१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भरतपुर– १०मा रेणुलाई सन्तोषजनक मत, देवीकाे अग्रता कायमै


चितवन – भरतपुर महानगरपालिकाको वडा नं. १० सम्मको मत गणना सकिदा मेयर पदमा एमाले उम्मेद्वार देवी ज्ञवालीको अग्रता कायमै छ । तर चितवनको सदरमुकाम समेत पर्ने भरतपुर क्षेत्रका मतदाताले काँग्रेस माओवादी गठबन्धनबाट मेयर पदकी माओवादी उम्मेद्वार रहेकी रेणु दाहाललाई पनि सन्तोषजनक मत दिएका छन् । वडा नम्बर १० सम्मको गणनामा एमाले उम्मेद्वार ज्ञवाली रेणु दाहालभन्दा ८८५ मतले अगाडि छन् ।

मेयर पदमा ज्ञवालीको कूल मत १७ हजार ५९१ आएको छ । रेणु दाहालको मत १६ हजार ७०६ रहेको छ । वडा नम्बर १० को वडाध्यक्षसहित सबै सदस्यहरूमा एमालेका उम्मेद्वार विजयी भएका छन् । वडाध्यक्षमा एमाले उम्मेद्वार अरुणपीडित भण्डारी दुई हजार ३१६ मत ल्याएर विजयी भए । मेयर उम्मेद्वार ज्ञवालीलाई वडा नम्बर १० मा वडाध्यक्षलाई भन्दा १२० मत बढी आएको छ । 

वडा नम्बर १० मा एमाले उम्मेद्वारले राम्रो मत ल्याउने आशा गरिएको थियो । ज्ञवालीले सो वडामा दुई हजार ४३६ मत ल्याएका छन् । गठबन्धनकी उम्मेद्वार दाहालले एक हजार ८९७ मत प्राप्त गरिन् । सो वडामा वडाध्यक्ष पदका काँग्रेस उम्मेद्वार भक्तिराम अधिकारीले एक हजार ८५८ मत ल्याए । माओवादीबाट वडाध्यक्ष उम्मेद्वार रहेका तिर्थ घिमिरेको ६९५ मत आएको छ ।

रेणुलाई माओवादीभन्दा बाहिरबाट १२ सय मत आएको देखिएको छ । वडा नम्बर १० मा रेणु दाहालले काँग्रेसको ६५ प्रतिशत मत पाएको अवस्था छ । गठबन्धनका लागि यो राहातको समाचार हो । भरतपुर महानगरपालिकाको नारायणगढ बजार क्षेत्रमा रहेका वडाहरुमा काँग्रेसका मतदाताले मेयरमा गठबन्धनका उम्मेद्वारलाई मत कम दिएका थिए ।

भरतपुरमा केन्द्रीय तहमा माओवादी र काँग्रेसबीच गठबन्धन भए पनि स्थानीय तहमा असन्तोष देखिएको थियो । तालमेलप्रति काँग्रेस कार्यकर्ताहरू अन्तुष्ट थिए । जसलाई मिलाउन माओवादी र काँग्रेसका जिल्ला तहका नेताहरुले संयुक्त कार्यक्रम गर्नुका साथै प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवा भरतपुर आएर संयुक्त चुनावी सभालाई सम्बोधन गरेका थिए ।

भरतपुरमा काँग्रेस बलियो अवस्थामा रहेका कारण काँग्रेसलाई जाने आधाभन्दा केही बढी मत रेणु दाहाललाई आए उनले चुनाव जित्ने आँकलन छ । भरतपुरका वडा नम्बर १०, ११ र १२ एमालेको राम्रो मत भएका वडाहरु हुन् । देवी ज्ञवालीले विजयी हुने सम्भावना बलियो बनाउन यी वडाहरुको मतगणना सकिदा उनले रेणुले भन्दा धेरै मत ल्याएर फराकिलो अन्तरले अग्रता कायमै राख्नु पर्ने हुन्छ ।

भरतपुरमा उपमेयर पदमा गठबन्धनका तर्फबाट उम्मेद्वार रहेकी काँग्रेसकी पार्वती शाहले मतअन्तर निकै फराकिलो बनाउँदै लगेकी छन् । शाहको १९ हजार ३१३ मत आएको छ । एमाले उम्मेद्वार दिब्य शर्माले १५ हजार ३२७ मत ल्याएकी छन् । मेयर पदमा राप्रपाका उम्मेद्वार बद्री तिमिल्सिनाको एक हजार ४३३ मत आएको छ । उपमेयर पदमा रिना गुरुङको एक हजार ५५१ मत छ ।

कूल २९ वटा वडा रहेको भरतपुर महानगरपालिकामा अन्तिम परिणाम घोषणा भएका १० वटा वडामध्ये नेकपा (एमाले)ले वडा नं. २, ४, ५, ७, ९ र १० नम्बर गरेर छ वटा वडामा वडाध्यक्ष जितेको छ । नेपाली काँग्रेसका उम्मेद्वारले १, ३, ६ र ८ नम्बर वडामा वडाध्यक्ष जितेका छन् । अहिलेसम्म वडाध्यक्षमा माओवादी उम्मेद्वार वडा नं. ६ मा दोस्रो र अरु वडाहरुमा तेस्रो स्थानमा रहे । 

 

प्रकाशित: ७ जेष्ठ २०७४ ०२:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App