१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एसियाली भारोत्तोलन च्याम्पियनसिप साउनमा

काठमाडौं- नेपाल भारत्तोलन संघको आयोजनामा साउनमा एसियाली स्तरको युथ र जुनियर च्याम्पियनसिप हुने भएको छ। लगनखेलस्थित नेपाली सेनाको शारिरीक ब्यायाम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा साउन ६ देखि १४ गतेसम्म प्रतियोगिता चल्ने नेपाल भारोत्तोलन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका कोषाध्यष रतन टन्डनले बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराए। प्रतियोगितामा दक्षिण एसियाका साथै पूर्वी एसिया, मध्य पूर्वी एसिया र मध्य एसियाका ३० देखी ३५ देशका ४ सय खेलाडीको सहभागिता रहने जानकारी गराइयो।

विश्व भारत्तोलनको मानचित्रमा एसिया पावर हाउसका रुपमा स्थापित छ। त्यसैले यो प्रतियोगितामा युथ तथा जुनियरतर्फ विश्व कीर्तिमान बन्ने सम्भावना छ।

१९औं युथ, २४औं जुनियर महिला र ३१औं जुनियर पुरुष एसियन भारत्तोलन च्याम्पियनसिपअन्तर्गत महिला युथतर्फ २४ स्वर्ण, २४ रजत, र २४ काश्यका लागि प्रतिस्पर्धा हुनेछ । महिला युथमा ४४ केजी, ४८ केजी, ५३ केजी, ५८ केजी, ६३ केजी, ६९ केजी, ७५ केजी, र ७५ केजी भन्दामाथिका स्पर्धा समावेश गर्नेछन्।

त्यस्तै २४ स्वर्ण, २४ रजत, र २४ काश्यका लागि प्रतिस्पर्धा हुने पुरुष युथतर्फ ५० केजी, ५६ केजी, ६२ केजी, ६९ केजी, ७७ केजी, ८५ केजी, ९४ केजी र ९४ भन्दा माथिका तौल समूहमा प्रतिस्पर्धा हुनेछन्।

महिला जुनियर र पुरुष जुनियरमा पनि समान २४ स्वर्ण, २४ रजत, र २४ काश्यकै लागि प्रतिस्पर्धा हुनेछन्। महिला जुनियरतर्फ ४८ केजी, ५३ केजी, ५८ केजी, ६३ केजी, ६९ केजी, ७५ केजी, ९० केजी र ९० केजीभन्दा माथिको तैल समूहमा समावेश छन्। त्यस्तै पुरुष जुनियरमा ५६ केजी, ६२ केजी, ६९ केजी, ७७ केजी, ८५ केजी, ९४ केजी १०५ केजी तथा १०५केजी भन्दामाथिको तौल समूहमा प्रतिर्स्धा हुनेछ।

नेपालले २०७२ मा पनि सिनियर एसियन महिला तथा पुरुष भारोत्तोलन प्रतियोगिता गर्ने जिम्मेवारी पाएको थियो। तर, भुकम्पका कारण उक्त प्रतियोगिता रद्द भएको थियो।

घरेलु भुमीमा हुने यस प्रतियोगितामा नेपालले सबै स्पर्धामा सहभागिता जनाउन नसक्ने संघका महासचिव पार्थ सारथी सेन गुप्ताले बताए। ‘युथका सबै विधामा हामी भाग लिन सक्दैनौं। जुनियरतर्फको स्थिती पनि फरक छैन। तर जुनियर तर्फ भने हामी सबै विधामा सहभागी हुने प्रयास गर्नेछौं,’ गुप्ताले भने, ‘सातौं राष्ट्रिय खेलकुद र क्षेत्रीय प्रतियोगितालाई आधार मानेर हामीले खेलाडी छनोट गरि प्रशिक्षण गराइरहेका छौं।’

गत वर्ष जापानमा सम्पन्न एसियन भारत्तोलन संघको वार्षिक सभाले नेपाललाई युथ र जुनियर महिला तथा पूरुष एसियन भारत्तोलन च्याम्पियनसिप आयोजना गर्ने जिम्मेवारी दिएको थियो। नेपालमा हुने यस प्रतियोगितामा युथ र जुनियरतर्फ एसियन तथा विश्व कीर्तिमान बन्ने सम्भावना रहेको टन्डनले बताए।

‘विश्व भारत्तोलनको मानचित्रमा एसिया पावर हाउसका रुपमा स्थापित छ,’ टन्डनले भने, ‘त्यसैले यो प्रतियोगितामा युथ तथा जुनियरतर्फ विश्व कीर्तिमान बन्ने सम्भावना छ।’

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले सधै भुकम्पबाट प्रभावित देश भनेर नबसी नेपालले पनि ठूलो प्रतियोगिता आयोजना गर्न सक्छ भनेर प्रमाणित गर्न यो प्रतियोगिता फलदायी हुने बताए।

‘एसियाली स्तरमा हुने यस्तो प्रतियोगिताले नेपालका युवा खेलाडीलाई एक्पोजर मिल्नेछ। यसको व्यवस्थापन गर्दा हासिल हुने अनुभवले १३औं साग (दक्षिण एसियाली खेलकुद) आयोजनामा पनि सहयोग पुग्नेछ,’ सदस्यसचिव विष्टले भने, ‘प्रतियोगिता आयोजनाले खेल गतिविधी बढाउनुका साथै आर्थिक गतिविधिलाई टेवा पुग्छ र पर्यटन विकासलाई सहयोग गर्छ।’

प्रकाशित: २९ वैशाख २०७४ ०४:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App