१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लमजुङमा मतदान केन्द्रमा १२ सय कर्मचारी खटाईए

लमजुङ- स्थानीयतह निर्वाचनका लागि तय गरिएका मतदान केन्द्रमा झण्डै १२ सय कर्मचारी खटाईएको छ।

जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिका भरिका कूल १ सय ५५ मतदान केन्द्रका लागि १ मतदान अधिकृत, १ सहायक मतदान अधिकृत, २ सहायक कर्मचारी र २ सहयोगी कर्मचारी गरि ९ सय ३० जनशक्ति खटाईएको हो । मतदान अधिकृतले स्थानीय आवश्यकता अनुरुप महिला–पुरुष मिलाएर स्वयंसेवक कर्मचारी नियुक्त गर्न पाउने प्रावधान पनि रहेको छ। सो समेत गर्दा करिव साँढे १२ सय कर्मचारी निर्वाचनमा खटिने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कार्यस्थलमा खटाईएका कर्मचारीहरुले मंगलबार नै मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आ–आफ्नो नियुक्ती पत्र लिईसकेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश अर्जुन अधिकारीले बताए। कर्मचारीहरु बुधबार साँझसम्म आ–आफ्नो केन्द्रमा पुगिसक्ने र बिहीबार विहान ७ बजेदेखि शनिबार साँझ साँढे ७ बजेसम्म मतदाता परिचयपत्र वितरण गरिसक्ने पनि अधिकारी बताउँछन्।

मतदानकेन्द्रमा खटिएका कर्मचारीले निर्वाचन कार्यालयबाट मतपेटिका, सुरक्षणशील, स्वस्तिक छाप, स्ट्यामप्याड, मतपत्र, मतदाता परिचयपत्र, नङमा लगाउने मसी देखि सियोधागो सम्मका ६० देखि ६४ प्रकारका सामाग्री मतदान केन्द्रमा लैजानु पर्ने जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसीप्रसाद तिमिल्सिनाले बताए।

जिल्लाको बेसीशहर, सुन्दरबजार, मध्यनेपाल, राईनास नगरपालिका, मस्र्याङ्दी, क्होंलासोथर, दोर्दी र दुधपोखरी गाउँपालिकामा चुनावी चहलपहल बढ्दै गएको सम्बन्धित पालिकामा खटिएका निर्वाचन अधिकृतहरुले बताएका छन् । जिल्लामा महिला ५५ हजार २ सय ६५ र पुरुष ५० हजार ७ सय २७ गरि कूल १ लाख ५ हजार ९ सय ९२ जना मतदाता निर्वाचनमा सहभागी हुने भएका छन्।

प्रकाशित: २६ वैशाख २०७४ ०९:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App