१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

हेटौँडामा मतगणना शुरु, थाहामा एमाले अगाडि

हेटौँडा – हेटौंडा उपमहानगरपालिकामा स्थानीय तहको निर्वाचनको मतगणना सुरु भएको छ । गएराति बसेको सर्वदलीय बैठकले बिहान ७ बजेबाट मतगणना गर्ने निर्णय गरेपनि ढिलागरी मतगणना सुरु भएको हो । मकवानपुरका मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले राजनीतिक दलका प्रतिनिधि आउन ढिला गरेकाले मतगणना करिब साँढे नौ बजेबाट शुरु भएको बताए ।

मतगणना हेटौँडा उपमहानगरपालिका – १ बाट सुरु गरिएको छ । हेटौँडामा मेयरमा नेपाली काँग्रेसका आनन्दराम पराजुली, नेकपा एमालेका हरिबहादुर महत, राप्रपाबाट मधु अधिकारी, नेकपा मालेका भिमसेन महत उम्मेदवार रहेका छन् । त्यस्तै, उपमेयरमा नेकपा एमालेकी मिना लामा, माओवादी केन्द्रबाट बलराम बल, राप्रपाकी ईन्दिरा न्यौपाने उम्मेदवार छन् ।

थाहाको मेयरमा नेकपा एमालेका बिष्णु ढकाल, नेकपा माओवादी केन्द्रका लवशेर बिष्ट, राप्रपाबाट हरेराम कार्की लगायत रहेका छन् । त्यस्तै, उपमेयरमा नेपाली काँग्रेसका खड्ग गोपाली, नेकपा एमालेकी कल्पना बलामी, राप्रपाकी राममायाँ लामा लगायत उम्मेदवार रहेका छन् ।

हेटौँडा उपमहानगरपालिकामा मेयर र उपमेयरमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बीच तालमेल गरिएको छ ।

थाहामा एमाले अगाडि

मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा जारी मतगणनामा नेकपा एमाले अगाडि रहेको छ । थाहामा हालसम्म मेयरमा एमालेको ३ सय ७३, नेकपा माओवादी केन्द्रको ३ सय सय ६ मत प्राप्त हुँदा राप्रपाको २ मत प्राप्त भएको छ । 

उपमेयरमा ३ सय ७१ मत सहित एमाले अघि रहँदा काँग्रेसको १ सय १ मत प्राप्त भएको निर्वाचन अधिकृत जीवनप्रसाद आचार्यले बताए । थाहा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल गरिएको छ।

जिल्लामा २ हजार २ सय १३ उम्मेदवारमध्ये निर्वाचनबाट ४ सय ५९ जना प्रतिनिधी चुनिने मकवानपुरका मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले बताए । २ लाख २७ हजार सात सय ५९ मतदाता रहेको मकवानपुरको हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र आठ गाउँपालिकामा २२ दल र स्वतन्त्र उम्मेदवारबीच प्रतिष्पर्धा रहेको छ ।

प्रकाशित: १ जेष्ठ २०७४ ०५:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App