१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

धमाधम परिचयपत्र वितरण

भरतपुरबाट निर्वाचन सामग्री लिएर मतदान केन्द्र जाँदै कर्मचारी ।

चितवन – आइतबार हुने स्थानीय तह निर्वाचनका लागि चितवनमा सबै तयारी पूरा भएको छ । कर्मचारी आआफ्ना मतदान केन्द्रमा पुगेर बिहीबारदेखि नै मतदाता परिचयपत्र बाँड्न सुरु गरिसकेका छन् । तयारीमा कुनै कमजोरी नरहेको र जिल्लाको अवस्था सामान्य रहेको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

एउटा मतदान केन्द्रमा सुरक्षाकर्मीबाहेक एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी, दुई कार्यालय सहयोगी खटिनेछन् । चितवन जिल्लामा मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी ७९० जना कर्मचारी खटिन्छन् । चितवनमा ३७६ मतदान केन्द्र र १६१ मतदान स्थल रहेका छन् ।

‘मतदाता परिचयपत्र नभए मतदान गर्न पाइन्न । २८, २९ र ३० गते परिचयपत्र वितरण हुन्छ ।  ३१ गते चुनावको दिन मतदाता परिचयपत्र वितरण हुँदैन । तीन दिनभित्रैमा परिचयपत्र लिइसक्नुपर्छ,’ जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमप्रसाद ढकालले भने । चितवनमा तीन लाख १३ हजार २ जना मतदाता छन् ।

चितवनमा भरतपुर महानगरपालिका, इच्छाकामना गाउँपालिका र माडी, कालिका, खैरहनी, राप्ती र रत्ननर गरी पाँच नगरपालिकासहित सात स्थानीय तह छन् । सबैभन्दा धेरै मतदाता भरतपुर महानगरपालिकामा १ लाख ५२ हजार रहेका छन्।

मतदान केन्द्रहरूका सुरक्षाकर्मीहरू पनि पुगिसकेका छन् । म्यादी प्रहरीसमेत गरेर प्रहरी मात्रै तीन हजारभन्दा धेरै परिचालन भएका छन् ।

सशस्त्र प्रहरी र आवश्यकताअनुसार नेपाली सेनाले पनि निर्वाचन सुरक्षा दिनेछ । निर्वाचनका क्रममा हालसम्म छिटफुट घटना भए पनि गम्भीर घटना नभएको प्रमुख जिल्ला अधिकारी भट्टले जानाए । मनोनयन दर्ता भइसकेपछि कालिका नगरपालिकाका माओवादी केन्द्रका वडा सदस्यका उम्मेदवारको चट्याङ परी निधन भएपछि वडामा नयाँ मनोनयन दर्ता हुने भएको छ ।

कालिका नगरपालिकामा वडा सदस्यका उम्मेदवार सिफ चेपाङको निधन भएपछि नयाँ मनोनयन दर्ता भएर जेठ २ गते मात्र मतदान हुने भएको छ । अरु वडामा भने वैशाख ३१ नै मतदान हुनेछ चर कालिका नगरापालिकाको मतगणना भने जेठ २ गते पछि मात्र हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मतगणना सम्बन्धित स्थानीय तहको केन्द्र रहेको ठाउँमै हुनेछ । जिल्लाका पहाडी क्षेत्रमा रहेका १४ मतदान केन्द्रका मतपेटिका संकलन गर्न हेलिकप्टर आवश्यक पर्ने प्रहरीको भनाइ छ ।

प्रकाशित: ३० वैशाख २०७४ ०२:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App