१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

भरतपुरमा अझै सुचारु हुन सकेन मतगणना, रुखमा खसेको मत गणना गर्ने तयारी

एमालेका मेयर प्रत्यासी ज्ञवाली र माओवादीकी दाहाल

चितवन—शुक्रबार राति ८ बजेदेखि अवरुद्ध भएको भरतपुर महानगरपालिकाको मतगणना शनिबार बिहानसम्म पनि सुरु हुन सकेको छैन। वडा नं. ९ को मतगणनाको विषयलाई लिएर काँग्रेस माओवादीले विवाद झिकेपछि मतगणना स्थगित भएको हो।

मेयरमा काँग्रेसले माओवादीकी रेणु दाहाललाई समर्थन गरे पनि रुख चिन्हमा भोट खसेको गणनास्थलमा बसेकाहरु बताउँछन्। त्यस्तो मतसंख्या अहिलेसम्म गोप्य राखिएको छ। अब ती मत संख्या पनि गणना गरी अभिलेखमा राख्ने र मतगणनालाई अझ पारदर्शी बनाएर लैजाने तयारी गरिएको छ।

कम्प्युटरमा इन्ट्री गरेको मत संख्या र उम्मेदवारका प्रतिनिधिले राखेको मत संख्यासँग फरक आएको भन्दै काँग्रेस-माओवादी कार्यकर्ताले वडा नं. ९ को मत पुनः गणना गर्न माग गर्दै नाराबाजी गरेका थिए। ९ नम्बर वडाको गणनापछिको विवादले विवादले स्थगित भएको मतगणना अझै सुरु हुन नसकेको हो।

उम्मेदवारका बुथ प्रतिनिधिहरु कम्प्युटर इन्ट्रीको संख्या र प्रतिनिधिहरुसँग भएको संख्या एकै रहेको निष्कर्षमा पुगे पनि मतगणनाले निरन्तरता पाउन नसकेको हो।

मतगणनालाई अझ पारदर्शी बनाउन शनिबार बिहान सर्वदलीय बैठक गर्ने निर्णयसहित मतगणना स्थगित गरिएको थियो। भरतपुर महानगरपालिकामा सत्ता साझेदार काँग्रेस माओवादी तालेमल रहेको छ। मेयरमा काँग्रेसले माओवादीकी रेणु दाहाललाई समर्थन गरे पनि रुख चिन्हमा मत खसेकाे गणनास्थलमा बसेकाहरु बताउँछन्। बदर हुने त्यस्तो मतसंख्या अहिलेसम्म गोप्य राखिएको छ। अब ती मत पनि गणना गरी अभिलेखमा राख्ने र मतगणनालाई अझ पारदर्शी बनाएर लैजाने तयारी गरिएको छ। उम्मेदवार बिनाको चिन्हमा परेको मत स्वत बदर हुन्छ।

भरतपुरको जारी मतगणनामा एमालेले वडा नं. २, ४, ५, ७ र ९ जितेको छ। काँग्रेसले १, ३,६ र ८ मा जित हात पारेको छ। शुक्रबार दिउँसो काँग्रेस माओवादी गठबन्त्रनबाट मेयर उम्मेद्वार रेणु दाहालको अग्रता लिएकी थिइन्। वडा ९ नं. को मतपरिणामपछि फेरि एमाले उम्मेदवार अघि बढेका थिए।

वडा नम्बर  ९ सम्मको मत गणना सकिँदा एमालेका मेयर पदका उम्मेद्वार देवि ज्ञवालीले कुल १५ हजार १५५ मत ल्याएका छन्। गठबन्धनबाट माओवादी उम्मेद्वार रेणु दाहालले १४ हजार ८०९ मतसहित उनलाई पछ्याइ रहेकी छन्। उपमेयरमा काँग्रेसकी पार्वती शाह १६ हजार ८४९ मत सहित अगाडि छिन्। दिब्या आचार्य १२ हजार ४६३  मत पाएकी छिन्।

भरतपुर महानगरपालिकामा सत्तारुढ काँग्रेस र माओवादीको तालमेल छ। तालमेलपछि चितवन काँग्रेसमा देखिएको सुरुवाती असन्तोषले मत परिणाममा असर पार्छ कि पार्दैन भनेर भरतपुरको मत परिणाम प्रति धेरैको चासो छ।

भरतपुर महानगरपालिकामा २९ वटा वडाहरु रहेका छन्। कुल एक लाख १२ हजार मत खसेको छ। काँग्रेस माओवादी गठबन्धनबाट भरतपुरमा मेयर पदमा उठेकी माओवादी उम्मेद्वार रेणु दाहाल प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी हुन्। काँग्रेस र माओवादीबीच केन्द्रीय तहमा तालमेल भएर मेयर पदका काँग्रेस उम्मेद्वारको उम्मेद्वारी पनि केन्द्रबाट आएकै पत्रका आधारमा फिर्ता भएको थियो।

भरतपुरमा तुलनात्मक रुपमा बलियो मानिएको काँग्रेसले मेयर पद नै फिर्ता गर्नु परेपछि जिल्लामा कार्यकर्ताहरु निकै आक्रोशितसमेत भएका थिए। पछि जिल्ला तहका नेताहरुले संयुक्त कार्यक्रम गरेर मतदाताको मन जित्ने प्रयास गरेका थिए। माओवादी अध्यक्ष दाहाल र काँग्रेस सभापछि शेरबहादुर देउवाले भरतपुरमा संयुक्त रुपमा अन्तिम चुनावी सभालाई सम्बोधन गरेका थिए।
 

 

प्रकाशित: ६ जेष्ठ २०७४ ०२:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App