१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेपालको तेस्रो जित

काठमाडौं- कप्तान पारस खड्काको अर्धशतक मद्दतमा बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा शुक्रबार पनि विजय यात्रालाई निरन्तरता दिएको छ। नेपाली टोलीले क्लब क्रिकेट कन्फ्रेन्स (सिसिसी) लाई ४ विकेटले हराउँदै जितको सिलसिला कायम राखेको हो। मेरिलेबोन क्रिकेट क्लबको निम्तोमा बेलायत भ्रमणमा रहेको नेपालले टोलीले अघिल्ला दुई अभ्यास खेलमा फ्री फरेस्टर क्लबलाई ४० ओभरको खेलमा १ सय २० रन र बिहीबार ट्वान्टी–२० खेलमा इन्डियन जिमखानालाई २० रनले पराजित गरेको थियो।

२ सय २७ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले ४६.१ ओभरमा ६ विकेट गुमाएर २ सय ३० रन जोडेको थियो। त्यसमा सबैभन्दा बढी कप्तान पारसले ६७ रन बनाए। ६६ बल खेलेका उनले ८ चौका र १ छक्का प्रहार गरे। अनिल मण्डल र उपकप्तान ज्ञानेन्द्र मल्लले पहिलो विकेटमा ६७ रनको साझेदारी गरे। अघिल्लो दिन अलराउन्ड प्रदर्शन गरेका सागर पुन ४ रनमा आउट भए। पहिलो विकेटका रुपमा आउट भएका ज्ञानेन्द्रले ३६ रन बनाए। ४३ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे। अनिलले ४३ रन बनाए। उनले ६४ बलमा ४ चौका प्रहार गरे। राजेश पुलामी १६ र राजु रिजाल १७ रनमा अविजित रहँदा शरद भेषावकरले १९ रन जोडे। विनोद भण्डारी ६ रनमा आउट भए। सिसिसीका लुक च्यापम्यानले ३ विकेट तथा अहमद इल्च, रिर्चड हिन्ड्ले र जेमी साउथगेटले समान १ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिसिसीले निर्धारित ५० ओभरमा ७ विकेट क्षतिमा २ सय २६ रन बनाएको थियो। टोलीका दुई खेलाडीले अर्धशतक पूरा गरे। ओपनर सागर पटेलले ६५ र मध्यक्रममा ब्याट्सम्यान स्टिभ सिलउडले ६७ रन बनाए। ८२ बल खेल्ने क्रममा पटेलले ६ चौका र १ छक्का प्रहार गरे। सिलउडले ७३ बलमा ५ चौका र १ छक्का हाने। टोलीलाई उच्च रन बनाउने दुवैको विकेट युवा बलर सन्दिप लामिछानेले लिएका थिए। उनले १० ओभरमा ३६ रन खर्चे। सिसिसीका निक एस स्टेभेन्सले ३१ र साउथगेटले १७ रन थपे।

सन्दिपबाहेक ज्ञानेन्द्र मल्ल र सोमपाल कामीले पनि समान २ विकेट तथा पारस र करण केसीले १–१ विकेट लिएका थिए।

अर्को महिना विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले नेदरल्यान्ड्सको सामना गर्ने भएकाले तयारीका लागि नेपाली टोली बेलायत पुगेको हो।

बेलायत भ्रमणपछि स्वदेश फर्केर नेपाली टोली नेदरल्यान्ड्स जानेछ। नेपाली र नेदरल्यान्ड्सबीच अगस्ट १३ र १५ मा प्रतिस्पर्धा हुनेछ। 

प्रकाशित: २ श्रावण २०७३ ०२:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App