१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अब गाउँ कार्यपालिकाको चुनाव

काठमाडौं – चुनाव सम्पन्न भइसकेका गाउँ र नगरमा कार्यपालिका गठनका लागि चुनाव हुँदैछ । चुनावबाट गाउँ, नगरमा दलित वा अल्पसंख्यक समुदायको प्रतिनिधित्व हुने गरी दुईजना नयाँ सदस्य थपिनेछन् । 

गाउँपालिका, नगरपालिकामा मतपरिणाम घोषणा भएको १५ दिनभित्रमा गाउँ कार्यपालिकाको चुनाव गर्नुपर्ने व्यवस्था छ । सम्बन्धित गाउँ, नगरका निर्वाचित प्रतिनिधिले भोट दिएर दलित र अल्पसंख्यकबाट दुईजना सदस्य र निर्वाचित महिला सदस्यमध्येबाट दुईजनालाई छनोट हुनेछन् । 

गाउँ कार्यपालिकाका लागि निर्वाचित सदस्य महिलामध्येबाट दुई जना र दलित वा अल्पसंख्यकबाट दुई जना गरी चार जना निर्वाचित हुनेछन्

स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि छनोट भइसकेका छन् । निर्वाचित जनप्रतिनिधिले गाउँ कार्यपालिका छनोट गर्नेछन् । गाउँपालिका/नगरपालिकामा एकजना कार्यपालिका अध्यक्ष रहने व्यवस्था संविधानले गरेको छ । उसको अध्यक्षतामा गाउँ कार्यपालिका गठन हुनेछ । 

नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सदस्यहरूको मतदानबाट चारजना महिला निर्वाचित हुने व्यवस्था छ । 

गाउँसभामा चुनिएका महिला सदस्यमध्येबाट दुईजना र सोही गाउँपालिकाभित्रबाट दलित वा अल्पसंख्यकमध्येबाट दुईजना कार्यपालिकामा छनोट गरिँदैछ । 

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार प्रत्येक वडाबाट निर्वाचित भएका महिलामध्येबाट दुईजना गाउँकार्यपालिकाका लागि पुनः निर्वाचित हुनेछन् । 

उनले भने, ‘गाउँसभाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, अब निर्वाचित हुने चारजनासहितको गाउँ कार्यपालिका बन्नेछ ।’ आयोगले जिल्ला निर्वाचन अधिकृतहरूलाई गाउँ, नगर कार्यपालिकाको चुनाव गर्न निर्देशन दिइसकेको छ । गाउँ, नगर कार्यपालिकाले स्थानीय सरकार सञ्चालन गर्नेछन् ।  

गाउँ कार्यपालिकामा निर्वाचित हुने सदस्यको हैसियत वडाअध्यक्ष बराबर हुने शर्माले बताए । ‘दलित वा अल्पसंख्यकबाट दुईजना छनोट हुनेछन् । गाउँपालिकाभित्रबाट २१ वर्ष उमेरसहित योग्यता पुगेका मतदातामध्येबाट उम्मेदवारी दिनुपर्ने व्यवस्था छ ।’ 

प्रमुख, उपप्रमुख, वडाध्यक्ष सहित चारजना सदस्य गाउँपालिकामा र नगरपालिकामा पाँच  जनाले कार्यपालिका सञ्चालन गर्ने व्यवस्था रहेको प्रवक्ता शर्माले बताए । 

गाउँ कार्यपालिकाको हकमा निर्वाचित एक सदस्यले चारजनासम्म महिला सदस्यका उम्मेदवार र दुई जना दलित वा अल्पसंख्यक समुदायबाट हुने सदस्यका लागि बढीमा ६ जनाको प्रस्तावक समर्थक बस्न पाउने व्यवस्था छ । 

मतपरिणाम सकिएका गाउँपालिकामा शपथ ग्रहणसमेत सकिएको छ । अब तुरुन्तै गाउँ कार्यपालिकाको निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । 

प्रकाशित: ७ जेष्ठ २०७४ ०१:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App