१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

रोनाल्डिन्हो नजरमा मेसी उत्कृष्ट

चेन्नई- ब्राजिलका पूर्व स्टार रोनाल्डिन्होले बार्सिलोनाका पूर्व टिम सहयात्री लियोनल मेसीले अर्जेन्टिनाबाट कुनै अन्तर्राष्ट्रिय उपाधि नजिते पनि उनी विश्वकै उत्कृष्ट खेलाडी भएको बताएका छन्।

२९ वर्षे मेसीले गत महिना कोपा अमेरिकाको फाइनलमा चिलीसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका थिए। अर्जेन्टिनी फुटबल इतिहासकै सर्वकालीन उच्च अन्तर्राष्ट्रिय गोलकर्ता मेसीले राष्ट्रिय टोलीबाट ५५ गोल गरेका छन्।

पाँचपटकका विश्व वर्ष खेलाडी मेसीले कोपा अमेरिकामा तीन तथा विश्वकपमा एक फाइनल खेले पनि उपाधि जित्न सकेनन्। ठिक विपरीत व्यावसायिक करिअरमा उनका प्रतिद्वन्द्वी रियाल मड्रिडका क्रिस्टियानो रोनाल्डोले भर्खरै फ्रान्समा सम्पन्न युरो २०१६ मा पोर्चुगलबाट उपाधि जिते। मेसी कोपामा असफल हुँदै अन्तर्राष्ट्रिय फुटबलबाट बिदा भएको केही दिनमै रोनाल्डोले युरोमा सफलता पाएपछि विश्व फुटबलमा फेरि दुईमध्ये को उत्कृष्ट भन्ने बहस सुरु भएको छ।

‘मेरा लागि मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिए पनि केही फरक पर्ने छैन,’ इन्डियन प्रिमियर फुटसल लिगका लागि भारत आएका रोनाल्डिन्होले आइतबार भने, ‘उनी अझै पनि विश्वकै उत्कृष्ट खेलाडी हुन् र उनीप्रति मेरो सम्मानमा कुनै परिवर्तन हुनेछैन। उनी साँच्चिकै अन्तर्राष्ट्रिय फुटबलबाट बिदा भएका हुन् भने विश्व खेलजगत र समर्थकले उनलई गुमाउने छन्।’

रोनाल्डिन्होले २००३ देखि ५ वर्ष बार्सिलोनाबाट खेलेका थिए। रोनान्डिन्होले क्याम्प नोउमा सँगै खेल्दा आफूले सानो उमेरका मेसीको खेलजीवन हुर्काउन सहयोग गरेको बताए। मेसीले पनि पछिल्लो समय ब्राजिली नेइमारलाई त्यस्तै व्यवहार गरेको रोनाल्डिन्होले बताए।

‘देख्नका लागि म त्यहाँ छैन। तर, मलाई विश्वास छ कि म मेसीप्रति जसरी समर्पित थिएँ उनी पनि नेइमारप्रति छन्। किनकि पाको खेलाडीले युवा खेलाडीसँग आफ्नो अनुभव बाँड्नुपर्छ,’ ३६ वर्षे रोनाल्डिन्होले भने, ‘नेइमारले क्लब र त्यहाँको खेल्ने शैली अंगाल्नुको एक कारण त्यो पनि हो भन्नेमा म विश्वस्त छु।’

गतवर्ष ब्राजिलियन क्लब फ्लुमिनेन्सबाट खेलेका रोनाल्डिन्हो दुई महिनायता क्लबविहीन छन्।

प्रकाशित: ३ श्रावण २०७३ ०३:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App