१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

३४ जिल्लामा मतदान हुँदै

काठमाडौं – झन्डै २० वर्षपछि प्रदेश नम्बर ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा आइतबार पहिलो चरणको मतदान हुँदैछ । मतदानका लागि ६ हजार ६ सय ४२ केन्द्र तोकिएका छन् ।  

मतदाताले बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म आ–आफ्नो मतदान केन्द्र पुगेर  मतदान गर्नेछन् । उनीहरूले स्थानीय तह सरकार निर्माणका लागि प्रमुख, उपप्रमुख, वडाध्यक्ष र प्रत्येक वडामा ४ सदस्य चुन्नेछन् ।

संविधानसभाबाट संविधान जारी भएपछि  अधिकार सम्पन्न स्थानीय तह सरकार गठनका लागि पहिलोपटक निर्वाचन हुन लागेको हो । पहिलो चरणको निर्वाचनमा १३ हजार ५ सय ५६ पदका लागि ४९ हजार ३ सय ३७ उम्मेदवार प्रतिस्पर्धामा छन् । पहिलो चरणमा ४९ लाख ५६ हजार ९ सय २५ मतदाता छन् ।

गोप्य मतदानबाट एक पद, एक मतको आधारमा बहुमतीय निर्वाचन प्रणालीमा स्थानीय तहको निर्वाचन हुनेछ । 

निर्वाचन आयोगले स्थानीय सरकार निर्माणका लागि जनप्रतिनिधि छान्न आइतबार हुने निर्वाचनमा ढुक्क भएर मतदान गर्न मतदातालाई अपिल गरेको छ । ‘हाम्रा निर्वाचित जनप्रतिनिधिले लेखेको संविधान कार्यान्वयन गर्नेक्रममा आइतबार मतदानमा सहभागी हुन पाएकोमा हामीले निकै भाग्यमानी भएको अनुभूत गरिरहेका छौं,’ प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने, ‘निर्वाचनमा सुरक्षाको भरपर्दाे व्यवस्था गरिएको छ । ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन र आफ्नो अमूल्य मत सातजना उम्मेदवारलाई प्रदान गर्न सबै मतदातालाई आयोग हार्दिक अपिल गर्न चाहन्छ ।’

लोकतान्त्रिक पद्धतिको संरक्षण र विकासमा सघाउ पुर्याउने स्थानीय तह निर्वाचनमा शान्ति सुरक्षाको व्यवस्था मजबुत भएको भन्दै आयोगले अमूल्य मत कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी गोप्यरुपमा मतदान गर्न मतदातालाई आग्रह गरेको छ । 

यसअघि २०५४ जेठ ४ र १३ गते दुई चरणमा स्थानीय निकायअन्तर्गत गाविस, नगरपालिका र जिविसको निर्वाचन भएको थियो । त्यो निर्वाचनबाट निर्वाचित पदाधिकारीको ५ बर्से पदावधि २०५९  असार मसान्तमा सकिएपछि स्थानीय निकाय जनप्रतिनिधिविहीन भएका थिए थिए । निर्वाचित जनप्रतिनिधिको पदावधि सकिएपछि सरकारले २०५९ साउन २१ गते गाविस अध्यक्षको काम सचिवले, नगरपालिकाको मेयरको काम कार्यकारी अधिकृतले र जिविस सभापतिको काम स्थानीय विकास अधिकारीले गर्ने निर्णय गरेको थियो । त्यसयता स्थानीय निकाय कर्मचारीको भरमा चल्दै आएको थियो । दोस्रो संविधानसभाबाट जारी संविधानमा स्थानीय निकाय विघटन गरी स्थानीय तह बनाउने व्यवस्था राखिएसँगै सरकारले स्थानीय तह विघटन गरी ७ सय ४४ स्थानीय तह बनाएको हो । लोकतान्त्रिक जनआन्दोलनमार्फत गणतन्त्र स्थापना संविधानसभाबाट संविधान बनेपछि नेपालको इतिहासमा पहिलोपटक स्थानीय तहको निर्वाचन हुन लागेको हो । प्रमुख आयुक्त यादवले स्थानीय तह निर्वाचन ऐतिहासिक भएकोे बताए । 

देशभरका ७ सय ४४ स्थानीय तहमध्ये आइतबार पहिलो चरणमा २ सय ८३ स्थानीय तहको निर्वाचन हुनेछ । बाँकी ४ सय ६१ स्थानीय तहका लागि जेठ ३१ गते दोस्रो चरणमा निर्वाचन हुनेछ । पहिलो चरणमा मतदाताले ४ महानगर, १ उपमहानगर, ९२ नगरपालिका र १ सय ८६ गाउँपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडासदस्य, महिला वडासदस्य र दलित महिला वडा सदस्य निर्वाचित गर्नेछन् । 

निर्वाचन आयोगले फोटोसहितको मतदाता परिचयपत्र लगेर तोकिएको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ । तर फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिले मतदाता परिचयपत्र नपाएको, हराएको वा नष्ट भएमा सरकारका कुनै पनि निकायबाट जारी परिचयपत्र देखाएर मतदान गर्न पाउने आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त यादवले भने, ‘स्थानीय तह निर्वाचन, २०७४ प्रयोजनार्थ तयार पारिएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारणवस परिचयपत्र नपाएमा नेपाली नागरिकता, राहदानी वा सरकारी निकायबाट फोटोसहित जारी गरिएको परिचयपत्रका आधारमा मतदान गर्न पाउनेछन् ।’

बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान केन्द्रमा प्रवेश गरेका मतदाताले मात्रै मतदान गर्न पाउनेछन् । 

आफ्नो नाम ढाँटेर अर्काको नाममा मतदान गर्नेलाई कानुनबमोजिम कारबाही हुने आयोगले जनाएको छ । अपांगता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त, बिरामी मतदातालाई मतदानमा प्राथमिकता दिन उचित व्यवस्था मिलाउन र सहज ढंगले मतदानको प्रबन्ध गर्न मुख्य÷निर्वाचन अधिकृतहरूलाई आयोगले निर्देशन दिएको छ । अपांगता भएका मतदातालाई मतदान गर्न सजिलो होस् भनेर एक सयभन्दा बढी  मतदान केन्द्रमा ¥याम्प बनाइएको आयोगले जनाएको छ । दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैं मत संकेत गर्न नसकेमा एकाघरको परिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मतसंकेत गर्न सक्नेछन् ।

मतदानबाट २ सय ८३ स्थानीय तह प्रमुख र सोही संख्यामा उपप्रमुख निर्वाचित हुनेछन् । आयोगका अनुसार प्रमुख पदका लागि ७ सय २३ पुरुष र १ सय ५७ महिला गरी ८ सय ८० जना उम्मेदवार छन् । उपप्रमुख पदका लागि २ सय ५७ पुरुष र १ हजार १ सय २७ महिला गरी १ हजार ३ सय ८४ जना चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै २ हजार ५ सय ९८ वडाध्यक्ष निर्वाचित हुनेछन् । वडाध्यक्ष पदका लागि  १० हजार २ सय ९६ पुरुष र ४ सय ४८ महिला प्रतिस्पर्धामा छन् । वडासदस्य दुई पदका लागि १७ हजार ७ सय २९ पुरुष र ९ सय ५१ जना महिला, महिला वडासदस्यका लागि नौ हजार ८३ जना र दलित महिला वडासदस्यमा ७ हजार ५ सय २६ जना उम्मेदवार छन् । 

स्थानीय तह निर्वाचन ऐन, २०७३ मा राजनीतिक दलले प्रमुख वा उपप्रमुखमध्ये एकमा महिलालाई उम्मेदवार बनाउनुपर्ने बाध्यकारी व्यवस्था गरे पनि दलीय तालमेलका कारण यो पूर्ण कार्यान्वयनमा आउन सकेको छैन । त्यस्तै वडा सदस्यका लागि ४० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने कानुनी व्यवस्था छ । 

१ सय ६० महिला र १ सय ६९ पुरुष उम्मेदवार निर्विरोध निर्वाचित भइसकेको आयोगले जनाएको छ  । 

मतदाताको सुरक्षाका लागि ६८ हजार सुरक्षाकर्मी परिचालन गरिएको गृहमन्त्रालयले जनाएको छ । 

सरकारले फागुन ९ गते ७ सय ४४ स्थानीय तहमा वैशाख ३१ गते एकैचरणमा निर्वाचन गराउने घोषणा गरेको थियो । तर वैशाख १० मा आएर पुरानो निर्णयमा हेरफेर गर्दै दुई चरणमा निर्वाचन गराउने घोषणा सरकारले ग¥यो । जसअनुसार पहिलो चरणमा वैशाख ३१ गते (आइतबार) मतदान हुँदैछ । दोस्रो चरणमा जेठ ३१ गत प्रदेश ३, ४ र ६ अन्तर्गतका स्थानीय तहमा चुनाव हुनेछ । 

प्रकाशित: ३० वैशाख २०७४ २३:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App