१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमाले - माओवादी कार्यकर्ताबीच झडप, उम्मेद्वारको छोराको मृत्यु

दोलखा – जिल्लाको गौरीशंकर गाउँपालिका २ स्थित जुँगुमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच गएरा ती झडप हुँदा एक एमाले कार्यकर्ताको ज्यान गएको छ। 

मंगलबार राती ९ बजेदेखि लगातार चलेको झडपमा गम्भीर घाइते भएका एमाले कार्यकर्ता कुलबहादुर तमाङको सदरमुकाम चरिकोट स्थित चरिकोट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनी एमालेको वडा सदस्य उम्मेद्वार गोरे तमाङका छोरा हुन्। 

‘फायरिङ गर्दै लखेटी लखेटी कार्यकर्तामाथी कुटपिट गरेर हत्या गरियो’ एमाले सांसद


घटनामा परी एमाले निकट शिक्षक दिलबहादुर बुढाथोकी र माओवादी केन्द्रका वडाध्यक्ष उम्मेद्वार भरत कार्की गम्भीर घाइते भएका छन् । बुढाथोकीलाई सदरमुकाम चरिकोटमा उपचार हुन नसकेपछि थप उपचारका लागी राजधानी लगिएको स्थानीय प्रशासनले बताएको छ । माओवादी केन्द्रका उम्मेद्वार भरतको ढाडका शरिरका पछाडीका भागहरूमा गम्भीर चोट लागेको छ । अन्य केही सामन्य घाइते छन् । 

यसरी भयो झडप
मंगलबार राती पूर्व राज्यमन्त्री एवं माओवादी केन्द्रकी नेतृ देवी खड्का सहित जुँगु १ का वडाध्यक्ष उम्मेदवार भरत कार्की लगायत नेता कार्यकर्ता जुँगुकै चेत्पु, राजपु, दार्खा लगायतका टोलहरूमा घरदैलो सकेर जुँगु २ स्थित खड्काको कसेरीमा रहेको घर फर्कदै थिए । स्थानीयहरूका अनुसार दुवारी भन्ने ठाउँमा पुगेपछि माओवादी केन्द्रको टोली माथी एमाले निकट युवाहरुको टोलीले अवरोध गर्दै आक्रमण गर्यो ।

‘मलाई लक्षित गरेर हामी माथी ढुङ्गामुढा र बियरको बोतल हान्न थालियो, सम्झाउने पटक पटक प्रयास गरे, संयम्ता अपनाउन आग्रह गरे’ माओवादी केन्द्रकी नेतृ खड्काले टेलिफोनमा नागरिकन्युज सँग भनिन् – ‘नमानेपछि हाम्रा साथीहरू प्रतिकारमा उत्रिनुभयो, त्यसपछि लगातार झडप चलिरह्यो’ । देवीले घटनाबा बारे जानकारी दिदै भनिन् – ‘त्यसपछि मलाई साथीहरुले सुरक्षित स्थलतर्फ लिएर जानु भयो, त्यसपछिका घटनाक्रम बारे जानकार छैन’ ।

स्थानीयले टेलिफोनमा दिएको जानकारी अनुसार दुवारीको उक्त झडपपछि माओवादी केन्द्रका कार्यकर्ताहरु एक घरमा पसेर एमालेका सदस्य उम्मेदवार गोरे तमाङका छोरा कुलबहादुर तमाङ र शिक्षक दिलबहादुर बुढाथोकी बसिरहेको घरमा घरमा आक्रमण गरेका थिए । त्यहाँ समेत दुई पक्षबिच झडप भएको थियो । माओवादी कार्यकर्ताको आक्रमणबाट तमाङ र बुढाथोकी गम्भीर घाइते भएका छन् । 

लगतै प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहारो र जिल्ला प्रहरी प्रमुख डिएसपी रविन कार्कीले मैनापोखरीमा रहेका प्रहरी निरीक्षक नवराज न्यौपानेको कमाण्डको टोलीलाई घटनास्थलमा खटाए र उक्त टोलीले तमाङ र बुढाथोकीलाई राती नै उद्धार गरी सदरमुकाम ल्याएको थियो । 

प्रजिअ बोहोराले राती नै उपचारका क्रममा तामाङको मृत्यु भएको पुष्टी गरे । ‘अर्का घाइतेलाई राती नै थप उपचारका लागि काठमाडौँ पठाएका छौं’ बोहोराले भने, ‘घटना बारे विस्तृत अनुसन्धान गर्दैछौं’ । प्रहरी प्रमुख कार्की आफैँ घटनास्थलमा पुगेका छन् । 

फायरिङ गर्दै लखेटी लखेटी कार्यकर्तामाथी कुटपिट गरेर हत्या गरियो : एमाले सांसद
एमाले क्षेत्र नम्बर १ का सांसद एवं केन्द्रीय सदस्य पार्वत गुरुङले चुनावी प्रचार सकेर एउटा घरमा प्रचार समितिको बैठक बसिरहेको बेलामा घेरा हालेर आफ्ना कार्यकर्ताको हत्या गरेको आरोप लगाएका छन् । 

गुरुङले नागरिकन्युज संग माओवादीले फायरिङ गर्दै मृतक तामाङलाई लखेटी लखेटी धारिलो हतियार प्रहार गरेर हत्या गरेको बताए । ‘एउटा घरमा प्रचार समितिको बैठक बसिरहेको बेला चारैतिरबाट घेरा हालेर आक्रमण गर्दै हाम्रा सदस्य उम्मेद्वारका छोरालाई लखेटी लखेटी आक्रमण गरी धारिलो हतियार प्रहार गरेपछि उपचारका लागि सदरमुकाम ल्याउँदा ल्याउँदै बाटोमै निधन हुन पुगेको छ’ उनले भने, ‘यस्तै हाम्रा शिक्षक दिलबहादुर बुढाथोकीलाई घरमै पुगेर आक्रमण गरिएको छ’ । उनले दोलखा एमालेले घटनाको भत्सर्ना गर्ने बताए । माओवादीले आतंककारी गतिविधि गरिरहेको भन्दै घटना प्रति निन्दा समेत गरे । गुरुङले हत्यारालाई कारवाहीको समेत माग गरे । 

प्रकाशित: २७ वैशाख २०७४ ०३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App