१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

शीर्ष नेताहरु कहाँबाट मतदान गर्दैछन् ?

पूर्णप्रसाद मिश्र

काठमाडौँ- स्थानीय तहको निर्वाचनमा राजनीतिक नेतृत्व एवम् उच्च सरकारी पदाधिकारीले कुन मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्दै छन् भन्ने कुरा आम चासोको रुपमा रहेको छ।

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं ४ लङ्कुस्थित लक्ष्मी माध्यमिक विद्यालय मतदान केन्द्रमा बिहान ७ बजे मतदान गर्दै छन्। उपप्रधानमन्त्रीत्रय विजयकुमार गच्छदार, विमलेन्द्र निधि र कृष्णबहादुर महराको मतदाता नामावली रहेको प्रदेशमा पहिलो चरणमा निर्वाचन हुँदैन।
यसैगरी, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले पहिलो चरणमा मतदान गर्ने छैनन्। पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता माधवकुमार नेपालको नामावली पनि रौतहट जिल्लामा रहेकाले जेठ ३१ मा हुने निर्वाचनमा मात्र मतदान गर्ने छन्।
पूर्वप्रधानन्यायाधीश एवम् मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडौँ महानगरपालिका वडा नं १० बानेश्वर हाइटस्थित सानोगौचरण पार्क मतदान केन्द्रमा मतदान गर्दै छन्। रेग्मीले आफैँ मन्त्रिपरिषद्को अध्यक्ष भएर गराएको २०७० मङ्सिर ४ गतेको निर्वाचनमा पनि यही केन्द्रबाट मतदान गरेका थिए।
पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका वडा नं १ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय केन्द्रबाट मतदान गर्दै छन्।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका वडा नं २ स्थित सत्यवती मावि र महामन्त्री डा शशाङ्क कोइरालाले काठमाडौँ महानगरपालिका वडा नं ३ महाराजगञ्जचोकस्थित भ्याली स्कूल केन्द्रमा मतदान गर्दै छन्।

पूर्वउपप्रधानमन्त्री एवम् काँग्रेस नेता प्रकाशमान सिंहले महानगरपालिकाको वडा नं १६ पकनाजोलस्थित नेपाल युवक मावि केन्द्रबाट मतदान गर्दै छन्। पूर्वउपप्रधानमन्त्री एवम् माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले गोरखा जिल्ला सिरानचोक गाउँपालिका वडा नं ८ स्थित जौबारी मतदान केन्द्रबाट मत दिँदै छन्।

एमाले महासचिव ईश्वर पोखरेलले काठमाडौँको टोखा नगरपालिका वडा नं ७ धापासीस्थित स्काइलार्क स्कूल केन्द्रबाट मत हाल्दै छन्।
सहरीविकास मन्त्री अर्जुननरसिंह केसीले नुवाकोट ककनी गाउँपालिका वडा नं २ स्थित ओखरपौवा केन्द्र, ऊर्जामन्त्री जनार्दन शर्माले रुकुमको मुसीकोट नगरपालिका वडा नं ६ शेरेगाउँस्थित यमुनानन्द नमुना मावि केन्द्र, परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका वडा नं २ स्थित ठाँटीभञ्ज्याङ केन्द्र, उद्योगमन्त्री नवीन्द्रराज जोशीले महानगरपालिकाको वडा नं १९ ढोकाटोल केन्द्र र स्वास्थ्यमन्त्री गगनकुमार थापाले महानगरपालिका वडा नं ३० मैतीदेवीस्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्दै छन्।
वाणिज्य मन्त्री रोमी गौचन थकालीले मुस्ताङको खासाङ गाउँपालिका वडा नं ३ लेतेस्थित जनोदय मावि केन्द्र, वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले तनहुँको भानु नगरपालिका वडा नं ९ स्थित कालिका मावि केन्द्र र महिला बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले पोखरा महानगरपालिका वडा नं १६ अमरेस्थित चण्डिका प्रावि मतदान केन्द्रमा मत हाल्ने छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नं ५, पिप्लेस्थित बालज्योति मावि मतदान केन्द्र र वरिष्ठ नेता पशुपतिशम्शेर जबराले सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिका वडा नं २ महेन्द्रोदय उच्च माध्यमिक विद्यालय केन्द्रमा मतदान गर्दै छन्।

मुख्यसचिव डा सोमलाल सुवेदीले महानगरपालिका वडा नं १४ कलङ्कीस्थित ब्लुरेन इङ्लिस बोर्डिङ स्कुल र खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले ललितपुर महानगरपालिकाको यातायात व्यवस्था वाग्मती अञ्चल कार्यालय मतदान केन्द्रबाट मत दिने छन्।
नेपाली काँग्रेसका नगर प्रमुखका उम्मेदवार राजुराज जोशीले महानगरपालिका वडा नं २६ को यट्खा टोल केन्द्र र उपप्रमुख पदकी उम्मेदवार हरिप्रभा खड्गीले वडा नं २८ स्थित पद्मकन्या बहुमुखी क्याम्पस केन्द्रबाट मतदान गर्दै छन्। रासस
 

 

प्रकाशित: ३० वैशाख २०७४ १४:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App