१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गाउँ फर्कंदै मतदाता

पोखरा – निर्वाचनको मिति नजिकिँदै गएपछि सहरमा विभिन्न पेसा र व्यवसाय गर्दै आएका मतदाता गाउँ फर्कन थालेका छन्। 

पेसा, व्यवसायकै कारण सहर झरेका सर्वसाधारणका लागि आफ्नो मतदाता नामावलीमा नाम गाउँमा भएका कारण निर्वाचनमा भोट हाल्नका लागि गाउँ पुग्नैपर्ने अवस्था छ । 

कास्कीका ग्रामीण भेगका साथै गण्डकी तथा धवलागिरिका स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा, बागलुङ, पर्वत, म्याग्दीलगायतबाट पोखरा आई बस्ने नागरिकको सङ्ख्या पोखरामा अत्याधिक रहेको छ । निर्वाचन नजिकिएका कारण मतदाता गाउँ फर्कन लागेपछि पोखराको व्यापार व्यवसायमा विस्तारै मन्दी आउन थालिसकेको लम्जुङ घर भई विगत केही वर्षयता पोखराको नयाँबजारमा किराना पसल सञ्चालन गर्दै आएका गणेश घिमिरेले बताए । 

“पसलमा आउने अधिकांश उपभोक्ता गाउँ लागिसकेका छन्”, उनले भने – “अब जेठको १, २ गतेसम्म पोखराको व्यापार व्यवसाय सुनसान नै हुनेछ ।” 

सरकारले आजदेखि लागू हुनेगरी शैक्षिक संस्थालाई बिदा दिएका काराण बालबालिकासहित अधिकांश मतदाता गाउँ फर्किन थालेका पर्वतको फलेवासका रामकुमार पौडेलले बताउनुभयो । करिब दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचन आफैँमा एउटा उत्सव जस्तै भएको उनको भनाइ छ । 

नयाँ परिवर्तित संरचनाअनुसार हुन लागेको यस निर्वाचनमा मतदान गर्न मतदाता उत्साहका साथ घर फर्कन थालेका छन् । कतिपय मतदाताका लागि पोखरामा स्थायी घरवास नै भए पनि आधिकारिक रुपमा स्थानान्तरण भइनसकेका कारण गाउँ नै फर्कनु परेको तनहुँको क्युँ घर भई पोखरामा बस्दै आएका हरिकृष्ण सुवेदी बताउँछ । 

“सहरमा बस्दै आए पनि निर्वाचनमा मतदान गर्न आफ्नो गाउँ जानै पर्यो,” उनले भने । पोखराको हेमजा, विरौटा, भरतपोखरीलगायत स्थानमा विभिन्न जिल्लाबाट आएर बस्नेको ठूलै सङ्ख्या रहेको छ । 

पोखरा उपमहानगरपालिका कार्यालयका कर अधिकृत शिवहरि शर्मा पोखरामा छिमेकी जिल्लाबाट मात्र नभई देशभरकै विभिन्न स्थानका नागरिक आएर बसोबास गर्न थालेका छन् । पोखराको मुख्य बजार क्षेत्रमा व्यवसाय गर्नेमध्ये ६० प्रतिशत बाहिरी जिल्लाबाट आएका व्यक्ति रहेको उनले बताए ।

जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार जिल्लाको कुल मतदाता सङ्ख्या दुई लाख २४ हजार ८११ रहेकामा पोखरा लेखनाथ महानगरपालिकामा मात्र एक लाख ६८ हजार ६७ मतदाता रहेका छन् । रासस 

प्रकाशित: २५ वैशाख २०७४ ०८:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App