१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
ब्लग

सलाम! पहिलो दलित मेयर देवकुमारलाई

ढोरपाटन नगरपालिकाका नवनिर्वाचित मेयर नेदेवकुरमा नेपाली

यतिबेला ढोरपाटन नगरपालिका दुईवटा विषयले चर्चामा छ। एक पहिलो दलित मेयर, दोस्रो ढोरपाटनमा एमालेको विजयी। अहिलेको बुर्तिबाङ नगर पहिलाको चार गाविसको समष्टि हो। बुर्तिबाङ, खुंगा, अधिकारीचौर, बोबाङ। राज्यले संरचना फेर्दानफेर्दै यो पटक अन्तजस्तै ढोरपाटनलाई चुनाब लागिसकेको थियो। चुनाव खेल्न सक्नेले नै जित्ने निर्दिष्टि अभियान हो। यो पटकको चुनाबमा राष्ट्रवादको नाराले एमाले जगैदेखि जागेको थियो।

यही माहोलमा ढोरपाटन मेयरमा देवकुरमा नेपाली विजयी भएका छन्। समाजसेवाका नाममा गाउँगाउँ हेलिकप्टरमा पुग्ने देवकुमार, जगबाट जागेको एमाले, ५१ प्रतिशत बढी दलित मतदाता, प्रशस्त आर्थिक पहुँच, आफ्नै एफएमबाट दैनिक समाचार अपडेट उनको विजयको कारण हुनसक्छन्।

सूर्य चिन्हको ब्यानरमा उम्मेदवार बनेका देवकुमारको जितमा एमालेले खुशी मनाउनु स्वभाविक हो। तर के यो जित साँच्चै एमालेको हो? अथवा देवकुमारको आफ्नै? यसको जवाफ त्यति सहज छैन। पुराना एमाले एवं मेरा मेरा अंग्रेजी विषयका गुरु बेगबहादुर पुन, पूर्व जिविस उप–सभापति मोहनलाल शर्मा, टंक पौडेल, गोकुल शेरचन, लीला शेरचनसँग पनि यो प्रश्नको जवाफ छैन।

को हुन् देवकुमार नेपाली
२०४५ सालतिर बुर्तिबाङ वरपर देवकुमारको चर्चा बढ्यो। त्यतिबेला उनी भलिबलको अब्बल खेलाडी थिए। तात्कालीन उत्तरगंगा माविका विद्यार्थी उनको चर्चा विं.सं. ५० को दशकसम्म आइपुग्दा युवा पुस्तामा अझ चुलियोे। ‘देबकुमारले स्पाइक हानेपछि कसैले उठाउन सक्दैन’, त्यतिबेला बाग्लुङका युवा माझ एउटा भनाइ स्थापित भयो।
हुन पनि क्षेत्रीय तहमा भलिबल खेल्न गएका देवकुमार कहिल्यै रित्तो हात फर्किएनन्। उनी सधैँ देवकुमार कहलीरहे। भलिबल खेल्ने क्रममै रणसिंह किटेनीबाट एक मगर युवतीसँग विवाह गरे। पछि उनको चर्चाको विषय फेरियो। ‘दमईको छोराले मगर्नी विवाह?’, उनी फेरि चर्चित बने। विवाह पछि देवकुमारले बुर्तिबाङमा एउटा फेन्सी पसल खोले। त्यतिबेला बुर्तिबाङमा नेकपा मसालको जगजगी थियो।

संयोग माओवादीले बेनी आक्रमण गर्दा तिनै बराल बेनीस्थित नेपाल बैंकका हाकिम थिए। यी सबै संयोगहरु देवकुमारसँग साइनो राख्दैन तर यी विषयबिना उनको आर्थिक विश्लेषणको पाटो अपुरै रहन्छ।

बुर्तिबाङको तल्लो बजारमा पक्की घरसहित उनले व्यापार सुरु गरेका थिए। त्यहीँदेखि उनले राजनीति चाखे। उनको राजनीतिक पृष्ठभूमि मसालसँग जोडियो। सरल स्वभावका उनीसँग युवाको हिमचिम बढ्नु स्वभाविक थियो। धेरै समय उनी युवासँगै रम्थे। त्यसको अर्को सामाजिक पक्ष देखियो त्यो के भने देवकुमारका हकमा बुर्तिबाङ बजार जातीय भेदभावका विषयमा नरम बन्न थाल्यो। बुर्तिबाङ वरपर देवकुमारको हकमा केही छुवाछुतको कुरा उठाउन सक्ने स्थितिमा रहेन। हो यसर्थमा छुवाछुत मुक्तिको दिशामा उनको योगदान महत्वपूर्ण रह्यो। त्यतिबेला कथित ‘उपल्लो जात’काहरुलाई ‘ओई र तँ’ भनेर सम्बोधन गर्ने हिम्मत उनीमा मात्रै थियो।

२०५४ को स्थानीय चुनावपछि मसालबाट लीलबहादुर थापा मगर जिल्ला विकास समितिको सभापति बने। उनको हिमचिमबाट प्रहरी राशनको ठेक्कामा प्रवेश गरे देवकुमार। २०५५ देखि देवकुमारले बुर्तिबाङ छोडे। फेन्सी छोडेर हिँडेका देवकुमारले ढोरपाटनमा बसोबास गर्ने एक तिब्बतीयन युवतीसँग दोस्रो लगनगाँठो कसे। माओवादी शान्ति प्रक्रियामा आएपछि उनले पोखरामा साइकल होलसेल पसल सुरु गरे। बुर्तिबाङ वरपरका क्लब एवं गाउँका सामाजिक काममा दान गर्न उनी हेलिकप्टर लिएर जान थाले। त्यतिबेला पोखरामा उनलाई स्थापित गराउन गल्कोटका पुराना माओवादी कमरेड पहाड (मेखबहादुर विक) ले निकै सहयोग गरेका थिए।

***
देवकुमार बुर्तिबाङमै हुँदा नेपाल बैंकमा सूर्य बराल (हाल सेवा निवृत्त) हाकिम भएर गएका थिए। उनीसँग देवकुमारको २०५५ तिर निकै राम्रो सम्बन्ध बन्यो। अहिले बित्त क्षेत्रमा देवकुमारको लगानी बढ्नुमा बरालको सुझाव सल्लाह हुनसक्ने धेरैले अड्कल गर्छन्। संयोग माओवादीले बेनी आक्रमण गर्दा तिनै बराल बेनीस्थित नेपाल बैंकका हाकिम थिए। यी सबै संयोगहरु देवकुमारसँग साइनो राख्दैन तर यी विषयबिना उनको आर्थिक विश्लेषणको पाटो अपुरै रहन्छ।

पोखराबाट देव गुरुङले चुनाव जित्दा देवकुमारले ठूलै सहयोग गरेका थिए। गुरूङसँग उनले मितै लगाए। पोखरामा देव गुरूङका भरपर्दा सहयोगी उनै देवकुमार हुन्। पार्टी विभाजनका क्रममा देवकुमार गुरूङसँगै रहे। पार्टी एकतापछि बागलुङका हिल, तारा, अर्गलमा बादललाई हेलिकप्टरमा सयर गराउने उनै देवकुमार हुन्। दोस्रो संविधानसभा चुनावमा बागलुङ क्षेत्र नम्बर २ बाट माओवादीका उम्मेदवार लीलबहादुर थापा मगरको चुनाबी अभियान खर्च उनकै काँधमा थियो।

आर्थिक रुपले फड्को मार्दै गइरहेका बेला देवकुमारले जिन्दगीमा नसोचेको बज्रपात आइलाग्यो। ब्याडमिन्टनमा राष्ट्रिय खेलाडी बनिसकेका छोरा गुमाउँदाको पीडा उनले सहे। पहिलैदेखि समाजिक काममा अगाडि देखिने उनी त्यो घटनापछि अझ सक्रिए देखिए।  महिनाको ४ पटकसम्म हेलिकप्टरमा शिक्षा, खेलकूद सामग्री, खानेपानी कार्यक्रम लिएर उनी बुर्तिबाङ पुग्न थाले। गाउँ–गाउँमा समाज सेवाका लागि हेलिकप्टरबाट जाँदा उनले सञ्चारको महत्व बुझे। बुर्तिबाङमा दुईवटा एफएम हुँदाहुँदै देवकुमारकै पहलमा अर्को रेडियो स्थापनाको पृष्ठभूमि पनि यही नै हो।

***
यसरी बाजी मारे
बागलुङ क्षेत्र नम्बर ३ को केन्द्र समेत रहेको ढोरपाटन नगरपालिकामा देवकुमारको बिजय हुनुमा रोचक संयोगहरु छन्। जुन विषय सामान्य सोचभन्दा निक्कै नै फरक लाग्छन्। पहिलो चरणको चुनावमा ढोरपाटन नगरपालिकाको मेयर को बन्ने भन्नेमा उनको नाम कतै थिएन। कुनै पार्टीबाट उनी पनि चर्चा थिएनन्। २०५१, ०५४ को निर्वाचन र २०५६ को संसदीय चुनावमा एमालेसँग मिलेर नेकपा (मसाल)को जनमोर्चाले एकक्षत्र विजय हासिल गरेको ठाउँ हो यो। बाम तालमेलको नाममा एमाले सधैँ मसालको छायाँ बनेर बसेको थियो।

सूर्य चिन्हको ब्यानरमा उम्मेदवार बनेका देवकुमारको जितमा एमालेले खुशी मनाउनु स्वभाविक हो। तर के यो जित साँच्चै एमालेको हो? अथवा देवकुमारको आफ्नै? यसको जवाफ त्यति सहज छैन।

यो चुनाबमा कांग्रेस एक प्रकारले खुशी थियो। किनभने यो पटक वामपन्थी तालमेलको टुंगो लागेन। मसालले जसोतसो वडा नम्बर २ र ४ मा आफ्नो मत सुरक्षित गर्ने रणनीति बनायो। उसलाई अस्तित्वको रक्षा गर्नु थियो, त्यसमा सय प्रतिशत नै सफल भयो। मसालको यो ‘संसार जिताई’ हो। यसकारण मसालका पुराना, पाका कार्यकर्ता गाउँमै छन्। र उनीहरु नै निष्ठाका साथ उम्मेदवार बने र जिते पनि। राजनीतिक अडानकै कारण मसालले २ वटा वडा जित्न सफल भयो।

माओवादीमा निक्कै दम्भ थियो ढोरपाटन जितिन्छ भन्नेमा। ७० को चुनावमा थोरै मतले पराजित भएका तुल्सीराम अर्याल खलक वरिपरि ढोरपाटन नगरपालिको राजनीति घुम्दै आएको छ। ढोरपाटनमा पुराना युद्ध लडेका माओवादी ५ प्रतिशत पनि छैनन्। अहिले बनेका माओवादी सबै मसाल पृष्ठभूमीबाटै आएका हुन्।

साविकका ४ गाविसमा २०५४ को स्थानीय चुनावलाई कांग्रेसले मूल्याकंन गरेन। ३ गाविस जनमोर्चा र एक एमालेले जितेको थियो त्योबेला। ती गाविसहरु गभिएर ढोरपाटन नगरपालिका बनेको थियो। २०७० को चुनावमा झिनो मतले सभासद्मा पराजय भए। बोबाङका अध्यक्ष शेरमान घर्ती मगर यसपाली माओवादी केन्द्रको तर्फबाट मेयरको उम्मेदवार बने। उनी चौंथो पोजिसनमा झर्नु पर्‍यो।

वडा नम्बर १ मा माओवादी केन्द्र, २ र ४ मा मसाल, ३ मा वैद्य माओवादी निकट बिजय हुनु रमाइलै पक्ष हो। पहिलो चरणको चुनावमा वैद्य माओवादीको एक मात्र सिट सम्भवतः त्यही हो। माओवादी जिल्ला नेतृत्वमै तालमेलको विवादपछि समर्थक अलमलमै थिए। माओवादी केन्द्रले मनोनयन गर्ने बेलासम्म देवकुमार माओवादी नै थिए। जब एकाएक एमाले बने त्यसपछि ढोरपाटनमा अर्को नयाँ राजनीतिक समीकरण देखियो।

माओवादी केन्द्रमा रहेका मगर समुदायका अति जातिवादी मुद्दा। उम्मेदवार चयनमा बैठकमै ‘तँ तँ र म म’ को आरोप, प्रत्यारोप। चुनावी खर्चको अभाव, सबै टिम स्पिरिडमा कमी, उम्मेदवारको कार्यशैलीले उ चौथोंमा पुग्नु स्वभाविक थियो। २० वर्षअघि जुन ढंगले बोबाङमा अध्यक्ष जित थियो, आफ्नो मत समेत सुरक्षित गर्न नसक्नु माओवादी केन्द्रका उम्मेदवारको कमजोरी हो।

मनोनयनको प्रक्रिया शुरु हुँदासम्म एमालेले ढोरपाटनमा मेयर, उप–मेयरको उम्मेदवार पाएकै थिएन। वाम तालमेलबाट जानुपर्छ भन्ने उसको पहल थियो। माओवादीको घमण्ड, जनमोर्चाको जडले गर्दा त्यो हुन सकेको थिएन। बागलुङ जिल्लामा वाम तालमेल एक प्रकारले अनिश्चित बन्दै गएको थियो। त्यहीबेला एकाएक देवकुमार एमालेको सूर्य चिन्ह लिएर वैशाख २० गते उम्मेदवार बन्न पुगे। यहाँनेर प्रश्न उठ्छ राजनीति कति गरेकाले चुनाव जितिन्छ ? यसको जवाफ सरल छैन। यी सबै विषयको पृष्ठभूमिमा देवकुमार उदाएका छन्। राजनीतिमा अन्तिम छिनोफानो मतदाताले नै गर्ने हुन्। त्यसमा उनी विजयी बनेका छन्। उनका विभिन्न किसिमका पृष्ठभूमि रहँदारहँदै पनि समृद्ध ढोरपानका लागि नवनिर्वाचित मेयर देवकुमार नेपालीलाई बधाई!
(पत्रकार महासंघका महसचिव लेखक मगर ढोरपाटन नगरपालिका वडा नम्बर ४ लुकुरबन निवासी हुन्।)
 

प्रकाशित: ८ जेष्ठ २०७४ १२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App