१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

आशा जगाए उदयपुर र हेटौंडा सिमेन्टले

उदयपुर- पछिल्ला दिनमा सरकारबाट सञ्चालित केही उद्योगहरूले नयाँ आशा जगाएका छन्। जीवनजल उत्पादनबाट पुनः सञ्चालनमा आएको नेपाल औषधि लिमिटेडपछि उदयपुर र हेटौंडा सिमेन्टले प्रगतिपथमा लम्कने संकेत देखाएका छन्।

नेपाल औषधि लिमिटेडपछि उदयपुर र हेटौंडा सिमेन्टले प्रगतिपथमा लम्कने संकेत देखाएका छन्।

सरकारबाट सञ्चालिन दुईमात्र सिमेन्ट उद्योग गैंडा ब्रान्डको उदयपुर र शक्ति ब्रान्डको हेटौंडा सिमेन्टले नयाँ रेकर्ड राख्न सफल भएका छन्। उदयपुर सिमेन्ट स्थापना भएको झन्डै दुई दशकपछि पहिलोपटक नाफामा गएको छ भने हेटौंडा सिमेन्टले आफ्नो उत्पादन तीव्र बनाउँदै दुई महिनाअघि नै निर्धारित लक्ष्य पूरा गरेको छ।

शक्ती ब्रान्डमा सिमेन्ट उत्पादन गर्दै आएको हेटौंडा सिमेन्ट उद्योगले पछिल्लो ३३ वर्षमा आफ्नो लक्ष्यभन्दा धेरै उत्पादन गर्न सुरु गरेको छ। उद्योगका अनुसार चालु आर्थिक वर्षको वैशाखसम्ममा उत्पादन लक्ष्य पूरा गरिसकेको छ।

चालु आर्थिक वर्षमा उद्योगले एक लाख २० हजार मेटि्रक टन क्लिंकर उत्पादन गर्ने लक्ष्य राखेको थियो। उक्त लक्ष्य दुई महिनाअघि नै पूरा गरिसकेको हेटौंडा सिमेन्ट उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले बताए। 'हामी १० महिनामा हाम्रो उत्पादन लक्ष्यभन्दा माथि पुगिसकेका छौं,' सिंहले भने, 'यो अहिलेसम्मकै उच्च हो।' चालु आर्थिक वर्षको १० महिनामा उद्योगले तीन हजार मेटि्रक टनभन्दा धेरै क्लिंकर उत्पादन गरिसकेको छ।

यसअघिका वर्षमा लक्ष्यको बढीमा ७० प्रतिशतसम्म उत्पादन हुने गरेको थियो। आर्थिक वर्ष ०६९/७० मा ५८ प्रतिशत, ०७०/७१ मा ६१ प्रतिशत, ०७१/७२ मा ७० प्रतिशत र ०७२/७३ मा लक्ष्यको ४० प्रतिशत मात्र उत्पादन हुन सकेको थियो।

लक्ष्य पूरा गरेसँगै उद्योगले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २३ करोड ५७ लाख तीन हजारभन्दा धेरै खुद नाफा कमाएको छ। जबकि गत वर्ष खुद नाफा चार करोड ६५ लाख रुपैयाँ मात्र थियो। ०७१/७२ मा पाँच करोड नाफा थियो भने त्योभन्दा अघिल्ला वर्षमा उद्योग घाटामा थियो।

उद्योगको अहिलेसम्म सञ्चित घाटा ६० करोड रुपैयाँ छ। आगामी वर्षमा ६० करोडभन्दा धेरै खुद नाफा गरेर घाटालाई शून्यमा झार्ने लक्ष्य भएको हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष रघुरमण न्यौपानेले बताए। उद्योग मन्त्रालयबाट जसरी पनि लक्ष्य पूरा गर्नुपर्छ भनेर सकारात्मक सहयोग भएकाले काम गर्न प्रोत्साहन मिलेको न्यौपानेले बताए।

उद्योगले चार वर्षदेखि आफ्नो प्रशासनिक खर्च समेत घटाइरहेको छ। उद्योगका अनुसार पछिल्लो चार वर्षमा प्रत्येक बोरामा १२ प्रतिशतले प्रशासनिक खर्च कम भएको छ।  सिंहका अनुसार प्रतिबोरा ४९ रुपैयाँले प्रसाशनिक खर्च कम भएको छ। हेटौंडा सिमेन्ट उद्योग २०३३ सालमा स्थापना भएको थियो।

सरकारबाट सञ्चालित अर्को उद्योग उदयपुर सिमेन्टले २०४९ सालबाट उत्पादन सुरु गरे पनि अहिलेसम्म नाफामा जान सकेको थिएन। 'झन्डै दुई दशकको इतिहासमा पहिलोपटक नाफामा गएका छौं,' कम्पनीका महाप्रबन्धक सुरेन्द्र पौडेलले भने, 'कर्मचारी व्यवस्थापन र मन्त्रालयको समन्वयमा पहिलोपटक नाफामा गएको हो।'

पौडेलले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा उद्योग १६ करोड ३४ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ। उद्योगले उत्पादनलाई तीव्रता दिँदै अबको दुई महिनामा कुल नाफा २५ करोड रुपैयाँ पुर्‍याउने लक्ष्य लिएको छ।

गत आर्थिक वर्षमा जम्मा १३ लाख ५८ हजार एक सय ८७ बोरा सिमेन्ट बिक्री भएकोमा यस आर्थिक वर्षको १० महिनामा १४ लाख ७० हजार आठ सय चार बोरा बिक्री भइसकेको छ। उद्योगमा सिमेन्ट उत्पादन भएपछि स्टक रहन पाउँदैन। हरेक लटमा उत्पादित सिमेन्ट तुरुन्तै ट्रकमा लोड भएर बिक्री हुने गरेको छ।

आर्थिक वर्ष ०६३/६४ पछि सबैभन्दा धेरै उत्पादन भएको उपनिर्देशक संयजकुमार लालले बताए। गत आर्थिक वर्ष ०७२/७३ मा ६५ हजार एक सय २५ मेटि्रक टन क्लिंकर उत्पादन भएकोमा यस आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ८१ हजार चार सय ५० मेटि्रक टन उत्पादन भएको छ। गत वर्षको भन्दा चालु वर्षको १० महिनामा १७ हजार तीन सय २५ मेटि्रक टन बढी क्लिंकर उत्पादन भएको छ। 

उद्योग पहिलोपटक नाफामा गएर उत्पादन तीव्र हुनुमा कर्मचारी र उद्योग मन्त्रालयबाट पूर्ण सहयोग भएको पौडेलले बताए। 'मैले मन्त्रालयलाई नीतिगत रुपमा सहयोग गरिदिनुस्। आर्थिक सहयोग चाहिँदैन भनेको छु,' पौडेलले भने। कर्मचारीहरू भने उद्योगले अहिलेसम्मकै कुशल व्यवस्थापन पाउँदा नाफामा लम्किरहेको बताउँछन्।

दुई दशकअघि स्थापना भए पनि यसको लागत खर्च ६ अर्ब २० करोड रुपैयाँ पुगेको थियो। त्यो बेला उच्चस्तरको जापानिज प्रविधिमा स्थापना भएको उद्योगमा राम्रो प्रविधि भएकाले धेरै खर्च भएको पौडेलले बताए। यसको भौतिक संरचना बनाउन झन्डै लागतको ३२ प्रतिशत खर्च भएको थियो।

उद्योगबाट धेरै कर्मचारी सन्तुष्ट छन्। छोराछोरीलाई उच्च शिक्षा हालिस गराउन सकेकोमा खुसी लागेको कार्यरत कर्मचारीले बताए। उद्योगले आफ्नै खर्चमा स्कुल चलाएको छ। प्रत्येक कर्मचारी बस्नका लागि आफ्नै कर्मचारी अवास गृह छ।

अहिले उद्योगमै औषधि उपचार र उपदानको व्यवस्था गर्न कर्मचारीले माग गरेका छन्। 'अहिलेको हाम्रो माग भनेको उपदान र औषधि उपचार हो,' अखिल नेपाल मजदुर संघका चक्रबहादुर कार्कीले भने, 'हाम्रो माग ठूलो छैन। उद्योग चलाउन हाम्रो सधैं सहयोग छ।'

विगत दुई वर्षको अवधिमा उद्योगबाट अवकाश भएका करिब ७० जना कर्मचारीको करिब १२ करोड अवकाश सुविधा आन्तरिक स्रोतबाट व्यवस्थापन गरी भुक्तानी गरिएको छ।  कम्पनीमा साढे तीन अर्ब सञ्चित नोक्सानी छ।

प्रकाशित: ११ जेष्ठ २०७४ ०५:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App