१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

१२ जना मेधावी विद्यार्थीलाई अमेरिकीबासी थारुको छात्रवृत्ति

काठमाडौं- थारुज एन्ड फ्रेन्ड्स एसोशियसनले १२ जना मेधावी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। अमेरिकीबासी थारुहरुको परिचित सो संस्थाले विगत ८ वर्षदेखि छात्रवृत्ति प्रदान गर्दै आएको छ। सोहीअनुसार २०१६-१७ मा छात्रवृत्ति पाउने मेधावी विद्यार्थीको अन्तिम नामावली सार्वजनिक गरेको हो।

संस्थाले दुई जनालाई विशेषसहित १२ जनालाई छात्रवृत्ति प्रदान गर्ने जनाको छ। विशेषअन्तर्गत बर्दियाका मिठुराम थारुलाई 'सरोज चौधरी छात्रवृत्ति' र कैलालीका रामा चौधरीलाई 'शारदा इंगलिस सेकेन्ड्री स्कुल, कथौना सप्तरी' छात्रवृत्ति प्रदान गरेको हो। मिठुरामले स्नातकोत्तर (जनसंख्या) र रामाले स्नातकोत्तर (ग्रामिण विकास)का लागि निवेदन दिएका थिए। दुवैले ३० हजार रुपैया प्राप्त गर्नेछन्।

त्यस्तै संस्थाले प्रदान गर्दै आएको नियमित छात्रवृत्तिमा सप्तरीकी आयुषमा चौधरी (प्लस टु), बाराका आशिष चौधरी (प्लस टु), सप्तरीका पिसजोन जोशी (प्लस टु), नवलपरासीकी रिनु चौधरी (बीएससी एग्रिकल्चर), नवलपरासका दिपेश चौधरी (प्लस टु), नवलपरासीका नविन महतो (प्लस टु), दाङकी रोजिना चौधरी (भेटेनरी), सर्लाहीका अरुणप्रसाद चौधरी (एमबीबीएस), बाराका सन्तोष चौधरी (बएससी), उदयपुरकी प्रियंका चौधरी (बीबीए) छन्। दसैजनाले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

थारुज एन्ड फ्रेन्ड्स एसोशियसनका सचिव सत्य नारायण चौधरीका अनुसार संस्थाको नीतिबमोजिम विद्यार्थीहरु छानिएका हुन्। छानिनुअघि सबै विद्यार्थीको पारिवारिक पृष्ठभूमि र डकुमेन्ट परीक्षण गरिएको उनले बताए।

छात्रवृत्ति पाउने सबै विद्यार्थीले आफ्नो अभिभावको खाता नम्बर पठाउन संस्थाले आह्वान अनुरोध गरेको छ। खाता नम्बरसँगै बैंकको नाम र स्विफ्ड कोडको आवश्यकता पर्ने हुँदा त्योपनि पठाउन आग्रह गरेको छ। त्यसका लागि tharusandfriends@gmail.com मा इमेल गर्न सकिने सचिव चौधरीले जानकारी दिए। खाता नम्बर पाएपछि सिधै खातामै रकम जम्मा गरिदिने चौधरीले बताए।

यसवर्ष १ सय ३ जनाले छात्रवृत्तिका लागि निवेदन दिएका थिए। छात्रवृत्तिका लागि सहयोग पुर्‍याउने सबैलाई संस्थाका पदाधिकारीले धन्यवाद ज्ञापन दिएका छन्।

प्रकाशित: २८ वैशाख २०७४ ०६:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App