१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

महिलामैत्री मतदान केन्द्र

नुवाकोट – स्थानीय तह निर्वाचनका लागि नुवाकोटको दुई मतदान केन्द्रमा निर्वाचन गराउने जिम्मेवारी  महिला कर्मचारी र महिला सुरक्षाकर्मीले सम्हालिरहेका छन् । विदुर नगरपालिका ४ मा रहेको नुवाकोट आदर्श बहुमुखी क्याम्पस मतदान ‘ख’ केन्द्र र वडा नम्बर ६ महारानी डिहीस्थित मतदान ‘क’ केन्द्रमा महिलाकै नेतृत्वमा  निर्वाचनसम्बन्धी कार्य भइरहेको छ । नुवाकोट आदर्श बहुमुखी क्याम्पस मतदान केन्द्रको ‘ख’ केन्द्रको अधिकृतमा महिला तथा बालबालिका कार्यालय प्रमुख भुला भण्डारी छिन् । यस्तै महारानी डिहीमा रहेको मतदान केन्द्रको ‘क’ केन्द्रमा घरेलु तथा साना उद्योग कार्यालयकी अधिकृत अम्बिका घिमिरे छिन् । दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचन सफल बनाउन निर्वाचन कार्यालयले महिलामैत्री मतदान केन्द्रको नेतृत्व गर्ने जिम्मेवारी पाएकी भण्डारी भन्छिन्, ‘केन्द्रमा महिला कर्मचारी मात्र नभई सुरक्षाकर्मी पनि महिला नै छन् । उत्साहसाथ जिम्मेवारी पूरा गर्न लागिपरेकी छु ।’

११ सय ३३ मतदाता रहेको महारानी डिहीको ‘क’ केन्द्रमा रहेकी घिमिरे भन्छिन्, ‘मतदाता परिचयपत्र लिन आउनेको भीड देखेर खुसी लाग्यो । मतदाता मताधिकार प्रयोग गर्न आतुर छन् ।’ 

जिल्ला निर्वाचन अधिकारी जनार्दन अधिकारीले नमुना मतदान केन्द्र निर्माणका लागि नेतृत्व र सहभागितामा महिलामैत्री मतदान केन्द्र सञ्चालन गरिएको जानकारी दिए । निर्वाचन कार्यालयका अनुसार दुवै मतदान केन्द्रमा छ÷छ जना कर्मचारी र आठआठ जना सुरक्षाकर्मी महिला खटाइएको छ । मतदान केन्द्रमा म्यादी प्रहरी पनि महिला नै छन् । 

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर ६ धुन्चेमा रहेको रसुवा मावि मतदान केन्द्र महिलामैत्री बनाइएको छ । उक्त केन्द्रमा मतदान अधिकृतदेखि कार्यालय सहयोगीसम्म सबै महिला कर्मचारी खटाइएकोे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत रामराजा उप्रेतीका अनुसार निर्वाचनस्थल महिलामैत्री र नमुना केन्द्रका रूपमा स्थापित गर्न महिलाकै नेतृत्वमा निर्वाचन केन्द्र सञ्चालन गर्न महिला जनशक्ति मात्र खटाइएको हो ।

मतदान केन्द्रमा मतदान अधिकृतमा जिल्ला स्वास्थ्य कार्यालय रसुवाका जनस्वास्थ्य अधिकृत वसुन्धरा शर्मा, सहायक मतदान अधिकृतमा जिल्ला नापी कार्यालय रसुवाकी सर्वेक्षक अन्जु नेपाल, दुईजना सहायक कर्मचारी, दुईजना कार्यालय सहयोगी छन् । मतदान केन्द्रमा ६ सय ९४ जना मतदाता छन् ।

प्रकाशित: ३० वैशाख २०७४ ०२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App