलो चरणको चुनाव सकिएको दस दिन बितिसक्दा सबै तहको परिणाम आउन सकेको छैन।

तीन गाउँपालिकासहित पाँच तहमा एमाले र एक नगरपालिका सहित चार गाउँपालिकामा कांग्रेसका तर्फबाट महिला विजयी भएका छन्। माओवादी केन्द्रका तर्फबाट दुईवटा गाउँपालिकामा महिला विजयी भएका छन्।

नवलपरासीको कावासोती, चितवनको राप्ती, स्याङ्जाको पुतलीबजार, जुम्लाको चन्दननाथ नगरपालिकाको प्रमुखको नेतृत्व महिलाले लिएका छन्। रसुवाको कालिकास्थान, म्याग्दीको धौलागिरि, तनहुँको म्याग्दे, नवलपरासीको हुप्सेकोट, लमजुङको दूधपोखरी, चितवनको इच्छाकामना, सिन्धुलीको सुनकोसी, सल्यानको कुमाखमालिका गाउँपालिका प्रमुखमा महिला विजयी भएका छन्।

त्यसैगरी विभिन्न पार्टीबाट दुई सय ८३ जना प्रमुख/उपप्रमुख विजयी भए। आरक्षण अनुसार २४ सय २६ जना महिला सदस्य, २३ सय सातजना दलित महिलाका तर्फबाट विजयी बनेका छन्।

नतिजा सार्वजनिक भइसकेका जिल्लाबाट तथ्यांक आउन ढिलो भएकाले सबै सार्वजनिक गर्न नसकिएको आयोगले जनाएको छ। समग्रमा १२ हजार पाँच सय ६४ जना जनप्रतिनिधि बनेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।

पहिलो चरणका चुनाव भएका जिल्लाका गाउँपालिका, नगर, उपमहानगर र महानगरपालिकाबाट गरी १३ हजार ६ सय ६५ जना निर्वाचित हुँदैछन्।

तीनवटा प्रदेशका ३४ जिल्लामा सम्पन्न भएको निर्वाचनमा हालसम्म एमालेले अन्य पार्टीलाई उछिनेको छ।

आयोगका अनुसार एमालेको तर्फबाट प्रमुख, उपप्रमुख, वडाध्यक्ष, खुला सदस्य, महिला सदस्य, दलित महिला गरी पाँच हजार पाँच सय ५६ जनाले जितेका छन्। कांग्रेसका तर्फबाट चार हजार तीन सय पाँच जना, माओवादी केन्द्रका तर्फबाट दुई हजार दुई सय ८४ जना, राप्रपाबाट एक सय एक जना विजयी भएका हुन्।

त्यसैगरी राष्ट्रिय जनमोर्चाका तर्फबाट ८१, नेमकिपाबाट ९१ जना, नयाँ शक्तिबाट ५८ जना, स्वतन्त्रबाट ८० जना विजयी भएको निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित: १२ जेष्ठ २०७४ ०२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App