१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

तालमेलको नाममा महिलाको स्थान खोसियो

बाग्लुङ- महिला अधिकार र सहभागिताका चर्का कुरा गर्ने राजनीतिक दलहरुले स्थानीय तह निर्वाचनमा भने महिलाहरुलाई बेवास्ता गरेका छन्। स्थानीय निर्वाचनका लागि यहाँका दलहरु महिला उम्मेदवारहरुलाई न्यून स्थान दिनुले दलहरु महिला अधिकार र सहभागीताप्रति व्यवहारिक रुपमा गम्भीर छैनन् भन्ने कुरालाई पुष्टी गरेको छ । जिल्लाको ४ नगरपालिका र ६ गाउँपालिकाको नेतृत्वमा औंलामा गन्न सकिने महिला सहभागीता छ । उम्मेदवारीको दर्ता हेर्दा यहाँको ठूला राजनीतिक दलहरुले हिचकिचाएको स्पष्ट देखिन्छ । नेपाली काँग्रेसले बडिगाड गाउँपालिमा गण्डकी थापा अधिकारीलाई अध्यक्षको उम्मेदवार बनाएर गाल जोगाउने काम गरेको छ।

 नेकपा एमालेले ताराखोला गाउँपालिकामा पूर्णा चालिसेलाई अध्यक्षको उम्मेदवार बनाएको छ। नेकपा माओवादी केन्द्रले कुनै पनि नगर/गाउँपालिकामा प्रमुखमा महिलालाई उम्मेदवार बनाएको छैन। गाउँ/नगरको प्रमुख उपप्रमुखमा मध्ये एक महिला अनिवार्य हुनैपर्ने संवैधानिक व्यवस्थाका कारण दलहरुले महिलालाई उपप्रमुख दिन बाध्य भएको देखिन्छ। यद्यपी दुई वा दुई भन्दा बढि दलहरु चुनावी तालमेल गरेर निर्वाचनमा जाँदा महिला अनिवार्य नभएपछि तालमेलको शिकार पनि महिला नै भएका छन्। राजनीतिक रुपमा विशेष महत्व राख्ने बाग्लुङ नगरपालिकामा नेकपा एमाले, राप्रपा र राष्ट्रिय जनमोर्चा मिलेर चुनावमा गएपछि महिलाले पाउने उपमेयरको उम्मेदवारी सुरेन्द्र खड्काले खोसिदिए।

 काठेखोला गाउँपालिकामा पनि एमाले राजमो र माओवादी केन्द्र मिलेर जाँदा महिलालाई नै घाटा परेको छ। त्यहाँ प्रमुखमा एमालेका अमर थापा र उपप्रमुखमा राजमोका अर्जुनबहादुर खत्री उम्मेदवार बनेका छन्। बडिगाड गाउँपालिकामा एमाले र माओवादी केन्द्रबीच तालमेल भएपछि महिला अनिवार्यले गर्दा पाउनुपर्ने उपाध्यक्षमा पदमा पनि माओवादी केन्द्रका केन्द्रीय सदस्य राजिव घिमिरे उम्मेदवार भएका छन्। बाग्लुङ नगरपालिकामा नेकपा मालेले मञ्जु क्षेत्रीलाई उम्मेदवार बनाए पनि उसको जनाधार छैन। गाउँ/नगरपालिकाको प्रमुख मात्र होईन वडाअध्यक्षमा पनि दलहरुले महिलालाई विश्वास गरेको दैखिदैन। वडाअध्यक्षमा महिलाको संख्या न्यून भएको मूख्य निर्वाचन अधिकृत हिमलाल बेलबासे बताउँछन्। ‘नेतृत्व गर्ने ठाउँमा महिलाको सहभागिता न्यून छ,’ प्रमुख निर्वाचन अधिकारी बेलबासेले भने,‘महिलाहरुले नचाहेर हो वा दलहरुले नदिएर हो । हामीलाई थाहा भएन ।’ उनको अनुसार  बाग्लुङका १० स्थानीय तहका ८५ वटा वडामा २ सय ७३ जना वडाध्यक्षको उम्मेदवारमध्ये जम्मा ८ जना महिला छन् । बाग्लुङ नगरपालिकामा—३ मा राजमोको तर्फबाट लक्ष्मी बास्कोटा वडाअध्यक्षको उम्मेदवार बनेकी छिन् । बाग्लुङ नगरपालिकामा उनी एक्ली वडाध्यक्षकी उम्मेदवार हुन्।

जैमिनी नगरपालिकामा—२ मा नयाँ शक्तिबाट रुपा सापकोटा र वडा नम्बर ९ मा माओवादी केन्द्रबाट मिना परियार उम्मदेवार छिन् । ढोरपाटन नगरपालिका र काठेखोला नगरपालिकामा महिला वडाध्यक्षका उम्मेदवार छैनन् । काठेखोला—१ मा एमालेबाट चन्द्रकला रोका, ७ मा माओवादी केन्द्रबाट रुपा सुनार र ८ मा एमालेबाट चित्रकला छन्त्याल वडाध्यक्षमा उम्मेदवार बनेका छन् । बडिगाड गाउँपालिकामा माओवादीबाट लक्ष्मी क्षेत्री, वडा नम्बर १ मा एमालेबाट विनाकुमारी थापा उम्मेदवार भएका छन् । तमानखोला, ताराखोला, निसीखोला, बरेङ गाउँपालिकाका कुनै पनि वडामा महिला उम्मेदवार छैनन् ।

 गाउँ/नगर र वडाको नेतृत्वका गर्नका लागि महिलाहरुलाई राजनीतिक दलहरुले प्रेरित गर्न नसकेको महिला अधिकारकर्मी पार्वती आचार्यको बुझाई छ। ‘महिलालाई नेतृत्वमा जानका लागि दलहरुले पनि सघाएको देखिदैन,’ उनले भनिन्,‘२० वर्ष पछि हुन लागेको त्यो पनि नयाँ संरचना अनुसारको निर्वाचन भएको कारण काम कर्तव्यबारे जानकार नहुँदा पनि महिलाहरु नेतृत्वमा आउन नसकेको हुनसक्छ ।’ उम्मेदवार बन्ने आकाँक्षीहरु गाउँ/ नगरको वडा तहबाटै सिफारीस भएर आउनुपर्ने र काँग्रेसमा सिफारीस भएर आउने महिला नहुँदा महिलालाई वडाध्यक्षमा उम्मेदवार बनाउन नसकिएको काँग्रेस जिल्ला सभापति दिपेन्द्र थापाको भनाई छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अुनसार बाग्लुङमा ४ सय ४५ पदका लागि  १ हजार ३ सय ७६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित: २४ वैशाख २०७४ १२:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App