१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दोस्रो चरणमा पनि तालमेल

लहान – स्थानीय तहको पहिलो चरणको चुनावमा असफलजस्तै देखिएको तालमेल रणनीति दोस्रो चरणमा पनि दोहोर्याउने दलहरूको तयारी देखिएको छ । यहाँ मधेसवादी दल र नेपाली कांग्रेसबीच तालमेलको कसरत भइरहेको छ भने  एमालेले पनि विचार मिल्ने दलसँग तालमेल हुने जनाएको छ । 

पहिलो चरणको निर्वाचनमा सहभागी संघीय समाजवादी फोरम नेपालसँग नेपाली कांग्रेसले तालमेल कसरत तीव्र पारेको छ । नगरपालिकादेखि गाउँपालिकासम्म मधेसवादी दलसँग तालमेल भए चुनावी नतिजा आफ्नो पक्षमा पार्न सकिने दाउमा कांग्रेसले कसरत अघि बढाएको हो ।

कांग्रेससँग तालमेल भए स्थानीय तहमा सम्मानजनक सिट हात पार्न सहज हुने आकलन फोरमका स्थानीय नेताको पनि छ । मधेसवादी दलसँग तालमेल गरे पार्टीको संगठित मतमा मधेसको भावनात्मक मत थपिने कांग्रेसको बुझाइ छ । 

कांग्रेस सिरहाका नेता एवं लहान नगरपालिका प्रमुखका प्रस्तावित उम्मेदवार महेश चौधरी भन्छन्, ‘मधेसवादी दलसँग चुनावी तालमेल गर्न छलफल अघि बढाइसकेका छौं ।’ मधेसको माग र मुद्दाप्रति कांग्रेसको समर्थन रहँदै आएकाले पनि चुनावी तालमेल गर्न सहज हुने उनको तर्क छ । चुनावी प्रचार अभियानमा कांग्रेस नेता विकासे नारासँगै मधेसका मुद्दाप्रति सहानुभूति व्यतm गर्दै मतदाता आकर्षित गर्ने कसरतमा जुटेका छन् । कांग्रेस सिरहा सभापति रामचन्द्र यादवले भने, ‘कांग्रेसको बलियो जनाधारलाई यो निर्वाचनमा भरपूर उपयोग गरी परिणाम आफ्नो पक्षमा पार्न कसरत जारी छ ।’
 
एमालेले पनि मधेसवादी दलले छरेको ‘भ्रम’ चिर्दै बिच्किएका मतदाता रिझाउने कसरत तीव्र पारेको छ । एमालेले संविधानमा संशोधन नचाहेको भए पहिला कसरी संशोधन भयो भन्ने तर्कसहित सो दलका नेता मतदातासमक्ष प्रस्तुत भइरहेका छन् । देश र रैथाने मधेसीलाई घात हुने बुँदामा मात्र आफ्नो पार्टीको असहमति रहेको प्रस्टीकरण दिँदै एमालेका नेता तथा प्रत्याशी मतदातामाझ गइरहेका छन् । एमाले नेता अशोक यादव भन्छन्, ‘यहाँका नगर र गाउँपालिकाका मतदामामा अझै हाम्रो पकड मजबुत छ, केहीलाई अलमल्याइएको पाइयो । तर, उहाँहरू (अलमलमा परेका मतदाता) पनि प्रस्ट भइसक्नुभयो ।’ एमालेले आफू नेतृत्वको सरकारका पालमा मधेसको विकासका लागि ल्याएका कार्यक्रमलाई पनि मतदाता रिझाउन स्मरण गराइरहेको छ । ‘स्थानीय तहको निर्वाचनप्रति एमालेकै बढी जोड थियो, अहिले मधेसवादी दल पनि निर्वाचन स्विकारेर सहभागी भइरहेका छन्’, नेता यादवले भने, ‘हामी मतदातामाझ यथार्थ पस्केर मत माग्दैछौं ।’

यादवले एमाले पनि विचार मिल्नेसँग तालमेल गर्न खुला भएको बताए । उनले भने, ‘चुनावी तालमेलका लागि वार्ता गर्न पार्टीका अगुवा सम्मिलित कमिटी नै गठन गरिसकेका छौं ।’ केन्द्रीय सदस्य लीलानाथ श्रेष्ठको संयोजकत्वमा रामचन्द्र यादवसहित सातजनाको समिति गठन भएको उनले बताए । तालमेल हुने दलबारे भने उनले खुलाएनन् । 

एमाले सिरहाका अध्यक्ष प्रमोद यादवका अनुसार मधेसवादी दल चुनावमा सहभागी हुने भएपछि वातावरण सहज बनेको छ । ‘हाम्रो चुनावी प्रचारप्रसार सहरदेखि देहात (गाउँ) सम्म तीव्ररुपमा अघि बढिरहेको छ । केही स्थानमा उम्मेदवारी टुंगो लागिसकेको छ, केही स्थानमा बाँकी छ’, उनले भने, ‘बाँकी स्थानमा पनि छिटै टुंगो लाग्छ ।’ जिल्लामा आफूहरूको जनाधार नखस्केको उनको दाबी छ । ‘केही स्थानका केही व्यक्तिले पार्टी छाडे पनि मतदाता हल्लिएका छैनन्’, उनले भने । 

प्रकाशित: १० जेष्ठ २०७४ ०१:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App