१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रतिस्पर्धी पहिल्याउँदै दल

काठमाडौं – नेपाली कांग्रेसले काठमाडौंका सबै नगरपालिकामा एमालेसँग मुख्य प्रतिस्पर्धा रहेको विश्लेषण गरेको छ । केही स्थानमा भने माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलसँग पनि प्रतिस्पर्धा हुने कांग्रेसको विश्लेषण छ । 

कांग्रेसले संविधानसभाको दोस्रो निर्वाचनमा जस्तै परिणाम आफ्नो पक्षमा आउने दाबी गरेको छ । काठमाडौंका १० नगरपालिकामा निर्वाचनको परिणाम आफ्नो पक्षमा आउने दाबी कांग्रेसको छ । 
काठमाडौंमा चन्द्रागिरि, कीर्तिपुर, कागेश्वरी मनोहरा, बूढानीलकण्ठ, टोखा, गोकर्णेश्वर, नागार्जुन, दक्षिणकाली, तारकेश्वर र शंखरापुर नगरपालिका छन् । पार्टी संगठन र क्षेत्रगत सन्तुलनका आधारमा उम्मेदवार चयनका साथै संविधानसभाको दोस्रो निर्वाचनमा पार्टीबाट निर्वाचित सांसदले विकास निर्माणमा गरेको योगदानलाई चुनाव जित्ने मुख्य आधारका रुपमा कांग्रेसले लिएको छ । 

टोखा
२८ हजार १ सय ७४ मतदाता रहेको टोखा नगरपालिकामा कांग्रेसले प्रमुख, उपप्रमुखसहित बहुमत वडाध्यक्षमा जित हुने दाबी गरेको छ । आफ्नो मतलाई सुरक्षित गर्दै कांग्रेस थप मतदाता आकर्षित गरी परिणाम आफ्नो पक्षमा निकाल्ने रणनीतिमा छ । एमाले, माओवादीसहित अन्य दलको उपस्थीति पनि राम्रै रहेको यस नगरपालिकामा साना दलको भूमिका नतिजाका लागि निर्णायक हुनसक्ने विश्लेषण पनि गरिएको छ । यहाँ एमालेलाई मुख्य प्रतिस्पर्धीका रुपमा कांग्रेसले लिएको छ । 

काठमाडौं–६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्कीले टोखामा व्यवस्थापनमात्रै राम्रोसँग भए पार्टीले चुनाव जित्ने दाबी गरे । ‘हामी समग्रमा अघि छौं । म्यानेजमेन्ट राम्रोसँग गर्नु जरुरी छ,’ उनले भने ।

कांग्रेसले १, ८, ११ वडामा जित निश्चित भएको दाबी गरेको छ  । त्यस्तै ३ र १० मा प्रतिस्पर्धा रहेको विश्लेषण गरेको कांग्रेसले ९ मा युवालाई अघि सारेकाले अवस्था सुदृढ भएको दाबी गरेको छ । ९ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने कांग्रेस आकलन छ ।

त्यस्तै, ७ नं. वडामा एमालेसँग प्रतिस्पर्धा रहेको र अन्य वडामा पार्टीले जित्ने कांग्रेस दाबी छ । २ र ४ मा आफू बलियो भएको कांग्रेसको विश्लेषण छ । ५ नम्बर एमालेको बलियो क्षेत्र भए पनि श्री समाजका अध्यक्षलाई उम्मेदवार बनाएकाले जित्ने विश्लेषण कांग्रेसको छ । 

वडा नम्बर ३ एमालेले जित्दै आएको ठाउँ हो भने वडा नम्बर ७ पनि एमाले बलियो इलाका हो  । एमालेले पुराना गाविस अध्यक्षलाई नै उम्मेदवार बनाएको छ । ‘कांग्रेसबाट पनि काम गरेको पुराना नेता नै उम्मेदवार बनेका छन्,’ एक नेताले भने, ‘एमालेको त्यहाँ बलियो उम्मेदवार भएकाले के हुन्छ भन्न सकिन्न ।’
  
तारकेश्वर
यहाँ एमाले मुख्य प्रतिस्पर्धी रहेको विश्लेषणसहित कांग्रेस आफ्नो जित सुनिश्चित गर्न सक्रिय छ  । एमालेभन्दा आपूm अघि  रहेको दाबी कांग्रेसले गरे पनि ढुक्क हुने अवस्था नरहेको स्वयं कांग्रेस नेता बताउँछन् । 

वडा नम्बर १ मा पार्टी उम्मेदवारले जित्ने विश्लेषण गरेको कांग्रेसले २ मा एमालेसँग प्रतिस्पर्धा रहेको जनाएको छ । निर्वाचनको मिति नजिकँदै गर्दा माओवादी केन्द्र पनि सक्रिय भएकाले त्रिपक्षीय प्रतिस्पर्धा हुने आकलन छ । वडा नम्बर ६ मा जित्ने दाबी कांग्रेसको छ । वडा नम्बर ७ कांग्रेसको प्रभाव क्षेत्र भएको दाबी गर्दै कांग्रेसका एक नेताले भने, ‘एमालेले दुईपटक गाविस अध्यक्ष भएकालाई उम्मेदवार बनाएको छ । हाम्रोबाट बागी उम्मेदवारी परेकाले अप्ठेरो हुन सक्छ ।’

वडा नम्बर ८ र १० मा पनि अघि भएको दाबी गर्ने कांग्रेसले ९ मा नेपाल मजदुर किसान पार्टी र एमालेसँग त्रिपक्षीय प्रतिस्पर्धा हुने विश्लेषण गरेको छ । 

क्षेत्रीय सभापति श्यामकृष्ण खड्कीले तारकेश्वर नगरपालिकामा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा रहेको बताए । ‘जित सुनिश्चित गर्न हामी मेहनत गरिरहेका छौं,’ उनले भने । तारकेश्वरका ३, ४ र ५ वडामा एमालेसँग प्रतिस्पर्धा रहेको कांग्रेस दाबी छ ।

नागार्जुन
नागार्जुन नगरपालिकामा करिब २६ हजार मतदाता छन् । कांग्रेसले बहुमत वडासहित मुख्य पद जित्ने दाबी गरेको छ । एमालेलाई मुख्य प्रतिस्पर्धीका रुपमा औंल्याएको कांग्रेसले केही वडामा माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग पनि प्रतिस्पर्धा हुने जनाएको छ । २, ४, ५, ६, ९, र १० वडामा जित निश्चित भएको कांग्रेस दाबी छ । पार्टीले जित्ने आधार संविधानसभामा जितेको, विकास निर्माणको काम गरेको र पुरानो ऐतिहासिक पार्टी भएको विश्लेषण छ । 

वडा नं. ३ र १ मा तीव्र प्रतिस्पर्धा हुने आन्तरिक मूल्यांकन छ । वडा नम्बर ४ र ५ मा पार्टीले जित्ने क्षेत्रीय सभापति जुद्धबहादुर बज्राचार्यले दाबी गरे । वडा नम्बर ४ मा एमाले र ५ मा राप्रपा निकटतम प्रतिस्पर्धी हुने विश्लेषण सुनाउँदै उनले भने, ‘हाम्रो उम्मेदवार पनि राम्रो छ । संगठन पनि राम्रो भएपछि चुनाव नजित्ने कुरै छैन ।’ 
 
अर्का क्षेत्रीय सभापति जयकृष्ण महर्जनले पार्टी संगठन, विकास निर्माणमा निरन्तर सक्रियता नै पार्टी उम्मेदवार जित्ने प्रमुख आधार भएको दाबी गरे । ‘पार्टी संगठन हाम्रो मूल आधार हो,’ उनले भने, ‘जनताका दुःख, सुख र विकासका काममा पार्टी निरन्तर सक्रिय छ । समग्रमा कांग्रेसको अवस्था राम्रो छ । हामी चुनाव जित्छौं ।’

दक्षिणकाली
दक्षिणकाली नगरपालिकामा नौ वडा छन् । अपवादबाहेक सबै वडामा एमालेसँग प्रतिस्पर्धा हुने कांग्रेस विश्लेषण छ । पहिलो संविधानसभापछि संगठनमा आमूल सुधार गरेको दाबी गर्दै आएको कांग्रेसले नगरपालिका मेयर र उपमेयरसहित बहुमत वडाध्यक्ष जित्ने दाबी गरेको छ । कांग्रेसले वडा नम्बर ९, २ र ३ मा पार्टी उम्मेदवारले जित्ने दाबी गरेको छ । वडा नम्बर १ र ८ मा माओवादीसँग प्रतिस्पर्धा हुने, ४, ५ र ७ मा एमालेसँग प्रतिस्पर्धा हुने आन्तरिक मूल्यांकन छ । ६ मा पार्टीको अवस्था राम्रो रहेको कांगे्रसको विश्लेषण छ ।   

चन्द्रागिरी
चन्द्रागिरी नगरपालिकामा कांग्रेसले एमाले, माओवादीसहितका दललाई प्रतिस्पर्धी ठानेको छ । कांग्रेसले यहाँ एमालेको जनधार राम्रो भएको तर प्रतिस्पर्धामा एमालेभन्दा आफू अघि रहेको दाबीसहित आधाभन्दा बढी वडामा जित निश्चित भएको दाबी गरेको छ । वडा नम्बर १ मा कांग्रेसले नयाँ अनुहारलाई वडाध्यक्षमा अघि सारेको छ । एमाले पकड क्षेत्रका रुपमा हेरिएको दहचोकमा पार्टी सांगठन मजबुत बनेकाले जित्ने सम्भावना बढेको उनीहरुको विश्लेषण छ । 

त्यस्तै, कांग्रेस वलियो रहेको वडा नम्बर १२ मा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी तथा नेकपा माओवादी केन्द्र र नेपाल मजदुर किसान पार्टीले छुट्टाछुट्टै गठबन्धन गरेका छन् । तर, पनि आफ्ना उम्मेदवारले जित्ने कांग्रेस विश्लेषण छ । १३ नम्बर वडामा एमालेसँग तीव्र प्रतिस्पर्धा रहेको विश्लेषण गर्दै पछिल्लो पाँच वर्षदेखि निरन्तर सामाजिक काममा सक्रिय व्यक्तिलाई उम्मेदवार बनाएकाले परिणाम आफ्नो पक्षमा पर्ने उनीहरुको विश्लेषण छ । नयाँ नैकाप रहेको १४ नम्बर वडामा पार्टीले कुल मतको ५० प्रतिशतभन्दा बढी ल्याउने गरेको दाबी गर्दै स्थानीय चुनावमा त्योभन्दा बढि मत पाउने दाबी छ । १५ नम्बर वडा रहेको तीन थाना कांग्रेसको संगठन कमजोर भएको स्थान हो ।

युवालाई उम्मेदवार बनाउँदा पार्टी नेता तथा कार्यकर्तामा उत्साह ल्याएको दाबी गर्दै काठमाडौं–९का क्षेत्रीय सभापति जयकृष्ण महर्जनले भने, ‘कांग्रेसको पक्षमा माहोल पनि आएको छ ।’

त्यस्तै, सतुंगलको दुई वडामध्ये एक, थानकोटको दुवै वडा, महादेवस्थानका दुवै वडा कांग्रेसले जित्ने दाबी गरेको छ । बाडभन्ज्याङ र मच्छेगाउँमा पार्टी संगठन कमजोर रहेको कांग्रेस नेताहरुले स्वीकार गर्दै मातातीर्थमा भने प्रतिस्पर्धामा रहेको आकलन गरेका छन् ।

कीर्तिपुर
कीर्तिपुर नगरपालिकामा कांग्रेसले एमालेपछि  माओवादीलाई प्रतिस्पर्र्धीका रुपमा लिएको छ । १, २, ५ र ९ नम्बर वडामा जित निश्चित रहेको दाबी गर्दै कांग्रेस नेताहरुले ४ नम्बरमा उम्मेदवारी छनोट नमिल्दा आन्तरिक विवादले कमजोर देखिएको बताए । वडा नम्बर ३ मा माओवादी केन्द्रसँग प्रतिस्पर्धा रहेको कांग्रेसको विश्लेषण छ । ६ नम्बर वडामा वागी उम्मेदवार भएकाले समस्या छ । यहाँ विवादलाई मत्थर गरेर जानसके जित्न सकिने विश्लेषण गरेको कांग्रेसले ७ मा एमाले र माओवादीसँग त्रिपक्षीय प्रतिस्पर्धा हुने आकलन गरेको छ । एमालेका पुरानो नेता वडा नम्बर ८ मा समाजवादी पार्टीबाट उम्मेदवार बनेकाले त्यसको फाइदा उठाउने रणनीतिमा कांग्रेस छ ।

१० नम्बर वडामा माओवादी बलियो रहेको कांग्रेसको विश्लेषण छ । तर, क्षेत्रीय सभापति पुरका महर्जनले केही भूभागमा पार्टीको अवस्था मजबुत रहेको दाबी गरे । ‘एमाले र माओवादी मुख्य प्रतिस्पर्धी भए पनि हामी कमजोर छैनौें,’उनले भने, ‘परिणाम हाम्रो पक्षमा आउँछ ।’

बूढानीलकण्ठ
यहाँ बहुमत वडासहित मेयर, उपमेयर जित्ने कांग्रेस अड्कल छ । उसले एमालेलाई नै निकटतम प्रतिस्पर्धी ठानेको छ । वडा ४, ६ र ७ मा जित निश्चित रहेको, ३ र ५मा भने मेहनत गर्नुपर्ने कांग्रेस विश्लेषण छ । 

त्यस्तै १, २, ८, ९, १० र १३ मा जित्ने र ११ र १२ मा एमालेसँग प्रतिस्पर्धा हुने कांग्रेसको दाबी छ । वडा नं. २ मा पार्टीभित्रको उम्मेदवार नमिल्दा केही कमजोर बनेको एक नेताले सुनाए । ‘जित्ने ठाउँमा पनि उम्मेदवारी नमिल्दा केही समस्या देखिएको छ,’ ती नेताले भने, ‘तर पनि समग्रमा राम्रो छ ।’ 

शंखरापुर
शंखरापुर नगरापालिकामा कांग्रेसले साँखुभन्दा बाहिरबाट उम्मेदवार दिँदा असन्तुष्टि देखिएको छ । त्यहाँ एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग त्रिपक्षीय प्रतिस्पर्धा हुने कांग्रेस विश्लेषण छ ।

गोकर्णेश्वर
गोकर्णेश्वरमा एमालेभित्रको आन्तरिक विवादको फाइदा उठाउँदै कांग्रेस चुनावी परिणाम आफ्नो पक्षमा पार्ने तयारीमा छ । कांग्रेसले पार्टी क्षेत्रीय सभापतिसमेत रहेका पूर्व गाविस उपाध्यक्ष सन्तोष चालिसेलाई अघि सारेको छ । एमालेले बलियो प्रत्याशी ठानिएका गोपाल बराललाई उम्मेदवार नबनाएपछि एमालेभित्र विवाद रहेको उनीहरुको विश्लेषण छ । तर,पनि एमाले नै मुख्य प्रतिस्पर्धी रहेको कांग्रेसले जनाएको छ ।

कागेश्वरी मनोहरा
यस नगरपालिकामा कांग्रेसले काठमाडौं क्षेत्र नं. २ का सभापति उपेन्द्र कार्कीलाई मेयरको उम्मेदवार बनाएको छ । एमालेको राम्रो जनाधार भएको नगरपालिका भए पनि कार्की समाजिक काममा निकै सक्रिय रहेकाले राम्रै प्रतिस्पर्धा हुने कांग्रेसको विश्लेषण छ । ‘कांग्रेस र एमालेबीच प्रतिस्पर्धा राम्रो छ,’ कांग्रेस एक नेताले भने, ‘यसले नै चुनाव जित्छ भन्ने अवस्था छैन । दुवै बलिया उम्मेदवार हुन् ।’

प्रकाशित: २७ वैशाख २०७४ ०१:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App