१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको राजीनामाले अन्योल बढ्यो : एमाले

काठमाडौं- प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामापछि दोस्रो चरणको स्थानीय चुनावबारे अन्योल बढेको निष्कर्ष निकालेको छ। अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बुधबार बसेको एमाले स्थायी समिति बैठकले स्थानीय तहको संख्या वृद्धि र सीमा हेरफेरका कारण जेठ ३१ गते हुने चुनावलाई अन्योल बढाएको निष्कर्ष निकालेको हो। यस्तो बेला प्रधानमन्त्री दाहालको राजीनामाले थप अन्योल बढेको बैठकको निचोड छ।

एमाले सचिव योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, 'स्थानीय तहको संख्या र सीमा हेरफेर गर्ने सरकारको निर्णयले जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई अन्योलपूर्ण बनाइदिएको छ।' विज्ञप्तिमा भनिएको छ, 'स्थानीय तहको घोषित निर्वाचन समयमै सम्पन्न गर्नुपर्ने जिम्मेवारी रहेको सरकारका प्रधानमन्त्रीले पदबाट राजीनामा दिएर परिस्थितिलाई झन् अन्योलपूर्ण बनाउनुभएको छ। '

बैठकले तत्कालै संसद्मा सरकारको नीति तथा कार्यक्रम र वार्षिक आय–व्यय (बजेट) पेस गर्न र स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सरकारी पक्षबाट भएका ज्यादतीको संसदीय छानबिन माग गरेको छ।

संविधान संशोधन  र प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावजस्ता विषयमा राजनीतिक सहमतिको वातावरण निर्माण गर्नुपर्नेमा राजीनामाले त्यस्तो हुन नसकेको एमालेले जनाएको छ।

प्रधानमन्त्री दाहालले कांग्रेससँग भएको सहमतिअनुसार पहिलो चरणको स्थानीय चुनावमा सम्पन्न भएपछि पदबाट राजीनामा दिएका हुन्। एमालेले दोस्रो चरणको चुनावसम्म दाहालकै निरन्तरता चाहेको थियो। 

सरकारले चुनावका मुखमा आएर स्थानीय तहको संख्या बढाएकोमा एमालेले आपत्ति जनाएको छ। बैठकले पूर्वानिर्धारित संख्या र सीमाको आधारमै चुनाव हुनुपर्नेमा जोड दिएको छ।

'पार्टी स्थानीय तहको पूर्वनिर्धारित संख्या र सीमाभित्र रहेर आगामी जेठ ३१ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न जोडदार माग गर्दै यसका लागि सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गर्दछ' एमालेले भनेको छ।  

प्रकाशित: ११ जेष्ठ २०७४ ०२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App