१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

स्वरोजगार बन्न सिलाइ कटाइ व्यसायमा महिला

सिलाइ कटाइ तालिम लिँदै दोर्पाचिउरीडाँडा बुवासुङकी महिला । तस्बिर : दमन राई

खोटाङ – खोटाङको लामीडाँडा गाउँपालिका–१ कुभिन्डेकी मेनुका भुजेलले भर्खरै दुई महिने सिलाइ कटाइ तालिम पूरा गरेकी छन् । गाउँमै स्वरोजगार बन्ने सपना बोकेर उनले सिलाइ कटाइ तालिम लिएकी हुन् । दौरा सुरुवाल, कुर्ता सुरुवाल, ब्लाउज, चौबन्दी, सर्ट, फ्रक, पेटिकोट लगायत सिलाउने सीप हासिल गरेकी मेनुका तालिमपछि गाउँमै टेलरिङ सेन्टर खोल्ने तरखरमा छिन् । गाउँमै नयाँ–नयाँ डिजाइनका कपडा सिलाउने व्यवसायको राम्रो सम्भावना देखेर सिलाइ कटाइ उद्यम रोजेको उनी बताउँछिन् । ‘गाउँमा अहिले सिलाइ कटाइको राम्रो बजार छ,’ मेनुकाले भनिन्, ‘राम्रो डिजाइनमा लुगा सिलाउन सके यसैबाट स्वरोजगार बन्न सकिने सम्भावना देखेर लागेको हुँ ।’ 

कुभिण्डेकै अनिता भुजेलको रोजाइमा पनि सिलाइ कटाइ परेको छ । उनले पनि आकर्षक डिजाइनको कपडा सिलाउने तालिम पूरा गरिसकेकी छन् । आकर्षक तरिकाले एक जोर कपडा सिलाउन सदरमुकाम वा सहर पुग्ने स्थानीयलाई गाउँमै सेवा दिएर आम्दानी गर्न सिलाइ कटाइ तालिम लिएको उनीहरु बताउँछन् । ‘हरेक मान्छेले नयाँ डिजाइनका कपडा गाउँमै सिलाउन चाहन्छ, तर गाउँमा त्यो सुविधा छैन,’ अनिताले भनिन्, ‘राम्रो सिलाइ गर्ने टेलरिङ सेन्टर सञ्चालन गर्न सके गाउँमै सेवा र मेवा मिल्ने आशा छ ।’ 

हरेक व्यक्ति नयाँ–नयाँ डिजाइन र आकर्षक सिलाइ भएका कपडा लगाउन चाहन्छन् । हरेकको नजर नै ज्यालामा भन्दा पनि सिलाइको गुणस्तरमा हुन्छ । राम्रो डिजाइनमा एक जोर कपडा सिलाउन परे सहर वा सदरमुकाम पुग्नुपर्ने बाध्यता कायम छ । एक जोर कपडा सिलाउन डेढ दुई दिनको बाटो ओहोरदोहोर गर्दा ज्यालाबाहेक अन्य शीर्षकमा उत्तिकै खर्च हुन्छ । त्यही समस्यालाई बुझेर पछिल्लो समय गाउँ–गाउँका महिला सिलाइ कटाइतर्फ लोभिन थालेका हुन् । महिलालाई आत्मनिर्भर बनाउन तालिम दिने घरेलु तथा साना उद्योग विकास समिति लगायत सरकारी तथा निजी क्षेत्रले पनि सिलाइ कटाइ तालिमलाई प्राथमिकता दिने गरेका छन् । आधुनिक सिलाइ कटाइको तालिम लिनेमा पुरुष पनि उत्तिकै छन् । 

घरेलु तथा साना उद्योग विकास समित खोटाङका अनुसार गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत जिल्लाका २२ महिलाले सिलाइ कटाइ तालिम लिएर व्यवसाय चलाउन सुरु गरेका छन् । जिल्लाको लामीडाँडा गाउँपालिका–१ कुभिन्डेका आठ, रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडा बुवासुङका सात र रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका सात महिलाले तालिम पूरा गरेको समितिका प्रमुख लोकनाथ खतिवडाले बताए । ‘अहिले पनि गाउँमा आकर्षक तरिकाले लुगा सिलाउने टेलरिङ सेन्टर खुल्न सकेका छैनन्,’ खतिवडाले भने, ‘गाउँका मान्छेले लगाउने लुगा गाउँमै सिलाउने वातावरण बनाउन सके सिलाइ कटाइबाट महिलालाई आत्मनिर्भर बनाउन सकिन्छ।’ 

सम्भावनाको अध्ययनपछि तालिम पूरा गरेर गाउँमै टेलरिङ सेन्टर खोल्ने तयारीमा लागेको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडा बुवासुङकी सञ्जु राई बताउँछिन् । ‘यहाँका मान्छे एक जोर कपडा सिलाउन दिक्तेल पुग्नुपर्छ, जाँदा–आउँदा गाडी भाडा चाहिन्छ, खानामा उत्तिकै खर्च हुन्छ,’ राईले भनिन्, ‘गाउँमा सिलाइ कटाइको राम्रो माग छ, त्यहीबाट राम्रो आम्दानी गर्न सकिन्छ भनेर लागेका हुँ ।’ 

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत घरेलु तथा साना उद्योग विकास समितिको आर्थिक सहयोगमा विकास सहजीकरण सञ्जाल उदयपुरको बन्दोबस्तमा यसपल्ट सिलाइ कटाइ, खाँडीका कपडा बुनाइ, सिकर्मी, बाँसका सामान निर्माण, दालमोठ तथा भुजिया उत्पादन, तरकारी खेती लगायतका लघुउद्यम सम्बन्धी तालिम सयजनाले पाएका छन् । गत वर्ष तालिम लिएका ९० उद्यमीले पनि हाल आफ्नै व्यवसाय सञ्चालन गरिरहेको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ । 

 

प्रकाशित: ७ जेष्ठ २०७४ ०५:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App