१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

जनचेतना अभाव

मणि दाहाल र अशोक सुजन श्रेष्ठ

हेटौंडा- उम्मेदवार नभएको चुनाव चिह्नमा मत परे के हुन्छ? एकै पदमा उम्मेदवार भएको र नभएको दुवै चिह्नमा मत परे त्यो सदर हुन्छ या बदर? खुला वडा सदस्यको दुई पदमा कसरी मतदान गर्ने?

मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षको कार्यकक्षमा मंगलबार अपराह्न स्थानीय उद्योगी भेला भए। सामान्य अवस्थामा व्यापार व्यवसायबारे छलफल गर्ने उनीहरूको विषयवस्तु त्यो थिएन। उनीहरूबीच कसरी मतदान गर्दा मत बदर हँुदैन भनेर छलफल भइरहेको थियो। संघका सल्लाहकार बिजेन्द्र अग्रवालले पहिलोपटक हुन लागेको स्थानीय तहको मतदान अभ्यास नगराएकोमा गुनासो गर्दै दिए। सरकारी, गैरसरकारी निकायबाट पर्याप्त नमुना मतदान नगराएको भन्दै संघका अध्यक्ष राजकुमार न्यौपानेले जनताको अमूल्य मत खेर जान नदिन सबै सचेत हुनुपर्नेमा जोड दिए।

मतपत्रमा रहेको जटिलता मात्रै नभएर दलहरूबीचको चुनावी गठबन्धनका कारण धेरै मत बदर हुने शंकाबीच पहिलो चरणका चुनावका लागि विभिन्न मतदान केन्द्रमा निर्वाचनका कर्मचारी पुगेका छन्।

मकवानपुरका जिल्ला निर्वाचन अधिकारी गोविन्दप्रसाद पौडेलले पर्याप्त मात्रामा मतदाता शिक्षा सञ्चालन गर्न नसकेको स्वीकार्दै जिल्लाको सबै मतदान केन्द्रमा निर्वाचन अधिकृत तथा कर्मचारी पुगिसकेको बताए। तर निर्वाचन टोलीमा मतदाता शिक्षाबारे जानकार कर्मचारी रहेको उनले बताए।

'प्रत्येक मतदान केन्द्रमा एक जनाका दरले मतदाता शिक्षाका प्रशिक्षण प्राप्त गरेको कर्मचारी खटाएका छौं', पौडेलले भने, 'मतदाता र सरोकारवाला पनि सचेत हुनुपर्छ।'

नागरिक समाजका अगुवासमेत पर्याप्त मात्रामा मतदान प्रक्रियाबारे चेतना जगाउन कमी भएको बताउँछन्। सरकारी, गैरसरकारी संघसंस्था र राजनीतिक दलहरूले समेत मतदाता शिक्षामा खासै ध्यान नदिएको उनीहरूको आरोप छ।

नागरिक सरोकार मञ्च मकवानपुरका संयोजक शिव कोइराला विशेष गरी दुर्गम क्षेत्रका मतदाता उत्साहीसँगै कसरी मतदान गर्ने भनेर दिविधामा परेको बताउँछन्।

मकवानपुरका प्रमुख जिल्ला निर्वाचन अधिकृत दयाराम ढकालले जिल्लाका दुई सय ९५ वटै मतदान केन्द्रमा तयारी तीव्र गतिमा भइरहेको बताए। 'पाँच सयभन्दा कम मतदाता रहेको २८ मतदान केन्द्रमा पाँच जनाका दरले कर्मचारी खटाइएको छ', ढकालले भने, 'पाँच सयभन्दा बढी मतदाता रहेको बाँकी मतदान केन्द्रमा ६ जनाका दरले कर्मचारी परिचालित गरिएको छ।' ६४ प्रकारका निर्वाचन सामग्री लिएर मतदान केन्द्र पुगेका कर्मचारीले मतदाता परिचय वितरणसमेत गरिरहेको उनले बताए।

जिल्ला सुरक्षा समन्वय समितिका अध्यक्ष एवम् मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दवाडीले सुरक्षा व्यवस्था मजबुत पारेको बताए। भौगोलिक विकटताले कठिनाइ भए पनि मतदान सामग्री र कर्मचारीलाई सुरक्षितपूर्वक पुर्‍याइएको उनले बताए। 'गाउँपालिका र नगरपालिकाको केन्द्रसम्म मतपेटिका पुर्‍याउन ढुवानी योजना छ', दवाडीले भने, 'गाडी बस्ने स्थान, जिम्मेवार अधिकारी, सुरक्षाकर्मीसमेत तोकिसकिएको छ।' मकवानपुरमा दुई लाख २७ हजार सात सय ५९ मतदाता छन्।

प्रकाशित: २९ वैशाख २०७४ ०२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App