१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काठमाडौं महानगरमा आफ्नै रेकर्ड तोड्ने एमाले दाउ

काठमाडौं- एमालेले काठमाडौं महानगरपालिकामा मेयरसहित आधाभन्दा बढी वडाध्यक्ष जित्ने दाबी गरेको छ। निर्वाचनमा पहिलो प्रतिस्पर्धीका रूपमा कांग्रेस आउने आँकलन एमालेको छ। काठमाडौंमा अघिल्लो स्थानीय निर्वाचन (२०५४ सालको) मा कायम गरेको आफ्नै रेकर्ड तोडी नयाँ रेकर्ड कायम गर्ने दाउमा एमाले छ।

अघिल्लो स्थानीय निर्वाचनमा ३५ वडा रहेको काठमाडौंमा महानगरपालिकामा एमालेले मेयर, उपमेयर र २३ वटा वडाध्यक्ष गरी २५ वटा मुख्य पद (वडा सदस्य बाहेक) जितेको थियो। अहिले काठमाडौं महानगरपालिकाको वडा संख्या ३२ बनाइएको छ। दुई लाख ८० हजार मतदाता रहेको काठमाडौंमा एमालेले अहिले मेयर र २२ वटा वडाध्यक्ष गरी कुल २३ वटा मुख्य पद जित्ने अनुमान गरेको छ।

'अघिल्लो स्थानीय निर्वाचनमा काठमाडौंमा हामीले मेयर, उपमेयर र २३ वटा वडाध्यक्ष जितेका थियौं। आजसम्मको समीक्षामा यो निर्वाचनमा हामी २०५४ सालको पुरानो रेकर्ड तोड्छौं,' काठमाडौं महानगरका एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले भने, 'जनलहर हाम्रो पक्षमा छ।'  शाक्य यसअघि वडा नं. २१ बाट एमालेकै तर्फबाट दुई–दुई पटक वडाध्यक्ष जितिसकेका व्यक्ति हुन्। तालमेलका कारण एमालेले काठमाडौंको उपमेयरमा राप्रपालाई छाडेको छ।

'एमालेको मेयर उम्मेदवार लामो समयदेखि काठमाडौंमा क्रियाशील हुनुहुन्छ। काठमाडौंका जनताले रुचाएको व्यक्ति भएर नै अघिल्ला दुई निर्वाचनमा उहाँ विजय हुनुभएको थियो',  एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष कृष्ण राईले भने। शाक्य काठमाडौंको भित्री सहरमा बढी परिचित हुनु एमालेका लागि फाइदाजनक हुने ठम्याइ राईको छ। भित्री सहरमा १२, १३, १५, १७, १८, १९, २०, २१, २२, २३, २४ र २५ गरी १२ वटा वडा छन्।

'काठमाडौंमा सबैभन्दा बढी मतदाता वडा नं. १६ मा १८ हजार, वडा नं. ३२ मा १५ हजार, वडा नं. ३१ मा १४ हजार र वडा नं. ३ मा १० हजार छन्। सबै वडामा एमाले बलियो छ। यस कारण पनि हाम्रा उम्मेदवारलाई निर्वाचन जित्न कठिन पर्दैन,' राईले भने।  एमालेले काठमाडौंका ३२ वडामध्ये अघिल्लो निर्वाचनमा वडाध्यक्षमा निर्वाचित ६, सदस्यमा निर्वाचित ३ र सदस्यमा पराजित तीन जनालाई उम्मेदवार बनाएको छ। बाँकी २० जना वडाध्यक्षका उम्मेदवार नयाँ अनुहार हुन्।

बुधबारसम्मको अध्ययनमा एमालेले काठमाडौंका ३२ वडामध्ये १६ मा जित पक्का, ६ वटामा कडा प्रतिस्पर्धा हुने तर नतिजा एमालेका पक्षमा आउने, ९ वटामा कांग्रेस र एउटामा राप्रपाको उम्मेदवारले जित्ने आँकलन गरेको छ।

एमालेले काठमाडौंबाट कुल २२ वटा वडाध्यक्ष जित्ने आशा राखेको छ। एमालेले जित पक्का भनेर आस गरेको वडामा ३, ४, ५, ६, ७, १३, १५, १६, १८, २०, २१, २२, २४, २७, ३१ र ३२ छन्। यस्तै ८, १२, १४, २३, २५ र ३० मा कडा प्रतिस्पर्धा हुने तर नतिजा आफ्नै पक्षमा आउने बुझाइ एमालेको छ। काठमाडौंका वडा नं. २, ९, १०, ११, १७, १९, २६, २८ र २९ मा कांग्रेस बलियो रहेको ठम्याइ एमालेको छ। यस्तै, वडा नं. १ मा राप्रपा बलियो रहेको एमाले बुझाइ छ।

'काठमाडौंमा सांगठनिक र वैचारिक दुवै रुपमा हाम्रो प्रमुख प्रतिस्पर्धी भनेको कांग्रेस हो,' शाक्यले भने।

क्षेत्र नम्बर १

वडा नं. १०

एमालेले काठमाडौं महानगरपालिकाको वडा नं. १० को वडाध्यक्षमा श्यामलाल तण्डुकारलाई उम्मेदवार बनाएको छ। उनी एमाले जिल्ला कमिटी सदस्य हुन्। २०४८ सालको संसदीय निर्वाचनमा मदन भण्डारी निर्वाचित हुँदा यस वडाबाट एमालेलाई राम्रो मत झरेको थियो। त्यसपछि एमालेले यो वडाबाट राम्रो मत पाउन सकेको छैन।

वडा नं. ११

काठमाडौं महानगरपालिकाको वडा नं. ११ मा एमालेले वडाध्यक्षमा योगेन्द्रमान श्रेष्ठलाई उठाएको छ। यहाँ कांग्रेसको संगठन राम्रो रहेको ठम्याइ एमालेको छ। २०५४ सालको स्थानीय निर्वाचनमा यस वडामा एमाले उम्मेदवारले जितेका थिए। त्यतिबेला कांग्रेसका बागी उम्मेदवार थिए। अहिले कांग्रेसको बागी उम्मेदवारी परेको छैन।

वडा नं. २९

काठमाडौं महानगरपालिकाको वडा नं. २९ मा एमालेले वडाध्यक्षमा ओम उप्रेतीलाई उठाएको छ। यहाँ पार्टीभित्रैसमस्या रहेका कारण एमालेले ठूलो आशा राखेको छैन। वडाध्यक्षको टिकट नपाएपछि एमालेकै शिवराम राजवंशी बागी उठेका छन्। राजवंशी वडामा पपुलर भएकाले मत काटिने शंका एमालेको छ।

वडा नं. ३१

काठमाडौं महानगरपालिकाको वडा नं. ३१ मा एमालेले वडाध्यक्षमा नारायणप्रसाद भण्डारीलाई उठाएको छ। उनी एमाले जिल्ला कमिटी सदस्य हुन्। अघिल्लो निर्वाचनमा पनि भण्डारी वडामा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका थिए। उनले एक सयभन्दा कम मतले कांग्रेस उम्मेदवारसँग हारेका थिए। अहिले यो वडामा कांग्रेसले कमजोर उम्मेदवार उठाएको र कांग्रेसभित्र पनि कलह भएका कारण आफ्नो उम्मेदवार विजयी हुने आशा एमालेले गरेको छ। भण्डारी २० वर्षदेखि स्थानीय प्रतिनिधि भएर वडामा काम गरिरहेकाले पनि जनतासँग नजिक रहेको बुझाइ एमालेको छ।

क्षेत्र नम्बर २

वडा नं. ९

काठमाडौं महानगरपालिकाको वडा नं. ९ मा एमालेले रामकृष्ण श्रेष्ठलाई वडाध्यक्षमा उठाएको छ। उनी काठमाडौं क्षेत्र नं. २ को एमालेका उपसचिव हुन्। कांग्रेसले अहिले पुरानो वडाध्यक्षलाई उम्मेदवार नबनाई नयाँ व्यक्ति उठाएको छ। पुरानो वडाध्यक्ष असन्तुष्ट रहेकाले असन्तुष्ट पक्षको मत पाउने विश्वास एमालेको छ।

वडा नं. ३२

एमालेले काठमाडौं महानगरपालिका वडा नं. ३२ को वडाध्यक्षमा नवराज पराजुलीलाई उम्मेदवार बनाएको छ। उनी एमाले जिल्ला कमिटी सदस्य हुन्। यो वडामा सहज जित हात पर्नेमा एमाले ढुक्क छ। यो वडामा एमालेले अहिलेसम्म निर्वाचनमा हार व्यहोर्नुपरेको छैन। २०५४ सालको स्थानीय निर्वाचनमा हालका एमाले उम्मेदवार पराजुलीले नै वडाध्यक्षमा जितेका थिए।

क्षेत्र नम्बर ३

वडा नं. ६

एमालेले काठमाडौं वडा नं. ६ को वडाध्यक्षमा उठाएका उम्मेदवार हुन् वीरेन्द्र लामा। अघिल्ला दुईवटै स्थानीय निर्वाचनमा वडामा एमालेले जित्दै आएको छ। 'यो वडामा तामाङ समुदायको बाक्लो उपस्थिति छ। तामाङ समुदायका विभिन्न गुठी छन्। एमाले उम्मेदवार लामाको गुठीमा राम्रो पकड छ। त्यसैले उहाँको जित सुनिश्चित छ,' राईले भने।

क्षेत्र नम्बर ४

वडा नं. १

काठमाडौं महानगरपालिका वडा नं. १ को अध्यक्षमा एमालेले भरतलाल श्रेष्ठलाई उम्मेदवार बनाएको छ। तीन हजार तीन सय ६० मतदाता रहेको यो वडामा अघिल्ला दुईवटै स्थानीय निर्वाचनमा राप्रपाले जितेको थियो। अहिले पनि राप्रपा मजबुत रहेको बुझाइ एमालेको छ। यो वडामा कांग्रेस पनि उत्तिकै सशक्त छ। यसकारण त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ। 

वडा नं. ७

एमालेले काठमाडौं महानगरपालिका वडा नं. ७ को वडाध्यक्षमा शुद्धकुमार डंगोललाई उठाएको छ। २०५४ को स्थानीय निर्वाचनमा पनि यहाँ एमाले उम्मेदवार विजयी बनेका थिए। डंगोल २०५४ को स्थानीय निर्वाचनमा यही वडामा सदस्यमा निर्वाचित भएका थिए। उनी सामुदायिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षसमेत भएर कार्य गरिसकेका व्यक्ति हुन्। 'डंगोल स्थानीय बासिन्दाको माया पाएको व्यक्ति हुनुहुन्छ। विगतमा उहाँले वडामा विभिन्न कार्य गरेर आफूलाई प्रमाणित गरिसक्नुभएको छ,' राईले भने।

वडा नं. ८

एमालेले काठमाडौं महानगरपालिका वडा नं. ८ को वडाध्यक्षमा कृष्णमान श्रेष्ठलाई उठाएको छ। यहाँ कांग्रेससँग कडा प्रतिस्पर्धा हुने एमाले बुझाइ छ। यो वडामा २०४९ को निर्वाचनमा एमालेले जितेको थियो भने २०५४ को निर्वाचनमा पराजय व्यहोरेको थियो।

वडा नं. ३०

एमालेले काठमाडौं महानगरपालिका वडा नं. ३० को वडाध्यक्षमा सुरेन्द्र श्रेष्ठलाई उम्मेदवार बनाएको छ। यहाँ कांग्रेससँग कडा प्रतिस्पर्धा भए पनि जित आफ्नै भागमा पर्ने आँकलन एमालेको छ। अघिल्लो निर्वाचनमा यो वडामा एमाले उम्मेदवारले झिनो मतले हार व्यहोर्नुपरेको थियो। यो वडामा एमालेका तर्फबाट वडाध्यक्षमा उठेका श्रेष्ठ युवामाझ चर्चित कलाकार हुन्। 'एमालेले यो वडामा कलाकारलाई उठाएको छ। उहाँ सामाजिक कार्यमा लागेको मान्छे पनि हो। युवाले नयाँ भिजन दिन सक्छन् भन्ने उद्देश्यले श्रेष्ठलाई उम्मेदवार बनाइएको हो,' एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष राईले भने।

क्षेत्र नम्बर ५

वडा नं. २

एमालेले काठमाडौं महानगरपालिका वडा नं. २ मा राजेन्द्र श्रेष्ठलाई वडाध्यक्षमा उठाएको छ। यो वडामा २०५४ को स्थानीय निर्वाचनमा एमाले उम्मेदवार विजयी भएका थिए। पहिला वडाध्यक्षमा विजयी भएका व्यक्ति अहिले अन्यत्र सरिदिँदा पनि एमालेलाई केही अप्ठेरो परेको छ। यो वडामा कांग्रेससँग प्रतिस्पर्धा हुने एमाले आँकलन छ। माओवादी केन्द्रको उपस्थिति पनि राम्रै छ।

श्रेष्ठ २०५४ सालको स्थानीय निर्वाचनमा यही वडाबाट सदस्यमा विजयी भएका थिए। 'हाम्रो स्थिति असाध्यै राम्रो छ। म घरघरमा पुगेको छु। वडामा निरन्तर काम गरिरहेको छु। मैले टोलवासीको माया पाउनेमा शंका छैन,' श्रेष्ठले भने।

वडा नं. ३

काडमाडौं महानगरपालिकाको वडा नं. ३ मा वडाध्यक्षका एमाले उम्मेदवार हुन् दीपक केसी। केसी २०४९ र २०५४ को स्थानीय निर्वाचनमा यही वडामा वडाध्यक्ष भएका थिए। वडा नं. २ मा ९ हजार ३ सय ९० मतदाता छन्।  एमाले जिल्ला कमिटी सदस्यसमेत रहेका केसीले वडाध्यक्षमा 'ह्याटि्रक' गर्ने एमाले बुझाइ छ। 'मैले यो वडामा थुप्रै विकास निर्माणका काम गरेको छु। जनताले मलाई पत्याएका छन् र सोहीअनुसार विश्वास गर्छन्। जनताको विश्वास मैले तोडेको छैन,' केसीले भने।

वडा नं. ४

एमालेले काठमाडौं महानगरपालिका वडा नं. ४ को अध्यक्षमा मोहन विष्टलाई उम्मेदवार बनाएको छ। विष्ट वडामा सामाजिक कार्यक्रममा क्रियाशील नाम हो। उनी वडाको सामुदायिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षसमेत भइसकेकाले स्थानीयमा उनको पकड राम्रो रहेको बुझाइ एमालेको छ। निर्वाचनमा कांग्रेस उम्मेदवार प्रतिस्पर्धामा आउने अनुमान एमालेको छ।

वडा नं. ५

काठमाडौं महानगरपालिकाको वडा नं. ५ को अध्यक्षमा एमालेले गणेश श्रेष्ठलाई उठाएको छ। श्रेष्ठ वडामा एमालेको संगठन निर्माण गर्नमा महŒवपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिमा पर्छन्। उनी २०५४ सालको स्थानीय निर्वाचनमा सोही वडामा सदस्य पदमा निर्वाचित भएका थिए। 'श्रेष्ठ पार्टीको नेतृत्वमा रहेर काम गरेको व्यक्ति हुनुहुन्छ। उहाँले मतदाताको माया पाउनेमा शंका छैन,' एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष राईले भने।

क्षेत्र नम्बर ६

वडा नं. २६

एमालेले काठमाडौं महानगरपालिका वडा नं. २६ को वडाध्यक्षमा देवेन्द्र रिमाललाई उम्मेदवार बनाएको छ। यहाँ कांग्रेससँग प्रतिस्पर्धा हुने अनुमान एमालेको छ। अघिल्लो स्थानीय निर्वाचनमा यो वडामा कांग्रेसका उम्मेदवार विजयी भएका थिए।

वडा नं. २७

काठमाडौं महानगरपालिकाको वडा नं. २७ मा एमालेले वडाध्यक्षमा चिनियाँमान बज्राचार्यलाई उठाएको छ। यो वडामा सहजै जितिने एमाले पूर्वानुमान छ। अघिल्लो स्थानीय निर्वाचनमा पनि यो वडामा एमाले उम्मेदवार विजयी भएका थिए। मतदाता संख्या थोरै भएको र जनमत बज्राचार्यका पक्षमा रहेकाले जित सुनिश्चित भएको एमाले दाबी छ।

वडा नं. २८

एमालेले काठमाडौं महानगरपालिका वडा नं. २८ को वडाध्यक्षमा मधुसूदन तण्डुकारलाई उम्मेदवार बनाएको छ। उनी एमाले जिल्ला कमिटी सदस्य हुन्। अघिल्लो स्थानीय निर्वाचनमा पराजित व्यक्तिलाई नै एमालेले यस वडामा उम्मेदवार बनाएको छ। यस वडामा खड्गी समुदायको बाहुल्य छ। कांग्रेसले काठमाडौं महानगरपालिकाको उपमेयर पदमा उठाएको उम्मेदवार हरिप्रभा खड्गी यही वडाकी हुन्। यस कारण खड्की समुदायको मत धेरै कांग्रेसमा जान सक्ने अनुमान एमालेको छ।

क्षेत्र नम्बर ७

वडा नं. १६

एमालेले काठमाडौं महानगरपालिका वडा नं. १६ को वडाध्यक्षमा विश्वराम सापकोटालाई उम्मेदवार बनाएको छ। यो वडामा एमाले उम्मेदवारले कुनै निर्वाचनमा पनि हार व्यहोर्नुपरेको छैन। अघिल्ला दुवै स्थानीय निर्वाचनमा एमालेका रामवीर मानन्धर वडाध्यक्षमा विजयी भएका थिए। 'यो वडामा जनमत हाम्रो पक्षमा छ। संगठनकै कारण यहाँ हामी जित्छौं,' एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष राईले भने।

वडा नं. १७

काठमाडौं महानगरपालिकाको वडा नं. १७ मा एमालेले वडाध्यक्षमा गोपाल मालीलाई उठाएको छ। यो वडालाई एमालेले आफ्नो स्थिति कमजोर भएको सूचीमा राखेको छ। २०४९ को स्थानीय निर्वाचनमा यहाँ कांग्रेसले जितेको थियो भने २०५४ सालको निर्वाचनमा एमाले उम्मेदवारले जितेका थिए।

वडा नं. १८

एमालेले काठमाडौं महानगरपालिका वडा नं. १८ को वडाध्यक्षमा न्हुच्छेकाजी महर्जनलाई उम्मेदवार बनाएको छ। उनी जिल्ला कमिटी सदस्य हुन्। यो वडामा सहज जित हात पर्ने एमाले बुझाइ छ। अघिल्ला दुवै स्थानीय निर्वाचनमा यो वडामा एमाले विजयी भएको थियो।

वडा नं. २५

काठमाडौं महानगरपालिकाको वडा नं. २५ मा एमालेले वडाध्यक्षमा बाबुराजा महर्जनलाई उठाएको छ। वडामा कांग्रेससँग कडा प्रतिस्पर्धा हुने एमाले आँकलन छ। पहिलाको वडा नं. २७ र २८ लाई गाभेर एउटै वडा २५ बनाइएको थियो। अघिल्लो स्थानीय निर्वाचनमा वडा नं. २६ मा एमालेका उम्मेदवार विजयी भएका थिए भने वडा नं. २८ मा कांग्रेस उम्मेदवार। उम्मेदवार महर्जन समुदायबीच लोकप्रिय रहेका कारण राम्रो मत प्राप्त हुने आशा एमालेको छ।

क्षेत्र नम्बर ८

वडा नं. १३

काठमाडौं महानगरपालिकाको वडा नं. १३ मा एमालेले वडाध्यक्षमा ध्रुवनारायण मानन्धरलाई उठाएको छ। यो वडामा सहज जित हात लाग्ने एमाले ठम्याइ छ। अघिल्ला दुवै स्थानीय निर्वाचनमा यो वडामा एमालेका उम्मेदवार विजयी भएका थिए। २०५४ को स्थानीय निर्वाचनमा मानन्धर नै वडाध्यक्ष निर्वाचित भएका थिए। 'मानन्धर जनतामा भिजेका व्यक्ति हुनुहुन्छ। उहाँको कार्यलाई स्थानीयले नजिकबाट नियालेका छन्। उहाँलाई दोस्रो पटक अवसर दिन जनता आतुर छन्,' जिल्ला कमिटी अध्यक्ष राईले भने।

वडा नं. १५

काठमाडौं महानगरपालिकाको वडा नं. १५ मा एमालेले वडाध्यक्षमा ईश्वरमान डंगोललाई उठाएको छ। उनी एमाले जिल्ला कमिटी सदस्य हुन्। यो वडामा सहज रूपमा जित्ने दाबी एमालेले गरेको छ। अघिल्लो स्थानीय निर्वाचनमा यहाँ एमाले उम्मेदवार विजयी भएका थिए।

वडा नं. १९

काठमाडौं महानगरपालिकाको वडा नं. १९ मा एमालेले वडाध्यक्षमा आनन्दबहादुर शाहीलाई उठाएको छ। यो वडामा पनि एमालेको अवस्था कमजोर छ। वडामा कांग्रेस बलियो रहेको बुझाइ एमालेको छ। एमाले उम्मेदवार राम्रो भए पनि संगठन मजबुत नहुँदा स्थिति सोचेजस्तो नभएको एमाले ठम्याइ छ।

वडा नं. २०

एमालेले काठमाडौं महानगरपालिका वडा नं. २० को वडाध्यक्षमा विजयकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाएको छ। श्रेष्ठ अघिल्लो स्थानीय निर्वाचनमा पनि सोही वडाबाट वडाध्यक्षमा विजयी भएका थिए। एमाले काठमाडौं जिल्ला कमिटि अध्यक्ष राईले भने, 'वडा नं. २० को एमाले उम्मेदवार जनताबीच लोकप्रिय हुनुहुन्छ। जनताको चाहना बुझेर नै पार्टीले उहाँलाई उम्मेदवार बनाएको हो।'

वडा नं. २३

काठमाडौं महानगरपालिकाको वडा नं. २३ मा एमालेले वडाध्यक्षमा मचाराजा महर्जनलाई उठाएको छ। यो वडामा कांग्रेससँग कडा प्रतिस्पर्धा हुने अनुमान एमालेको छ। एमाले उम्मेदवार सामाजिक अभियन्ताका रूपमा परिचित छन्। यो वडामा अघिल्लो निर्वाचनमा कांग्रेस उम्मेदवार विजयी भएका थिए।

वडा नं. २४

एमालेले काठमाडौं महानगरपालिका वडा नं. २४ को वडाध्यक्षमा बालकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाएको छ। उनी एमालेको क्षेत्रीय सदस्य हुन्। वडामा अघिल्लो निर्वाचनमा जितेका कारण यसपटक पुरानै नतिजा दोहोरिनेमा एमाले ढुक्क छ। वडामा बाहिरबाट आएर बसोबास गर्ने मानिस नभएका कारण निर्वाचन परिणाममा खासै हेरफेर नहुने बुझाइ एमालेको छ। अध्यक्ष राई भन्छन्, 'पहिला पनि जितेको ठाउँ हो, यसपटक पनि हामी जित्छौं।'

क्षेत्र नम्बर ९

वडा नं. १२

एमालेले काठमाडौं महानगरपालिका वडा नं. १२ को वडाध्यक्षमा विकास डंगोललाई उम्मेदवार बनाएको छ। उनी एमालेको युवा उम्मेदवारमध्येमा पर्छन्। यो वडामा कांग्रेससँग कडा प्रतिस्पर्धा हुने एमाले आँकलन छ। कडा प्रतिस्पर्धा भए पनि नतिजा आफ्नो पक्षमा आउने आस एमालेले गरेको छ।

वडा नं. १४

एमालेले काठमाडौं महानगरपालिका वडा नं. १४ को वडाध्यक्षमा शोभा सापकोटालाई उम्मेदवार बनाएको छ। उनी एमाले जिल्ला कमिटी सदस्य हुन्। यो वडामा कांग्रेससँग कडा प्रतिस्पर्धा हुने तर विजय प्राप्त हुने आस एमालेको छ। यहाँ अघिल्लो स्थानीय निर्वाचनमा एमाले उम्मेदवारले जितेका थिए। काठमाडौं महानगरपालिकामा वडाध्यक्षमा उठेकी सापकोटा एक मात्र महिला उम्मेदवार हुन्।

वडा नं. २१

काठमाडौं महानगरपालिकाको वडा नं. २१ मा एमालेले वडाध्यक्षमा उदय चूडामणि बज्राचार्यलाई उठाएको छ। यो वडामा आफ्ना उम्मेदवार सहजै विजय हुने आँकलन एमालेको छ। 'अघिल्ला सबै निर्वाचनमा यो वडाको जनमत एमालेको पक्षमा छ। हाम्रो संगठन पनि यहाँ सशक्त छ। एमाले उम्मेदवार समाजमा भिजेको व्यक्ति हुनुहुन्छ। यो वडामा एमालेले जित्ने अनगिन्ती कारण छन्,' एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष राईले भने।

वडा नं. २२

एमालेले काठमाडौं महानगरपालिका वडा नं. २२ को वडाध्यक्षमा चिनीकाजी महर्जनलाई उम्मेदवार बनाएको छ। उनी एमाले क्षेत्रीय कमिटी सचिव हुन्। एमालेले यहाँ पनि सहज जित पाउने आशा गरेको छ। अघिल्ला दुवै स्थानीय निर्वाचनमा यो वडामा एमाले उम्मेदवार विजयी बनेका थिए। पुरानो दुई वडा २२ र २४ लाई गाभेर अहिले एउटै २२ नम्बर वडा बनाइएको छ। अघिल्लो निर्वाचनमा पुरानो २४ नम्बर वडामा कांग्रेस उम्मेदवार विजयी भएका थिए भने २२ नम्बरमा एमाले।

प्रकाशित: २८ वैशाख २०७४ ०४:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App