१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

निर्वाचनको परिणाम दुखद भन्दै काँग्रेस सभापतिको राजीनामा

पोखरा – निर्वाचनमा निराशाजनक परिणाम आएको भन्दै कांग्रेसका पोखरा–लेखनाथ महानगर सभापति बजिरमान श्रेष्ठले शुक्रबार राजीनामा दिएका छन् । निर्वाचनमा कांग्रेस कास्कीको परिणाम दुखद् रहेको भन्दै त्यसमा आफ्नो पनि जिम्मेवारी रहेको भन्दै नगर सभापतिबाट राजीनामा दिएको उनले बताए । 

‘महानगरको सभापति भएको हिसाबले म माथि नैतिकताको प्रश्न उठ्यो । नगरभित्रका सबै निर्वाचन परिणामप्रति मैले जिम्मा लिनुपर्छ,’ उनले नागरिकसँग भने, ‘जे जस्तो परिणाम आयो, त्यसको आधारमा नेतृत्व लिइरहन मन लागेन ।’ कास्कीका केही वडामा बाहेक कांग्रेस सबैतिर बलियो हुदाँहुँदै पनि पछाडि पर्नुमा नेतृत्वको कमजोरी रहेको उनले बताए । 

कांग्रेसको नेतृत्वमा बस्नेले सही नेतृत्व गर्न नसक्दा कास्कीमा पछाडि परेको उनले बताए । ‘उम्मेदवार उठाएपछि सबैले सघाउनुपर्ने हो । तर कांग्रेसले कांग्रेसलाई नै सघाएन,’ उनले भने, ‘कांग्रेसले कांग्रेसलाई सघाएको भए हामी कमजोर हुने थिएनौ ।’ दलभित्रकै जिम्मेवार व्यक्तिले कांग्रेसलाई असहयोग गरेको उनले बताए । ‘दलभित्रै रहने, तर असहयोग गर्ने केही नेताको परिपाटी भयो । पार्टीमा उनीहरुकै बोलवाला भयो,’ श्रेष्ठले भने, ‘त्यही भएर राजीनामा दिएको हुँ ।’ 

कांग्रेसको क्षेत्र, जिल्ला र केन्द्रीय नेतृत्वमा बसेका लोकतन्त्रका हिमायती हौं भन्ने व्यक्तिको उदासिन, गैरजिम्मेवार र आत्मघाती व्यवहारका कारण कास्कीमा परिणाम सोचेजस्तो नआएको उनको राजीनामामा उल्लेख छ । कांग्रेसका विभिन्न तहमा रहेका नेताहरुको व्यक्तिवादी सोच, संकीर्णता र गैरजिम्मेवारीको प्रभाव पार्टीका स्थानीय तहका कार्यकर्तामा बढ्दै जाँदा महानगरपालिका र गाउँपालिकामा सोचेजस्तो परिणाम आउन नसकेको राजीनामापत्रमा उल्लेख छ । 

निराशाजनक परिणामप्रति कांग्रेसको तर्फबाट केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, सांसद, जिल्ला कार्यसमिति तथा क्षेत्रीय कार्यसमितिका सभापति, पदाधिकारी, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरु जिम्मेवारी र संवेदनशील हुन नसकेको उनको आरोप छ । सांगठनिक र सामाजिक नैतिकताको आधारमा पार्टीविरुद्धको यो अन्तर्घात, गैरजिम्मेवारीपन र उदासिनताको जिम्मेवारी लिँदै कांग्रेसलाई पुन संरचना गर्नुपर्ने उनको भनाई रहेको छ । 

कास्कीका एक महानगर र चार गाउँपालिकामध्ये महानगरको परिणाम अझै आइसकेको छैन । चारमध्ये तीनवटा गाउँपालिकामा एमाले र कांग्रेसले एउटामा मात्र जितेको छ । महानगरभित्रैका वडामा पनि अपेक्षाकृत मत नआएको उनले बताए । ‘महानगरको अवस्था पनि बुझिसकेको छु,’ उनले भने, ‘कांग्रेस भित्रैबाट अन्र्तघात भएको छ ।’

प्रकाशित: ५ जेष्ठ २०७४ ०८:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App