१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भोकभोकै परिणामको पर्खाइ

निलकण्ठ नगरपालिकाको मतगणना केन्द्रबाहिर परिणाम कुर्दै समर्थक । तस्बिर : शंकर श्रेष्ठ

धादिङ – ‘के हुँदै छ सर ? कसले जित्यो ?’ ‘कति भोट गन्नुभयो ? अहिले को अगाडि छ ?’  मतगणना केन्द्र बाहिर देखा पर्ने जो कोहीलाई बाहिरबाट सोधिने गरेको प्रश्न हो यो ।

जब मतदान अधिकृत बाहिर देखा पर्छन्, ‘आयो... आयो...’ भन्ने आवाज ठूलै स्वरमा सुनिन्छ । मतगणनाको परिणाम सुन्न आतुर दलका समर्थकलाई भोक र निन्द्राको भन्दा मत परिणामको चिन्ता छ । खनियाबास गाउँपालिकाको मतगणना केन्द्रबाहिर परिणाम कुरेर बसेका पत्रुस तामाङ भन्छन्, ‘गाउँकै दाइ उम्मेदवार छ, जित्छ की भनेर कुरिरहेको छु ।’

यो मतगणना स्थलबाहिर करिब तीन सय जना बसेका छन् । मतपरिणाम जान्न झार्लाङ, सत्यदेवी दार्खालगायतका क्षेत्रका समर्थकको सहभागिता छ । युवायुवती र वृद्धवृद्धा सबैको सहभागिता उत्साहजनक छ । सोमबार दिउँसो मतगणना सुरु भएदेखि नै कुरिरहेका छन्, भोक्टेनीका सुब्बा तामाङ । अघिल्लो चुनावको मतगणना भन्दा यसपटक उनमा उत्साह छ । सुब्बा भन्छन्, ‘मेरै साथी उम्मेदवार छ, नतिजा सुनाउँला र घर जाला भन्दा भन्दै रात यहि बित्यो ।’ सबैको हारजित सुनेर मात्रै अरु काममा लाग्ने सुब्बाले सुनाए ।

दार्खा बृचेतका तामाङले भोट खसालेको यो पहिलो पटक हो । उनले २०७० मा भोट हाल्न पाएनन् । त्यत्ति चासो पनि लागेन । गाउँपालिका प्रमुखमा गाउँकै दाजु उम्मेदवार भएकाले सोमबारदेखि त्यहि चाउचाउ र पानी खाएर परिणाम कुरिरहेका छन् । दुई सय मत गनेपछि सार्वजनिक गर्छ । ‘तैपनि भोकभोकै राति नसुतेर पनि यतै बसियो,’ तामाङले भने । 

मतगणना भइरहेका धेरैजसो केन्द्रमा चार्जवाला स्पिकर छ । मतदान अधिकृतले त्यसैबाट परिणाम सुनाउँछन् । परै बसेर पनि सजिलै सुन्ने व्यवस्था मिलाइएको छ । रुवीभ्याली गाउँपालिका शिलास तामाङ भन्छन्, ‘मतगणना सुरु भयो, कसैले छोडेकै छैनन् । मतपेटिका पुगेदेखि भोकभोकै रातभर नै जाग्राम बसेका छन् ।’ हातहातमा मोबाइल भए पनि आफैले सुनेको जस्तो विश्वास नभएकाले केन्द्रमा नै कुरेर बसेको उनीहरू बताउँछन् । 

दुर्गम र पहाडी गाउँपालिकाका केन्द्रमा मात्रै होइन, सदरमुकाम धादिङबेसीमा पनि परिणाम कुर्नेको उत्साह उस्तै छ । धादिङबेसीमा होटल व्यवसाय संचालन गर्दै आएका छविप्रसाद काप्रीलाई पनि पहिलेको चुनावको भन्दा अहिलेको चुनाव बेस्सरी लागेको छ । व्यवसाय नै छोडेर जिल्ला समन्वय समितिको अगाडि मतपरिणाम कुरेर बसेका उनी भन्छन्, ‘मैले भोट दिएको उम्मेदवारले जित्यो की जितेन भनेर सुन्न बसिरहेको छु ।’

मंगलबार साँझसम्म धादिङको १ सय ४ वडामध्ये ३६ को नतिजा सार्वजनिक भएको छ । त्यसमध्ये नेकपा एमालेका उम्मेदवार १९ वडामा विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार ९ र नेपाली कांग्रेसका उम्मेदवार ८ वडामा विजयी भएका छन् । 

जिल्लाभरका नगरपालिका र गाउँपालिकाको मत परिणाम अनुसार मंगलबार साँझसम्म एमाले अगाडि देखिएको छ भने दोस्रोमा माओवादी केन्द्र र तेस्रोमा नेपाली कांग्रेस रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

प्रकाशित: ३ जेष्ठ २०७४ ०२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App