१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विप्लव माओवादीका ३ कार्यकर्ता पक्राउ

इलाम- आउँदो स्थानीय तह निर्वाचनमा अवरोध पुर्‍याउने क्रियाकलाप गरेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ३ कार्यकर्ता पक्राउ गरेको छ। स्थानीय तहका कार्यालयको साइनबोर्ड फ्याँकेको, निर्वाचनविरोधी पर्चा–पम्प्लेट टाँसेको र निर्वाचनविरोधी क्रियाकलापमा संलग्न रहेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

                पक्राउ पर्नेमा सुर्खेतका २३ वर्षे ओमप्रकाश घर्ती, इलामको जितपुर गाउँकी २८ वर्षीया सालु बुढाथोकी र बुढाथोकीकै पति २३ वर्षे धनबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। डिएसपी महेन्द्र श्रेष्ठका अनुसार ओमप्रकाशलाई गजुरमुखी, सालुलाई फाकफोकथुम र धनबहादुरलाई देउमाई नगरपालिका–९ बाट आइतबार पक्राउ गरिएको हो । धनबहादुर र ओमप्रकाश नेकपाका कार्यकर्ता हुन्। सालु पार्टीअन्तर्गतकै अखिल नेपाल महिला संघ इलामकी संयोजक हुन्।

                ‘ओमप्रकाशले गजुरमुखी गाउँपालिकाको साइन बोर्ड फ्याँकेर स्थानीय जनसमितिको कार्यालय लेखिएको बोर्ड राखेको, सालुले फाकफोकथुम गाउँपालिकाको साइनबोर्ड फ्याँकेर आफ्नो पार्टीको बोर्ड राखेको तथा निर्वाचनविरोधी पर्चा–पम्प्लेट छरेको र धनबहादुर चुनावविरोधी क्रियाकलापमा संलग्न पाइएको छ,’ डिएसपी श्रेष्ठले भने, ‘तीनै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।’

                नेकपाका जिल्ला इन्चार्ज त्रिलोचन भट्टराईले लोकतन्त्रमा नागरिकले शान्तिपूर्ण ढंगले कुनैपनि राजनीतिक दलको गतिविधि गर्न पाउनुपर्ने धारणा राखे । ‘उनीहरूले नै लेखेको संविधानमा शान्तिपूर्ण ढंगले राजनीतिक गतिविधि गर्न पाउने भन्ने उल्लेख छ,’ उनले भने,  ‘तर, बाटोमा हिँडिरहेका हाम्रा कार्यकर्ता प्रहरीले पक्रेको खबर आएको छ।’

प्रकाशित: ७ जेष्ठ २०७४ १३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App