१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कर्मचारी नै मिच्छन् मापदण्ड

भक्तपुर- अनन्तलिंगेश्वर नगरवासीले नगरपालिका क्षेत्रभित्र निर्माण मापदण्ड पालना नभएको आरोप लगाएका छन्। कर्मचारी आफैंले मापदण्ड मिचेर घर नक्सा पास र सडक निर्माणको स्वीकृति दिएको स्थानीयले गुनासो गरेका छन्।

अनन्तलिंगेश्वर नगरपालिकाले गरेको सार्वजनिक सुनुवाइमा अनन्तलिंगेश्वर–९ की विमला घिमिरेले नगरको विन्दवासिनी–दधिकोट सडक निर्माण गर्दा जग्गाको सिमांकन नै नगरी नालासमेत नराखी सडक डिभिजन कार्यालयले कालोपत्रे गरेको बताइन्। उनले सिमांकन नगरी विन्दवासिनी मार्गमा कतै १० मिटर त कतै ८ मिटर सडक कालोपत्रे गरेको बताइन्। सडकको दायाँबायाँ पेटी र नालासमेत नछाडी मापदण्ड विपरीतको काम गरेको आरोप उनले लगाइन्। अनन्तलिंगेश्वर–१५ की नन्दु नगरकोटीले नक्सा पास गरेर मात्र घर निर्माण गर्नुपर्ने प्रावधान भए पनि छिमेकीले नक्सा पास नै नगरी मापदण्ड मिचेर घर बनाएको गुनासो गरिन्।

स्थानीय रामकृष्ण चौलागाईले नगरपालिकाका अधिकांश बाटा हिलाम्मे भएर ओहोरदोहोर गर्न समस्या भएको दुःख पोखिन्। विकासका नाममा बर्खामा निर्माण गर्दा गुणस्तरीय नहुनुका साथै बाटो हिलो भएर जनताले दुःख भोग्न बाध्य भएको उनले दुखेसो गरिन्।

अनन्तलिंगेश्वर–५ की सरस्वती घिमिरेले उपभोक्ता समितिमार्फत् विकास निर्माणका काम गर्ने भनिए पनि सोझा जनताले योजना र कार्यक्रमबारे थाहा पाउन मुस्किल भएको बताइन्। अनन्तलिंगेश्वर–१३ की कमला खत्रीले आफ्नो क्षेत्रमा सडक निर्माणका लागि लाखौं रकम बजेट आउने गरे पनि त्यसबारे स्थानीयले कुनै जानकारी नपाउने बताइन्। स्थानीय सानुमैयाँ राजथलाले बाटो निर्माणसँगै ढल निकासको काम गर्न आग्रह गरिन्। सार्वजनिक सुनुवाइमा सानुमैयाँ कपाली, मन्जु थापा, श्रीकृष्ण थापालगायतले नगरपालिकामा बालबालिकाको नाममा छुट्टयाइने बजेटको सदुपयोग नभएको बताइन्।

सुनुवाइमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले विकास निर्माण योजना छनोटमा सर्वसाधारणको सहभागिता र भूमिका बढ्दै गएकाले सबैखाले विकासको जानकारी पाउनु आमनागरिकको अधिकार भएको बताए। उनले जनतालाई विकास निर्माणसम्बन्धी सबै जानकारी र सूचना दिन विकास निर्माणसम्बन्धी निकायलाई निर्देशन दिए। अनन्तलिंगेश्वर नगरपालिकाका कार्यकारी अधिकृत होतराज लम्सालले सेवाग्राहीलाई प्रभावकारी सेवा दिन आफूहरू प्रतिबद्ध रहेको बताए।

प्रकाशित: २ श्रावण २०७३ ०२:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App