१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मतदाता चाहन्छन् शान्ति र विकास

कलेन्द्र सेजुवाल/नगेन्द्र उपाध्याय

सुर्खेत- 'हामीलाई अरू केही चाहिएको छैन, विकास गर्ने नेता चाहिएको छ।' भेरीगंगा गाउँपालिका–६, घारीबनका ६० वर्षीय खिमबहादुर पुनले सो क्षेत्रका सांसद एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्कासँग यसो भनिरहँदा खड्का मुुस्कुराए। पुनले फेरि भने, 'भोट त हाल्ने हो, तर चुनिएका नेताले विकास गर्लान् भन्ने के ग्यारेन्टी?'

स्थानीय तह निर्वाचनको सिलसिलामा पूर्वी सुर्खेतमा घरदैलो अभियानमा हिँडेका खड्काले सबैभन्दा बढी झेलेको प्रश्न हो– विकास। शनिबार साटाखानीबाट अभियानमा हिँडेका उनी दशरथपुर, गुमी, लेखफर्सा, मैनतडा हुँदै छिन्चु पुगे। उनी जहाँ–जहाँ गए, जनताले विकासकै चासो बढी देखाए। 'अहिले कांग्रेस नेतृत्वमा विकास भएको छ, अब स्थानीय तहमा पनि कांग्रेसका उम्मेदवारलाई जिताउनुहोस्,' उनले जनतालाई आश्वस्त पार्दै भने, 'शान्ति र विकास कांग्रेसको मूल मुद्दा हो, विकास कांग्रेसले गर्छ।'

स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा स्थानीय नेता र उम्मेदवारका साथै राष्ट्रिय स्तरका नेता पनि आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन घरदैलो अभियानमा छन्। विगतमा आफू स्वयं चुनावी प्रतिस्पर्धामा उत्रिदाझैं यस क्षेत्रका नेताहरु मतदाता रिझाउन व्यस्त छन्। कांग्रेसका खड्कासँगै सहकारी तथा गरिबी निवारणमन्त्रीसमेत रहेका हृदयराम थानी वीरेन्द्रनगरमा घरदैलो अभियानमा व्यस्त छन्। आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पर्ने वीरेन्द्रनगरमा थानीले आफूले गरेको विकासका उपलब्धि सुनाउँदै भोट दिन आग्रह गरिरहेका छन्। कांग्रेसकै युवानेता विश्वप्रकाश शर्मा जाजरकोट, दैलेख र सुर्खेतका विभिन्न कार्यक्रममा व्यस्त छन्।

वीरेन्द्रनगरका पूर्वमेयरसमेत रहेका एमाले पोलिटब्युरो सदस्य यामलाल कँडेल पनि आफ्नो पार्टीका उम्मेदवार जिताउन निकै मिहिनेत गरिरहेका छन्। पार्टीका तर्फबाट समग्र ६ नम्बर प्रदेशको चुनावी 'कमान्ड' गरिरहे पनि उनी वीरेन्द्रनगरमै बढी केद्रित छन्।

माओवादी केन्द्रले भने जिल्लाका नेतालाई नै परिचालन गरेर चुनावी अभियान अघि बढाएको छ। जिल्ला इन्चार्ज कृष्ण जिसीले आमसभा गर्नुको साटो गाउँ र वडास्तरीय भेला गर्ने रणनीति बनाएको जानकारी दिए।

नेताका लागि प्रतिष्ठा

ठूला नेताका लागि आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतका स्थानीय तह र समग्र जिल्लामा चुनाव जित्नु प्रतिष्ठाको विषय बनेको छ। स्थानीय तहमा निर्वाचित हुने जनप्रतिनिधिले प्रदेश र संघीय संसद्को निर्वाचनलाई प्रभावित पार्ने हुँदा उनीहरू जसरी पनि आफ्नो क्षेत्रमा पार्टीलाई जिताउनैपर्ने बाध्यतामा छन्। 'आफ्नो निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले नजित्ने हो भने त अहिलेका सांसदलाई पनि काम गर्न गाह्रो हुनसक्छ,' भेरीगंगा नगरपालिका स्थानीय शिवराम खत्रीले भने, 'त्यसैले पनि उनीहरू आफ्नो पार्टीका उम्मेदवार जिताउनैपर्ने बाध्यतामा छन्।'

वडासभा सम्पन्न, अब आमसभा

घरदैलो अभियान तीव्र पारेका दलहरूले वडासभा सम्पन्न गर्दै गएका छन्। दलहरूले अब गाउँ, नगर र क्षेत्रस्तरीय भेलाको तयारी गरेका छन्।

शुक्रबारदेखि मौनअवधि सुरु हुने भएकाले बिहीबारसम्म यस्ता भेला सम्पन्न गर्ने तयारी दलहरूको छ। कांग्रेसले सोमबार वीरेन्द्रनगरमा नगरस्तरीय आमसभा आयोजना गर्‍यो। सभामा केन्द्रीय सदस्यद्वय पूर्णबहादुर खड्का र हृदयराम थानी सहभागी भए। एमालेले बिहीबार वीरेन्द्रनगरमा अन्तिम आमसभा गर्नेछ भने कांग्रेसले सोही दिन मेहलकुनामा आमसभा गर्नेछ।

प्रकाशित: २६ वैशाख २०७४ ०२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App