१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

करार माग गर्दै आंशिक प्राध्यापक आन्दोलनमा

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापक करारको माग गर्दै आन्दोलनमा उत्रेका छन् । आफूहरुले लामो समयदेखि विश्वविद्यालयका विभिन्न आंगिक कलेजमा पठनपाठन गराउँदै आएको तर हालसम्म विश्वविद्यालयले करार प्रक्रियामा समेत सहभागी हुने वातवारण नबनाएको उनीहरुको भनाइ छ ।

नेपाल आंशिक प्राध्यापक संघले मंगलबार पत्रकार सम्मेलन गरी निरन्तर प्राज्ञिक उन्नयनका लागि प्राध्यापनरत आंशिक प्राध्यापकलाई विश्वविद्यालयले न्यून ज्यालादरमा अधिकतम काम लगाई चरम शोषण गरेको जनाएको छ ।

‘त्रिविको प्राज्ञिक उन्नयनका लागि निरन्तर क्रियाशील आंशिक प्राध्यापकलाई विश्वविद्यालयले न्यून ज्यालादरमा अधिकतम काम लगाई चरम शोषण गरेको छ’

संघका अध्यक्ष शशीकुमार शर्माले सरकारले माग पूरा नगरे जेठ ४ गतेदेखि तीन दिनसम्म प्रधानमन्त्रीनिवास बालुवाटारमा धर्ना दिनुका साथै घेराउ गरिने जानकारी दिए । त्यस अवधिमा पनि सरकारले माग सम्बोधन नगरे रत्नपार्कमा रिले अनशन बस्ने कार्यक्रम तय भएको उनले बताए ।

अध्यक्ष शर्माका अनुसार विश्वविद्यालयमा कार्यरत केन्द्रीय विभाग तथा आंगिक क्यापसमा प्राध्यापनरत सम्पूर्ण आंशिक प्राध्यापकलाई बिनासर्त करार नियुक्त गर्नुपर्ने, भविष्यमा नीति बनाएर मात्र आंशिक प्राध्यापक नियुक्त गर्नुपर्ने, विश्वविद्यालयमा सेवा प्रवेशविन्दु सहायक प्राध्यापक बनाउने गरी त्रिवि सभाबाट भएको निर्णय खारेजीको माग संघले अघि सारेको छ ।

सौहाद्र्रपूर्ण एवं सम्मानित वातावरणमा विद्यार्थीले पढ्न र प्राध्यापकले पढाउन पाउने प्राज्ञिक वातावरण विश्वविद्यालयमा हुनुपर्ने, विगतमा भएका सझौता विश्वविद्यालयले तुरुन्त कार्यान्वयन  गर्नुपर्नेलगायतका माग पनि राखेर संघ आन्दोलनमा उत्रिएको हो ।

‘त्रिभुवन विश्वविद्यालयमा ८० प्रतिशत कक्षा भार  आंशिक प्राध्यापकले सम्हालेका छन् । स्थायी प्राध्यापकले २० प्रतिशत मात्र कक्षाभार सम्हालेका छन्,’ विगत ९ वर्षदेखि त्रिचन्द्र कलेजमा प्राध्यापन गर्दै आएका शर्माले भने, ‘मानसिक तनावमा आंशिक प्राध्यापकले कक्षा लिइरहेका हुन्छन् ।’ उनले प्रश्न गरे, ‘यस्तो अवस्थामा कसरी हुन्छ त्रिविमा गुणस्तर कायम ?’

विश्वविद्यालयले ६–६ महिनामा सेवा आयोगमार्फत पदपूर्तिका लागि विज्ञापन खुलाउनुपर्ने व्यवस्था ऐनमा छ । ‘तर विश्वविद्यालयका पदाधिकारी कम्तीमा पाँच वर्षमा मात्र आयोग खुलाउँछन्,’ त्रिचन्द्र कलेजमा १९ वर्षदेखि रसायनशास्त्र प्राध्यापन गर्दै आएकी आंशिक शिक्षक सरना माथेमाले गुनासो गरिन्, ‘आयोग खुलाए पनि पदाधिकारीले राजनीतिक दबाबमै राम्रोभन्दा आफ्नो मान्छे नियुक्त गर्छन् ।’ यस्तो विकृत भएको विश्वविद्यालयमा हाम्रो उमेर पनि बित्ने र बिना सेवासुविधा नै जागिर सकिने कुव्यवस्था अन्त्य हुनुपर्छ ।’

संघका महासचिव नरेन्द्रप्रसाद भण्डारीले आंशिक शिक्षकले निकै कम ज्यालामा काम गर्दा मानसिक तनाव खेप्नुपरेको गुनासो गरे । स्थायी प्राध्यापकले साताको १२ पिरियड पढाए पुग्छ तर आंशिक शिक्षकले खर्च जुटाउन दोब्बर पिरियड लिए पनि निकै न्यून पारिश्रमिक पाउने गरेको उनले बताए । ‘आंशिक प्राध्यापकले प्रतिपिरियड पाउने ३ सय ६० रुपैयाँमा १५ प्रतिशत भ्याट तिर्नुपर्छ,’ महासचिव भण्डारीले भने, ‘तर स्थायी प्राध्यापकले बढी तलब खाए पनि भ्याट तिर्नुपर्दैन ।’ उनले माग गर, ‘सरकारले एउटै विश्वविद्यालयमा दुइ खाले नीतिको अन्त्य गर्नुपर्छ ।’

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओका ) अनुसार कुनै पनि संस्थामा काम गर्ने कर्मचारीलाई सेवा प्रवेश गरेको एक सय ८० दिनमा स्थायी गर्नुपर्छ । नेपालले पनि यससम्बन्धी प्रावधानमा हस्ताक्षर गरिसकेको छ ।

संघका सदस्य नारायण कोइरालाले सरकारले आंशिक शिक्षकको श्रमको योगदानको कदर गर्दै  दैनिक ज्यालादारीबाट मासिक गरिनुपर्ने माग राखे । देशभरि त्रिविका ६० आंगिक कलेजमा १२ सयभन्दा बढी आंशिक प्राध्यापकले कक्षाभार सम्हालिरहेका छन्। 

अर्का सदस्य घमराज लुइँटेलले बिहीबारको प्रधानमन्त्री निवास बालुवाटार घेराउ र  रिले अनशनमा देशभरिका ५ सयभन्दा बढी आंशिक प्राध्यापक सहभागी हुने बताए । ‘आंशिक प्राध्यापकले राम्रो काम गरेका छैनन् भने विश्वविद्यालयले निकाल्नुपर्छ,’ लुइँटेलले भने, ‘नभए उचित सेवासुविधा दिनुपर्छ ।’ उनले थपे, ‘सरकार र आंशिक प्राध्यापकबीच भएको सम्झौताअनुसार आंशिक प्राध्यापकलाई  दरबन्दीसहितको करारमा नियुक्त गर्नुपर्छ ।’

प्रकाशित: ३ जेष्ठ २०७४ ०२:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App