१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘तालमेल’ मा अटेनन् महिला

दाङ— नेपाली कांग्रेसले सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको उपमेयरको उम्मेदवारमा लक्ष्मी सुनारको नाम तय गर्‍यो। एमालेबाट चम्फा पुरी उपमेयरको उम्मेदवार तोकिइन्। प्रमुख वा उपप्रमुख पदमा महिला सहभागिता सुनिश्चित गर्नुपर्ने निर्वाचन ऐनअनुसार यी दुवैै दलले उपमेयरमा महिला खडा गरे। तर चुनावी समीकरण मिल्दै जाँदा कुपिण्डे नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा कांग्रेस र एमालेबाट महिला सहभागिता शून्य बन्न पुग्यो।

एमालेलाई मेयर र कांग्रेसलाई उपमेयर दिनेगरी यी दुई दलबीच बनेको तालमेलले  नगरपालिकामा प्रमुख दुई दलबाटै महिला उम्मेदवार बञ्चित बन्न पुगे। यहाँ दुई दलबीचको तालमेलमा मेयरका लागि एमालेबाट गोविन्द पुन र उपमेयरमा कांग्रेसबाट दीपेन्द्र बिष्ट उम्मेदवार तोकिए।

‘यो नगरपालिकामा एमालेसँग चुनावी तालमेल भएको हो,’ कांग्रेस सल्यान सचिव चक्र देवकोटाले भने, ‘तालमेल गर्दा प्रमुख र उपप्रमुखमा पुरुष उम्मेदवार बन्नुभएको हो, निर्वाचन कार्यलयले पनि यसलाई मानेको अवस्था हो ।’

यस्तै जिल्लाकै दार्माकोट गाउँपालिकामा पनि चुनावी तालमेलकै कारण कांग्रेस र एमालेबाट दुवै पुरुष उम्मेदवार तोकिएका छन् ।  यहाँ कांग्रेसलाई प्रमुख र एमालेलाई उपप्रमुख दिने सहमती बनेको एमाले नेता भद्र बुढाले बताए । कांग्रेसबाट प्रमुखमा रामचन्द्र केसी र उपप्रमुखमा एमालेका दलबहादुर गाहाको उम्मेदवारी परेको छ । ‘एकै दलबाट दुई (प्रमुख र उपप्रमुख) उम्मेदवार पठाउने अवस्थामा पुरुष र महिला अनिवार्य हो,’ बुढाले भने, ‘दलले एक मात्रै उम्मेदवार पठाउने भएपछि महिला सहभागिता कसरी अनिवार्य हुने ?’ माओवादी केन्द्रले यो गाउँपालिकामा टीका शर्मा वलीलाई उपमेयरको उम्मेदवार तोकेको छ ।

महिलालाई प्रमुख वा उपप्रमुखमा महिला सहभागिता अनिवार्य गरिसकेको अवस्थामा तालमेलका क्रममा पनि महिलालाई ध्यान दिइनुपर्ने सल्यानका प्रमुख निर्वाचन अधिकृत माधवेन्द्रराज रेग्मीले बताए । ‘महिला सहभागितालाई तालमेलका क्रममा पनि यो कुरालाई ख्याल गरिनुपथ्र्यो,’ उनले भने ‘दुवैैजना पुरुष उम्मेदवार भइसकेपछि बाँकी प्रक्रिया के हुने भन्नेमा त म आफैं पनि अनभिज्ञ छु ।’

तालमेल नाममा महिला सहभागिता शून्य बनाइनु अनुदार सोचाइ भएको एक कानुन व्यवसायीले बताए । उनले भने ‘यसमा कानुनको त्रुटि छैन, दलहरू तालमेलक्रममा महिलाप्रति अनुदार भएका हुन् ।’ देशका विभिन्न जिल्लामा गरिएका यसखाले तालमेलले स्थानीय तहका थुप्रै एकाइमा महिलालाई बञ्चित पारिएको उनले बताए । ‘तालमेलमा पनि महिला सहभागितालाई ख्याल गरिनुपथ्र्यो,’ उनले भने, ‘दलले यसमा कमजोरी गरेकै हुन् ।’

प्रमुखमा एक मात्र महिला उम्मेदवार

तीन नगरपालिकासहित सात गाउँपालिका रहेको सल्यानमा एक महिला मात्र प्रमुख पदमा उम्मेदवार बनेकी छन् । माओवादी केन्द्रले मात्रै यहाँको एक गाउँपालिका प्रमुखमा महिला उम्मेदवार तोकेको छ । अन्य सबै दलले महिलालाई उपप्रमुखको उम्मेदवार बनाएका छन् ।

प्रमुख वा उपप्रमुखमा महिला उम्मेदवार अनिवार्य हुनुपर्ने नियमानुसार जिल्लाको कुमाखमालिका गाउँपालिकामा माओवादी केन्द्रले दीलमाया बुढालाई उम्मेदवार बनाएको छ । द्वन्द्वका क्रममा उनले श्रीमान गुमाएकी थिइन् ।  ‘उहाँ सहिद परिवार हो,’ माओवादी केन्द्र सल्यानका इन्चार्ज नेवबहादुर कुँवरले भने, ‘उहाँले पार्टीमा देखाएको सक्रियताको मूल्यांकन अहिले भएको हो ।’

सुरक्षा रणनीति

सल्यानमा उम्मेदवार तथा मतदाताको सुरक्षाका लागि बलियो सुरक्षा रणनीति स्थानीय प्रशासनले अपनाएको छ । मुख्यतः चुनाव विरोधीको खोजीका लागि सुरक्षा तैनाथ गरिएको प्रजिअ भरत बुढाथोकीले बताए ।

सञ्चार असुविधाले समस्या

सल्यानको शारदा नगरपालिकामा मात्र सञ्चारको राम्रो पहुँच छ । अर्को नगरपालिका बागचौरमा सञ्चार सुविधा केही सन्तोषजनक छ । यी बाहेक अन्य एकाइमा भने सञ्चार सेवाको चरम समस्या छ । जसका कारण ती एकाइको निर्वाचन गतिविधिको जानकारी आउन सकेको छैन । मुख्य निर्वाचन अधिकृत माधवेन्द्रराज रेग्मीले सञ्चार असुविधाका कारण अधिक एकाइको चुनावी जानकारी आफूले पाउन नसकेको बताए ।

‘टेलिफोनको समस्या एकदमै छ, जसका कारण स्थानीय तहमा भएगरेका गतिविधिको जानकारी तत्काल हामीले पाउन सकेका छैनौं’, उनले भने। 

प्रदेश नम्बर ६ मा पर्ने सल्यानमा पहिलो चरण वैशाख ३१ मा स्थानीय तहको निर्वाचन हुँदैछ । यहाँ ६ दलबीच प्रतिस्पर्धा हुने देखिएको छ । मुख्य निर्वाचन अधिकृत रेग्मीका अनुसार ६ दलले उम्मेदवारी दर्ता गराएका छन् । सल्यानमा एक लाख २५ हजार दुई सय ५६ मतदाता छन्।

प्रकाशित: २५ वैशाख २०७४ ०२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App