१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ठूला बस पार्किङले भरिन्छ महानगरको कार्यालय

महानगर कार्यालय अगाडिको सडकमा मंगलबार दिउँसो पार्किङ गरिएका ठूला बस ।

काठमाडौं – चाइना टाउनमा घुम्न र किनमेल गर्न आउने पर्यटकलाई बोक्ने बस टाउन परिसरको भित्री सडकमा पार्किङ गर्ने गरिएको छ । सडक नै ढाक्नेगरी अव्यवस्थित तरिकाले सवारीसाधन पार्किङ हुँदा परिसरभित्र सर्वसाधारणलाई आवतजावतमा समस्या हुने गरेको छ । सडक च्यापेर बस बिसौनी हुँदा मोटरसाइकल, साना सवारीसाधनलगायत गुडाउन कठिनाइ हुँदै आएको छ । 

चाइना टाउन परिसरको मूल सडक काठमाडौं महानगरपालिका कार्यालयमा प्रवेश गर्ने सडक पनि हो । यो सडकमा जथाभाबी पार्किङले आवागमनमा अवरोध पु¥याउँदा पनि महानगरपालिकाले नदेखेझैं गर्दै आएको छ । 

यो सडकमा दैनिक पर्यटक बोकेका गाडी घन्टौंसम्म पार्किङ गरिन्छ । मंगलबार अपराह्नमात्रै करिब दुई घन्टासम्म आधा दर्जन ठूला बस सडकमै पार्किङ गरेर राख्दासमेत महानगरले कुनै कारबाही नगरेको स्थानीयले गुनासो गरे । दैनिक कयौं घन्टासम्म सडकमै गाडी पार्किङ गर्दा आवतजावतमा समस्या झेल्नुपरेको स्थानीयको भनाइ छ । 

‘अन्य ठाउँमा मोटरसाइकल पार्किङ गर्दासमेत कारबाही हुन्छ,’ चाइना टाउनमा डुलफिर गर्न आएकी ललितपुर कसपन्डोलकी रोजिना थापाले भनिन्, ‘आफ्नै कार्यालय अगाडि गाडी पार्किङ गरेर महानगरपालिकामा आउने सेवाग्राहीलाई समस्या पर्दासमेत केही नगर्दा शंका लाग्न थालेको छ ।’ मनपरी गाडी पार्किङ हुँदा जेडीए कम्पलेक्स, चाइना टाउनलगायत ठाउँमा रहेका कार्यालय तथा पसलमा आउजाउ गर्नेहरू मर्कामा परेका छन् । 

महानगरपालिका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले अनाधिकृत रूपमा सडकमै हुने गाडी पार्किङले समस्या निम्त्याएको स्विकारे । ‘समस्या भएको कुरा महसुस गरेका छौं,’ पौडेलले भने, ‘निजी कम्पलेक्स वरपरको सडकमा पार्किङ गर्न पाउने वा नपाउने भन्ने मापदण्ड हेरेर कानुनी प्रक्रिया अघि बढाइनेछ ।’ उनका अनुसार अनाधिकृत पार्किङ भएको पाइएमा एक दुई साताभित्रै उक्त ठाउँमा पार्किङ निधेष गरिनेछ ।

 

प्रकाशित: ३ जेष्ठ २०७४ ०२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App