१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

उम्मेदवारका छोराको हत्याले शोकमा डुब्यो जुँगु, त्रासमा स्थानीय

जुँगुमा माओवादी कार्यकर्ताले जलाइदिएको एमाले कार्यकर्ताको मोटरसाइकल। तस्विरः रमेश खतिवडा

जुँगु सदरमुकाम चरिकोटदेखि ५८ किलोमिट पूर्वको गाउँ हो। माओवादी नेता एवं पूर्व सांसद देवी खड्का, जिल्ला अध्यक्ष विशाल खड्का र पोलिट्ब्युरो सदस्य गंगा कार्कीको राजनीतिक पृष्ठभूमि यही गाउँसँग जोडिन्छ। जनयुद्ध कालमा सेनाले मारेका  ऋतबहादुर खड्काको यो गाउँलाई माओवादीले ‘शहीदको रगत सिञ्चेको’ भनेर टिप्पणी गर्ने गर्छ। कांग्रेस—एमालेले बुथ कब्जाको आरोप लगाए पनि संविधान सभाका दुवै निर्वाचनमा माओवादीले यो गाउँबाट बहुमत पाएको थियो।

राज्य पुनःसंरचना हुँदा जुँगु गौरीशंकर गाउँपालिकाको वडा नम्बर १ र २ मा पर्‍यो। यो गाउँपालिका माओवादी मात्र नभई एमालेका नेताहरुको राजनीतिक आधार क्षेत्र पनि हो। एमाले सांसद पार्वत गुरुङ यहीँका हुन्। माओवादीसँग जिल्लामा तालमेल गरेको कांग्रेसका दोलखा जिल्ला सभापति रुद्रबहादुर खड्का पनि यही गाउँपालिकाबासी हुन्। गाउँपालिकामा मर्ज भएका सात गाविसमध्ये अघिल्लो संविधानसभा निर्वाचनमा गौरीशंकर, खारे र झ्याकुमा कांग्रेसले सबैभन्दा बढी मत पाएको थियो। मार्बु, चंखु र सुरीमा एमाले पहिलो भएको थियो भने जुँगुमा माओवादीले सबैभन्दा बढी मत पाएको थियो।  

वैशाख ३१ गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि गौरीशंकर गाउँपालिका प्रमुखमा माओवादीका निमा लामा उम्मेदवार तोकेको छ। उपप्रमुखमा कांग्रेसका कमल विक्रम खड्का उम्मेदवार छन्। एमाले एक्लै चुनाबमा होमियो। एमालेभित्र जिल्लाभरिका स्थानीय तह उम्मेदवारमा चर्को विवाद देखिए पनि यो गाउँपालिकाबाट सर्वसम्मत उम्मेदवारी चयन भएको थियो।

माओवादीसँग झडप हुँदा मारिएका कुलबहादुर तामाङ, ३३ यसअघि वाइसिएलका कार्यकता थिए। चैत २५ गते उनी एमाले प्रवेश गरेका थिए। कुलबहादुरका पिता गोरे तामाङलाई एमालेले वडा सदस्यको उम्मेदवार बनाएपछि उनी बुवाको चुनाबी अभियानमा होमिएका थिए।

अप्रत्यासित घटनापटि जुँगु गाउँ शोकमा छ। गाउँलेहरु त्रसित छन्। चुनाब हुन्छ कि हुँदैन भन्ने संशय छ। मृतक कुलबहादुरको परिवार रेशम डाँडामा बसिरहेका छन्।

मंगलबार राति भएको घटनाको पृष्ठभूमि केलाउँदा सोमबारको एमाले सभासम्लाई समेत बिर्सन हुँदैन। सोमबार एमालेले केन्द्रीय नेताहरुको उपस्थितिमा जुँगुमा चुनाबी सभा गरेको थियो। सभामा एमाले सांसद सांसद गुरुङ, आनन्द पोखरेलले सम्बोधन गरे। सभालाई सम्बोधन गर्दै सांसद गुरुङले माओवादीको दादागिरी तोड्ने र बुथ कब्जा हुन नदिन चुनाबको दिन हेलिकोप्टर लिएर आउने बताएका थिए।

एमाले नेताको चेतावनीले माओवादी कार्यकर्ता आक्रोशित थिए। उनीहरु ‘यो ऋतबहादुर खड्काको रगत बगेको ठाउँ हो, यसमा एमालेलाई जवाफ दिन्छौं’, भन्दै हिँड्न थालेका थिए।

दुवै दलले आफ्नो प्रतिष्ठासँग जोडेर चुनाबी अभियान चलाइरहेका बेला मंगलबार रेशम डाँडास्थित लक्ष्मण जिरेलको होटलमा जुँगु हुप्पा गाउँबाट कुलबहादुरसहित मोटरसाइकलमा झरेका थिए। उनीहरुले खाना अर्डर गरे। जिरेल होटल निलकण्ठेश्वर उच्च मावि जुँगुको सडक छेउमै पर्छ। उनीहरुले मोटरसाइकल होटल अगाडिको बाटोमा राखेर खान खाइरहेका थिए। त्यही बेला कसेरीतिरबाट एक हुल माओवादी कार्यकर्ता मिनीट्रक चढेर होटल हुँदै उकालो लाग्न आइपुग्यो। उनीहरु वडा नम्बर १ का माओवादीका अध्यक्ष उम्मेदवार बसन्त कार्कीको घरतर्फ जाँदै थिए। त्यहाँ माओवादी केन्द्रकी पूर्व सांसद देवी खड्का बसेकी थिइन्। मोटरसाइकलले राखेका कारण मिनी ट्रक अघि बढ्न सकेन। बाटो नपुगेपछि माओवादी कार्यकर्ताले मोटरसाइकल हटाउन आग्रह गरे। लक्ष्मणको होटलमा खाना खाइरहेका कुलबहादुर तामाङ लगायत सडकमा आए। दुवै पक्षबीच भनाभन भयो। सामान्य विषयले विवादको रुप लियो, झडपको रुप लियो।

घटना भएको थाहा पाउना साथ माओवादी केन्द्रका २ नम्बर वडाका अध्यक्ष उम्मेदवार भरत खड्काले एमाले निकट शिक्षक दिलबहादुर बुढाथोकीलाई फोन सम्पर्क गरे। तपाइँका कार्यकर्ताले हाम्रा कार्यकर्तामाथि आक्रमण गरिरहेका छन्। बियरको बोतलले हानिरहेका छन् सम्झाइदिनोस् भने। अन्यथा स्थिति असामान्य होला जस्तो छ हामी जिम्मा लिन सक्दैनौं भन्ने सूचना दिए। घटनाको जानकारी पाएका दिलबहादुर बुढाथोकी आफ्ना ज्वाइँ छत्र कार्कीसँगै झडपस्थलतर्फ उकालो लागे। उनीहरु घटनास्थल पुग्दासम्म दुवै पक्ष भिडिरहेका थिए। एमाले कार्यकर्ताले फायरिङ भएको दाबी गरेका छन्।

निलकण्ठेश्वर उच्च मावि नजिक पुगेका बुढाथोकीलाई पनि माओवादी कार्यकर्ताले आक्रमण गरे। राति ११ बजे इलाका प्रहरी कार्यालय मैनापोखरीबाट प्रहरी निरीक्षक नवराज न्यौपाने नेतृत्वको प्रहरी टोली घटनास्थल आइपुग्यो। त्यहीँबाट एमाले कार्यकर्ता र प्रहरी टोलीले दिलबहादुर बुढाथोकीलाई बेहोस अवस्थामा उद्धार गर्‍यो। उनको शरीर रक्ताम्य थियो। कुलबहादुर तामाङको खोजी भयो। बुढाथोकी बेहोस भएको नजिकै उनी भेटिए। उनको पनि शरीर रगतमा लतपतिएको अवस्थामा थियो। घाइतेहरुलाई प्रहरी टोलीले सदरमुकाम पर्‍यायो। चरिकोट अस्पताल भर्ना गरिएका कुलबहादुरको उपचारको क्रममा मृत्यु भयो। बुढाथोकीको अवस्था गम्भीर भएपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ।

अप्रत्यासित घटनापटि जुँगु गाउँ शोकमा छ। अब के हुने हो भनेर गाउँलेहरु त्रसित छन्। चुनाब हुन्छ कि हुँदैन भन्ने संशय छ। मृतक कुलबहादुरको परिवार रेशम डाँडामा बसिरहेका छन्।

(नागरिकन्युजकर्मी खतिवडाले घटनास्थल पुगेर पठाएको सामग्री)

प्रकाशित: २७ वैशाख २०७४ १०:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App