शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिका

आइतबार, ०७ जेठ २०७४, ०८ : ३६ रामनारायण देव

51


कुनै पनि लोकतान्त्रिक  मुलुकमा जनतालाई पूर्णरूपमा स्वतन्त्र सार्वभौम तथा न्यायपूर्ण अधिकार प्रदान गर्न राज्यका तीन अंगको व्यवस्था गरिएको हुन्छ । त्यसैअनुरूप कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिकाको संरचना भएको छ । यसरी नै राज्यशक्तिको पृथकीकरण गरिएको हो । शक्ति पृथकीकरणलाई लोकतन्त्रको आत्मा भनिन्छ । लोकतन्त्रमा शक्ति पृथकीकरण रहेन भने त्यहाँ निरंकुशतन्त्रले प्रश्रय पाउँछ । त्यसैले लोकतान्त्रिक मुलुकमा करिब तीन सय वर्षदेखि शक्ति पृथकीकरण अपनाइँदै आएको पाइन्छ । जसअन्तर्गत राज्यका तीनवटै अंगबीच अधिकार, कर्तव्य र भूमिका अलगअलग तोकिएको हुन्छ ।

शक्ति पृथकीकरणको सिद्धान्त बेलायतको संवैधानिक इतिहासबाट सुरु भएको हो । सन् १२१५ को म्याग्नाकार्टा तथा सन् १६८८ को बिल अफ राइट्सबाट प्रारम्भ भएको राजा र संसद्बीचको लडाइँले अन्त्यमा संसदीय सर्वोच्चतालाई मान्यता दियो । यसबाट व्यवस्थापिकाको अधिकार, संसद्ले कर लगाउन पाउने अधिकार र न्यायपालिकाले न्यायिक अधिकार पाएका हुन् ।

सन् १७४८ मा मन्टेस्क्युले शक्ति पृथकीकरणको सिद्धान्तलाई मूर्त रूप दिए । उनले भने कि जब कार्यपालिकीय र व्यवस्थापकीय शक्ति एक व्यक्ति तथा संस्थामा निहित हुन्छ, त्यहाँ नागरिकको स्वतन्त्रता रहँदैन । त्यस्तै न्याय गर्ने शक्ति न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाबाट स्वतन्त्ररूपमा अलग हुँदैन भने त्यहाँ पनि नागरिकले न्याय पाउन सक्दैन । जनताको स्वतन्त्रता अपहरण हुन्छ । त्यसैले उनले शक्ति पृथकीकरण सिद्धान्तअनुसार राज्यका तीनवटै अंगको अलग अलग क्षेत्राधिकार हुनुपर्छ भन्ने सिद्धान्त प्रतिपादन गरे । सरकारका यी तीनवटै अंगले एकअर्काे अंगको कार्य गर्नुहँुदैन । यसरी तीनवटै अंगको सीमारेखा निर्धारण गरियो । 

त्यसपछि शक्ति पृथकीकरणको सिद्धान्तअनुसार सबैले आ–आफ्ना अंगको कार्यसम्पादन गर्न थाले । शक्ति पृथकीकरण र सन्तुलन लोकतन्त्रको अनिवार्य तत्व हो । शक्ति पृथकीकरणबीच सन्तुलन भएन भने लोकतन्त्र धरापमा पर्न सक्छ । लोकतन्त्रमा शक्ति सन्तुलन एउटा आवश्यक तत्व हो । यसको अभावमा लोकतन्त्र बलियो हुँदैन । विकसित लोकतान्त्रिक मुलुकहरूमा शक्ति सन्तुलनको अभ्यास हुँदै आएको छ । लोकतन्त्रको जननी बेलायतसँगै अमेरिका र अन्य युरोपीय मुलुकमा शक्ति सन्तुलनले त्यहाँका लोकतन्त्रलाई सुदृढ बनाएकोमात्र हैन, स्थायित्वसमेत प्रदान गरेको छ । छिमेकी मुलुक भारतमा लोकतन्त्रले स्थायित्व ग्रहण गरेको छ । भारतको न्यायपालिकाले कार्यपालिकाको निरंकुशता नियन्त्रण गरेका धेरै उदाहरण छन् ।  सन् १९७५ मा भारतमा इन्दिरा गान्धीले संकटकाल लगाउँदा न्यायपालिकाले खेलेको भूमिका प्रशंसनीय छ । त्यहाँका सर्वोच्च अदालतले इन्दिरा गान्धी भर्सेज राजनारायणको मुद्दामा शक्ति पृथकीकरणको विस्तृत व्याख्या गरेको थियो ।

त्यस्तै केशवानन्दा भारती भर्सेज केरला प्रदेशको मुद्दामा संविधानका आधारभूत संरचनाको व्याख्या गरी शक्ति पृथकीकरणको सिद्धान्तको राम्रो व्याख्या भएको छ । यसरी भारतमा न्यायपालिकाले कार्यपालिका र व्यवस्थापिकाको निर्णय बदर गर्ने तथा वैधता दिने गर्छ । अर्थात त्यहाँ न्यायपालिका स्वतन्त्र भएको हुनाले नै त्यो सम्भव भएको हो । नेपालमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भई तद्नुसार संविधान सभाबाट नयाँ संविधान निर्माण पनि भइसकेको छ ।

नयाँ संविधानमा पनि शक्ति पृथकीकरणका आधारमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको क्षेत्राधिकार निर्धारित भइसकेको छ । न्यायपालिकालाई एउटा स्वतन्त्र अंगका रूपमा स्थापित गरिसकेको छ । संविधानको भाग–११ धारा–१२६ मा स्वतन्त्र न्यायपालिकाको व्यवस्था गरिएको छ । न्यायपालिकाले धारा १२८ मा नेपालमा सर्वोच्च अदालतको हुनेछ भन्दै धारा (४) मा यसको अधिकार क्षेत्र उल्लेख गरेको छ । यसमा भनिएको छ– सर्वोच्च अदालतले गरेको संविधान र कानुनको व्याख्या वा प्रतिपादन गरेको कानुनी सिद्धान्त सबैले पालन गर्नुपर्नेछ । सर्वोच्च अदालतले आफ्नो वा मातहतको अदालतको न्याय सम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश वा फैसला अवज्ञा गरेमा कानुनबमोजिम अवहेलनामा कारबाही चलाई सजाय गर्न सक्नेछ ।

यसरी संविधानले नेपालमा स्वतन्त्र न्यायपालिकाको अवधारणा ल्याई शक्ति पृथकीकरणको सिद्धान्त अंगालेको छ । नेपालमा राणाकाल अर्थात वि.सं. १९९७ सालदेखि नै कार्यपालिकाबाट न्यायपालिकालाई अलग निकायका रूपमा मान्यता दिए तापनि विधिवत्रूपमा २००७ सालको जनक्रान्तिपछि नै सर्वोच्च न्यायालय स्थापना भई स्वतन्त्र न्यायपालिकाका रूपमा क्रियाशील रहँदै आएको छ । यसपछि २०१३ सालमा सर्वोच्च अदालत स्थापना भई यसको ऐन तर्जुमा गरियो । त्यहीँदेखि नेपालमा न्यायपालिकालाई थप अधिकार प्राप्त भएको छ । जुनकि पञ्चायतकाल हँुदै बहुदलीय प्रजातन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा निकै फड्को मार्दै एउटा सक्षम, सवल र निर्भिक तथा स्वतन्त्र न्यायपालिकाका रूपमा उभिएको छ । खासगरी २०६३ सालको जनआन्दोलनपछि यसको क्रियाशीलता झन् बढेको छ । माओवादीको एक दशकको जनयुद्धपश्चात् शान्तिपूर्ण राजनीतिमा अवतरण भइसकेपछि पनि मुलुकमा संक्रमणकालीन अवस्था अन्त्य भइसकेको छैन ।

संविधानसभाबाट नयाँ संविधान बनेपछि पटकपटक सरकार परिवर्तन भएका छन् । संविधान कार्यान्वयनका लागि २०७४ साल माघसम्म स्थानीय, प्रदेश र केन्द्रीय संघको निर्वाचन गर्नुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्था छ । त्यतापट्टि वर्तमान सरकारको सम्पूर्ण ध्यान जानुपर्ने हो । मधेसकेन्द्रित दलहरूलाई सहमतिमा ल्याई निर्वाचनमा सहभागिता गराई संक्रमणकाल अन्त्य गराई संविधानको पूर्ण कार्यान्वयन गराउनुपर्ने हो । तर सरकार असंवैधानिक र गैरकानुनी निर्णयहरू गर्दै न्यायपालिकालाई अनावश्यक मुछ्ने प्रयास गर्दैछ । सरकार पक्षद्वारा अन्याय र पीडामा परेका व्यक्ति र निकायले न्यायका लागि सर्वोच्च अदालत पुग्नु स्वाभाविक नै हो । त्यसैले सरकार र राजनीतिक दलहरूले बेलैमा सुझबुझ र विवेक पु¥याए भने निश्चय नै मुलुकमा संक्रमणकाल सकिन्छ । हैन भने यो दीर्घकालीन हुनेमा शंका छैन ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने किबोर्ड सटकर्टहरु

हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने किबोर्ड सटकर्टहरु

यसले काम गर्ने गतिलाई बढाउँछ भने समयको पनि बचत हुन्छ | ...

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

यसरी फेक सब्सक्राइबर हटाउने काम आज देखि सुरु भएर डिसेम्बर २१ सम्म हुनेछ । ...

कस्तो माइक्रोवेभ किन्ने ?

कस्तो माइक्रोवेभ किन्ने ?

तपाईं पनि नयाँ माइक्रोवेभ किन्ने सोचमा हुनुहुन्छ भने यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ...

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

क्वाल्कमका अनुसार यस स्मार्टफोन प्रोसेसरले 5G नेटवर्कमा बहु जीबीसम्मको डाउनलोड स्पिड प्रदान गर्न सक्नेछ | ...

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

माइक्रोसफ्टको फन्ट मेकर एपबाट आफ्नै अक्षरको फन्ट बनाउन सम्भव छ ! ...

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

यो स्कूटरले नेपालमा उपलब्ध अन्य १२५ सिसिका स्कूटरहरुसंग प्रतिस्पर्धा गर्ने छ | ...

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

यदि स्मार्टफोन हरायो वा चोरी भइहाल्यो भने यी गर्नुहोस् : ...