१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

चुनाव प्रचारमा पुरानै शैली

काठमाडौं – २० वर्षपछि हुन लागेको स्थानीय चुनावमा प्रमुख पार्टीका उम्मेदवार पुरानै शैलीमा चुनाव प्रचारप्रसारमा खटिएका छन् ।

विगतका संसदीय र संविधानसभाको निर्वाचनमा जुन शैलीमा दलले भोट माग्दै आएका थिए त्यही रुपमा स्थानीय निर्वाचनमा पनि उम्मेदवारले भोट माग्ने गरेको देखिन्छ । गाउँस्तरमा भन्दा फरक र योजनामा आधारित प्रचार हुनुपर्ने काठमाडौंका नगरपालिकामा पनि उम्मेदवारले परम्परागत शैली त्याग्न सकेका छैनन् । आधुनिक सहरमा रुपान्तरित हुँदै गइरहेका काठमाडौंका गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकामा पनि स्थलगत अनुगमनका क्रममा यही देखियो । 

दलहरुले आफ्ना भावी योजना सुनाउनेभन्दा पनि घरदैलोमा पुगेर आफूलाई परिचित गराउने र सहयोग गर्न प¥यो भन्ने शैली अपनाएका छन् । प्रमुख पार्टीका उम्मेदवारले सामाजिक सञ्जाललाई उपयोग गर्न खोजे पनि सोचेजति सफल भएको देखिँदैन । औपचारिकता पूरा गर्न र अन्य प्रतिस्पर्धीभन्दा कम नदेखाउन मात्र उनीहरुले सामाजिक सञ्जाल प्रयोग गरेको देखिन्छ । 

गोकर्णेश्वरमा घरदैलोमै पुग्न उम्मेदवार व्यस्त 
स्थानीय तहको निर्वाचन आउन चार दिन बाँकी छ । २० वर्षपछि हुन लागेको निर्वाचनमा प्रचारप्रसार गर्न उम्मेदवार दौडाहामा व्यस्त छन् । स्थानीय तहको पुनःसंरचनापछि निर्माण भएको स्थानीय तहको क्षेत्रफल धेरै भएकाले उम्मेदवार रातदिन नभनी प्रचार अभियानमा लागेका छन् ।

काठमाडौं जिल्लाका नगरपालिकामा पनि चुनावको प्रचार अभियान तीव्र गतिमा भइरहेको छ । प्रचारका लागि उम्मेदवारले हरेक वडाका मतदाताको घरसम्म पुग्ने अभियान सुरु गरेका छन् । 

राजधानीसँगै जोडिएको गोकर्णेश्वर नगरपालिकामा पनि चुनावी अभियानमा प्रमुख पार्टीका उम्मेदवार रातदिन खटिरहेका छन् । उम्मेदवारले चुनाव प्रचारका लागि घरदैलो, मोटरसाइकल र्याली, जुलुस, बाजागाजासहितको झाँकी र कोण सभा गरिरहेका छन् । 

चुनाव प्रचार अभियानका लागि उम्मेदवारले दैनिक कार्यतालिकासमेत बनाएका छन् । उनीहरुले रहेक दिन एउटा वडामा घरदैलो गर्ने र बाँकी समयमा चोकचोकमा भेला गर्ने योजनाअनुसार प्रचार गरिरहेका छन् । 

नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार सन्तोष चालिसेले घरदैलो अभियान नै मुख्य कार्यक्रम भएको बताए । स्थानीय तह पुनः संरचनापछि पहिलेका गाविस अहिलेको वडामा रुपमा रहेको र केही वडा परिवर्तनसमेत भएकाले घरदैलो नै लक्षित गरी प्रचारको कार्य  गरिरहेको बताए । २० वर्षपछि स्थानीय निर्वाचन भएको र कतिपय क्षेत्रमा नयाँ मतदाता समेत भएकाले घरदैलोमै आफूले जोड दिएको उनले बताए । ‘हुन त यो परम्परागत शैली हो तर पनि यसै गर्नु नै अहिलेको बाध्यता हो’, चालिसेले भने, ‘अन्य उम्मेदवार मतदाताको घरमा पुगे र म नपुग्दा के होला भन्ने प्रतिस्पर्धाकै कारण यसले निरन्तरता पाएको हुनुपर्छ ।’

‘मतदाताको घरमै गएर आफ्ना योजना भन्ने र त्यसलाई कार्यान्वयन गर्ने खाका देखाउने मौका पनि हो’, चालिसेले थपे, ‘मतदाताले योजना सुनेपछि सही व्यक्ति हेरेर मत हाल्न सक्छन् ।’ 

नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र अन्य पार्टीका उम्मेदवारले पनि यही शैलीमा घरदैलो कार्यक्रम गरिरहेका छन् । एमालेका मेयर  उम्मेदवार पुण्यप्रसाद चौलागाईंले पनि पहिलो चरणमा घरदैलो अभियान नै सञ्चालन गरिरहेको बताए । ‘पहिला त मतदाताले को र कस्तो योजना भएको व्यक्ति उठेको छ भन्ने चिन्नु पर्छ’, चौलागाईंले भने, ‘अनि मात्र मतदान गर्न र अजेन्डाको बारेमा बुझाउन सकिने भएकाले घरदैलोलाई निरन्तरता दिइएको हो ।’ 

एमालेको प्रचार शैली घरदैलोमात्र नभएको पनि उनले बताए । सहरी क्षेत्रका प्रत्येक घरमा आफ्नो योजना विवरण पनि वितरण गरिरहेको चौलागाईंले बताए । ‘पहिलो चरणमा  प्रचार अभियान मात्र घर दैलो हो’, चौलागाईंले भने, ‘अब हामी त्यसलाई अन्त्य गर्दै जुलुस र भेलामार्फत नै अजेन्डा वितरणमा प्रवेश गर्नेछौं ।’ 

माओवादी केन्द्रका मेयर उम्मेदवार टिआर घिमिरेले पनि आफू घरदैलो अभियानमै व्यस्त रहेको बताए । दिनमा दुईदेखि चार वडासम्मको घरदैलो अभियानमा आफू सक्रिय रहेको घिमिरेले बताए । ‘हामी आफ्नो पार्टीको अजेन्डा लिएर सर्वप्रथम घरघर हिँडेका थियौं’, घिमिरेले भने, ‘पछि अरुले पनि त्यही शैली अपनाए ।’ अब आफूहरु फरक शैलीको प्रचारमा लाग्ने उनले बताए । वडावडामा कोणसभा र भेला गर्ने प्रचार शैलीमा जाने उनले बताए ।

राप्रपाका मेयर पदका उम्मेदवार श्याम श्रेष्ठले पनि मंगलबारसम्म घरदैलो अभियान नै सञ्चालन गरेका छन् ।  पहिलो चरणमा मतदातासँग परिचय गर्ने कार्यक्रम सञ्चालन भइरहेको र दोस्रो चरणमा अलि फरक शैली आफूले अपनाउने श्रेष्ठले बताए । ‘सबैको घरमा नपुगे अन्य उम्मेदवारभन्दा पछि परिने भएकाले पनि बाध्य भएर घरदैलोमा पुग्ने प्रतिस्पर्धामा सहभागी भएको हुँ’, श्रेष्ठले भने, ‘व्यक्तिगत रुपमा म त योजनामाथि बहस भएर भोट हाल्नुपर्ने पक्षमा छु ।’

दलले बिहे, व्रतबन्धजस्ता अवसरलाई पनि प्रचारका लागि उपयोग गरेका छन् । विवाहलगायतका कार्यक्रममा अनिवार्य उपस्थित हुनुपर्ने उनीहरुको भनाइ छ । चुनाव लागेको समयमा बोलाउँदा उम्मेदवार नआए मतदाता रिसाउने भएकाले यस्ता कार्यक्रममा अन्य कार्यक्रम छोडेर समेत आफूहरु पुग्ने गरेको उनीहरुले बताए ।

 

प्रकाशित: २७ वैशाख २०७४ ०१:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App