१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

करिब सय आरोही सगरमाथा शिखरमा

काठमाडौं- अनुकूल मौसमको फाइदा उठाउँदै आइतबार एकैपल्ट करिब एक सय आरोहीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। आधारशिविरदेखि चौथो क्याम्पसम्म अनुकूल मौसम कुरिरहेका सयौं आरोहीमध्ये शनिबार एकै दिन स्वदेश तथा विदेशका ती आरोहीले शिखरमा विजयी झन्डा फहर्‍याएका हुन्। यसअघि बेलायती गोरखा सैनिकका तीन सदस्यसहित १४ नेपाली, विभिन्न दलका ३३ जना तथा शनिबार करिब तीन दर्जन आरोही शिखर पुगिसकेका छन्।

'विभिन्न दलमा आबद्ध करिब एक सय आरोहीले सर्वोच्च शिखरको सफल आरोहण गरेका छन्,' संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका आरोहण सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले आइतबार नागरिकसँग भने, 'सबैजनाले साधारण रुट (दक्षिणपूर्वी मोहोडा) बाट सफल आरोहण गरेका हुन्। हामीसँग ६५ आरोही (३३ नेपाली र ३२ विदेशी) को विवरण प्राप्त भए पनि बाँकी कुन दल र कुन देशका आरोही भन्ने विस्तृत विवरण आइसकेको छैन।'

सोमबार पनि एकै दिन दर्जनौं आरोही शिखर पुग्ने गरी तयारी अवस्थामा रहेको उनले बताए। ती आरोही आइतबार रातिबाट शिखरतिर उकालो लाग्ने उनले जानकारी दिए। विभिन्न देशबाट आइपुगेका ३ सय ७३ आरोही र तिनका नेपाली आरोहण सहयोगी करिब साढे ४ सयसमेत गरी करिब ८ सय आरोहीमध्ये अधिकांश अहिले ५ हजार ३ सय ८० मिटर उचाइको आधारशिविरदेखि चौथो क्याम्पसम्म उपयुक्त मौसम कुरेर बसिरहेका छन्। बढीमा दुई साताभित्र अधिकांश आरोही शिखर पुगिसक्नेछन्।

पर्यटन मन्त्रालयले खटाएका सातजना 'आइसफल डाक्टर' (स्थानीय आरोही) ले चुचुरोसम्मै डोरी राखेपछि आरोहण सुरु भएको थियो। सामान्यतयाः जेठ पहिलो साताबाट दोस्रो साताभित्र अधिकांश आरोही शिखर पुग्ने गर्छन्। उनीहरू चैत दोस्रो सातादेखि सगरमाथातर्फ जाने गर्छन्। त्यसपछि आधारशिविर पुगेर झन्डै एक महिनासम्म त्यहीँ बसेर त्यहाँको वातावरणसँग आफूलाई घुलमिल (एक्लिमेटाइज) गराउँछन्। आधारशिविरबाट पहिलो क्याम्प, दोस्रो क्याम्प जाने र फर्केर आधारशिविर आउनजाने गरिरहन्छन्। अनुमति पाएको ७५ दिनभित्र सगरमाथा आरोहण गरिसक्नुपर्ने सरकारी नियम छ।

२०७१ वैशाख ५ गते आएको भयानक हिमपहिरोमा परी १३ आरोहण सहयोगी (शेर्पा) को मृत्यु, तीनजना बेपत्ता र ६ जना घाइेत भएपछि सरकारले नै आरोहण गतिविधि स्थगन गरेको थियो।

त्यस्तै २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि उत्पन्न हिमपहिरोमा परेर १६ जना गाइडको मृत्यु भएको थियो। त्यस घटनापछि पनि ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथा आरोहण स्थगन भएको थियो। 

पहिलो घटनालगत्तै सरकारले अनुमति लिइसकेर पनि आरोहणमा जान नपाएका सबै आरोहीलाई आगामी पाँच वर्षभित्र जहिले आए पनि आरोहणमा जान दिने निर्णय गरेको थियो।

पर्यटन विभागका अनुसार प्रत्येक विदेशी आरोहीले दक्षिणपूर्वी मोहोडा (नर्मल रुट) बाट वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न ११ हजार अमेरिकी डलर (११ लाख रुपैयाँ) रोयल्टी तिर्नुपर्छ। यसअघि यस्तो शुल्क २५ हजार डलर (२५ लाख रुपैयाँ) थियो। नर्मल रुटबाहेक सगरमाथा आरोहण गर्न प्रत्येक विदेशी आरोहीले १० हजार डलर (१० लाख रुपैयाँ) रोयल्टी तिर्नुपर्छ। यसअघि १५ हजार डलर (१५ लाख रुपैयाँ) थियो।

त्यसैगरी नर्मल रुटबाट सगरमाथा आरोहण गर्न विदेशी आरोहीले शरद ऋतुमा प्रतिव्यक्ति ५ हजार ५ सय डलर तथा शिशिर र वर्षामा २ हजार ७ सय ५० डलरमात्र तिरे पुग्छ। यसअघि १२ हजार ५ सय र ६ हजार २ सय ५० डलर तिर्नुपर्थ्यो। यो रुटबाहेक शरदमा ५ हजार तथा शिशिर र वर्षामा २ हजार ५ सय डलर लाग्छ। यसअघि २० हजार र १० हजार डलर छ।

सरकारले वसन्त ऋतुमा सगरमाथा जाने एकजनालाई २५ हजार डलर, दुईलाई ४० हजार, तीनलाई ४८ हजार, चारलाई ५६ हजार, पाँचलाई ६० हजार, ६ लाई ६६ हजार र सातजनालाई ७० हजार डलर लिने गर्छ।

अमेरिकीको मृत्यु, भारतीय बेपत्ता

सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा एक अमेरिकी आरोहीको मृत्यु भएको छ भने एक भारतीय बेपत्ता भएका छन्।

अमेरिकाका ५० वर्षीय रोल्यान्ड इयरउडको लेक लागेका कारण मृत्यु भएको पर्यटन मन्त्रालयका आरोहण सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। त्यसैगरी भारतका २७ वर्षीय रवि कुमार सफल आरोहणपछि आधारशिविर झर्दै गर्दा बेपत्ता भएका हुन्।

'सगरमाथाको ८ हजार ४ सय मिटर उचाइको 'बाल्कोनी' मा इयरउडको मृत्यु भएको हो भने त्यही उचाइमा आइपुगेपछि कुमार बेपत्ता भएका हुन्,' उनले भने, 'अमेरिकीको शव तल ओराल्न प्रयासा भइरहेको छ भने कुमारको खोजी तथा उद्धार पनि सँगसँगै भइरहेको छ।'

डेनियल लि मजुरले नेतृत्व गरेको 'समिट क्लाइम्ब एभरेस्ट एक्सपिडिसन २०१७' दलबाट इयरउड आरोहणमा गएका थिए। उनी राजधानीको एभरेस्ट परिवार एक्सपिडिसन प्रालिको व्यवस्थापनमा त्यसतर्फ गएका थिए। त्यस्तै भारतका कुमार सेभेन समिट्स ट्रेक्स प्रालिको व्यवस्थापनमा गएको '१४ पिक एभरेस्ट एक्सपिडिसन २०१७' दलका सदस्य थिए।  

प्रकाशित: ८ जेष्ठ २०७४ ०७:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App