१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जसले कुकुर मर्दा १३ दिन नून बारिन् (भिडियाे)

काठमाडौं – ललितपुरको भञ्ज्याङस्तिथ जलबिहार मन्दिर छेउमा ५ रोपनी जग्गा भडामा लिएर स्नेहाज केयर नामक संस्था सञ्चालन गर्दै आएकी  स्नेहा श्रेष्ठ विगत २ वर्षदेखि छाडा छोडिएका, चोटपटक लागेका, गल्लीगल्ली भौतारिँदै हिँडेका कुकुर र अन्य जनावरहरूको सहारा बनेकी छिन्। 

पहिला कुकुर मनै नपराउने उनी छेउछाउमा कुकुर आउँदा लखेट्ने गर्थिन् । तर उनका श्रीमान अभिषेक सुवेदी भने उनी भन्दा ठ्याक्कै उल्टो स्वभावका थिए । उनी कुकरलाई औधी मन पराउँथे तर श्रीमतीको कुकुरप्रतिको घृणाका कारण कुकर पाल्ने उनको रहर पूरा हुन सकेको थिएन । धेरै प्रयासपछि उनले श्रीमतीलाई कुकुर पाल्न सहमत गराए । कुकुरलाई घर बाहिरै राखेर पल्नुपर्ने सर्तमा उनले दुई वटा कुकुरका बच्चा लिएर आए । घर अगाडिको सानो ग्यारेजमा राखेर उनले कुकुर पाल्ने धोको पूरा गरे । 

श्रीमती स्नेहा भने खासै वास्ता गर्दिनथिन् । त्यसैले सम्पूर्ण हेरचाह अभिषेक आफैँले गर्थे । दुईमध्ये एउटा कुकुर ल्याएको केही दिनमै मर्याे । समयमै राम्रो हेरचाह गरेको भए त्यो कुकुर मर्ने थिएन भन्दै स्नेहालाई ग्लानी भयो । जुन कुराले उनको मनमा धेरै नै पिरोल्यो । आफ्नो पीडा भुलाउन उनले दोस्रो कुकुर ल्याउने विचार गरिन् । केही दिनपछि नै अर्को कुकुर ल्याएर उनले नाम पनि राखिन् ‘जारा’ । 

कुकुर मनै नपराउने स्नेहामा त्यो घटनाले एकाएक परिवर्तन ल्यायो । पछिल्ला दिनमा उनले आफ्नो समय जारासँग बिताउन थालिन् । बिहान अबेरसम्म सुत्ने स्नेहा बिहानै उठेर कुकुरको स्यहार गर्ने, मर्निङवाकमा जाने र कुकुरलाई खान खुवाएर अफिस जान थालिन् । 

उनी अफिस जाँदा होस् वा छ्रुट्टीपछि घर फर्किँदा किन नहोस् जारा गेटमा प्रतीक्षा गथ्र्यो । यस्तै घटनाले स्नेहा र जाराको सम्बन्ध निकै घनिष्ठ बन्दै गयो । एकदिनको कुरा हो, घर फर्किँदा सधैं गेटमा कुर्ने जारालाई उनले देखिनन् । उनी हतास हुँदै हतारहतार घरभित्र दौडिइन् । त्यहाँ जाँदा उनले जारालाई रगताम्य अवस्था फेला पारिन् । जाराको त्यो अवस्था देखेर स्नेहा भावुक भइन् । उनको मनमा सन्नटा छायो । के गर्ने नगर्ने उनले भेउ नै पाउन सकिनन् । परिवारको सदस्यझैँ पालनपोसन गरेको जारालाई त्यो अवस्थामा देखेर स्नेहा भक्कानिएर रोइन् । बल्लतल्ल उनले जारालाई अस्पताल पुर्याइन । त्यहाँ पुगेपछि थाहा भयो, जारालाई कसैले बिष खुवाएको रहेछ । 

जीवनमा कहिल्यै कसैका लागि व्रत नबसेकी स्नेहा जाराको जीवन रक्षाको लागि व्रत बसिन,भगवानसँग प्राथना गरिन् । जति प्रयास गर्दा पनि कसैको केही लागेन । अन्ततः जारा सधैंलाई बिदा मागेर गयो । 
जसरी मान्छे मर्दा १३ दिन किरिया बस्ने परम्परा छ, त्यसरी नै स्नेहाले आफ्नै बच्चा जस्तै गरेर पालेको जारा मर्दा १३ दिन नुन बारेकी थिइन् ।

त्यो घटनापछि स्नेहाको नजर गाउँटोलका कुकुरहरुमाथि पर्याे । घरमै पालेको कुकुर त सुरक्षित छैनन् बाहिर भौतारिएर हिँडेने कुकुरहरुको हालत झन् के हो भनेर उनको मन पोल्न थाल्यो । त्यस्ता कुकुरहरु देख्दा पनि स्नेहा निधै भावुक हुन्थिन् । उनले ती कुकुरहरुलाई बिस्कुट, खाना खुवाउँथिन् । चोटपटक लागेका, बिरामी कुकुरहरुलाई उनले उपचार गर्थिन् । अफूसँग ठाउँ नभाएकाले ती कुकुरहरुको व्यवस्थापनका लागि उनले केनल क्लबसँग कुरा गरेर प्रति कुकुर दिनको २ सय ५० रुपैयाँ तिर्थिन् । पछि केनल क्लबमा पनि ठाउँ अभाव हुनथाल्यो । त्यसपछि उनले आफ्नै केयर सञ्चालन गर्ने योजना बनाइन् । त्यसैको प्रतिफल आज उनले स्नेहाज केयरको स्थापना भएको हो । अहिले उनले स्नेहाज केयरमा एक सय पाँच कुकुरहरुलाई सहारा दिँदै आएकी छन् ।

ठमेलमा उनको आफ्नै व्यवसाय छ। त्यहाँबाट कमाएको ८० प्रतिशत रकम उनले स्नेहाज केयरका लागि छ्ट्याउँछिन्। आवश्यक बाँकी रकम भने स्वदेश तथा विदेशमा बस्ने नेपालीहरूले सहयोग गर्दै आएको स्नेहाले बताइन् ।

स्नेहाज केयर सेन्टरमा अहिले २ जना डाक्टर, ३ जना भेट टेक्निसिएनसहित ८ जना कार्यरत छन् । जसको मासिक खर्च कम्तिमा पाँच लाख लाग्छ ।

स्नेहाले धेरै पैसा खर्च गरेर विदेशी कुकुर किन्नुभन्दा पनि आफ्नै देशको गल्ली गल्लीमा भौँतारिने कुकुरलाई सहारा दिन सबैमा आग्रह गरिन् । यसले ती कुकुरहरुको सहारा र मानिसहरूको पाल्ने चाहना पनि पूरा हुने स्नेहाको बुझाई छ । उनले कुकुरलाई माया गर्न नसक्नेले दुःख पनि नदिन सबैमा अग्रह गरिन् । 

प्रकाशित: १० जेष्ठ २०७४ ०८:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App