१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पन्जाबको प्लेअफ सम्भावना

बेङ्लोर- इन्डियन प्रिमियर लिग (आइपिएल) मा संघर्ष गरिरहेको रोयल च्यालेन्जर्स बेङ्लोरमाथि पाएको विजयसँगै किङ्स–११ पन्जाबले प्ले अफ खेल्ने सम्भावनालाई जीवित बनाएको छ। शुक्रबार अबेर राति सम्पन्न खेलमा बेङ्लोर १९ रनले पराजित भएपछि विराट कोहलीको टिम थप दबाबमा परेको छ।

कोहली, क्रिस गेल र एबी डी भिलियर्सजस्ता उत्कृष्ट ब्याट्सम्यान भए पनि जारी आइपिएलमा बेङ्लोरको खराब प्रदर्शनले निरन्तरता पाइरहेको छ। प्लेयर अफ द म्याच पन्जाबका सन्दीप शर्माले महत्वपूर्ण तीन विकेट लिएपछि बेङ्लोरले १९ ओभरमा १ सय १९ रन जोड्दा सबै विकेट गुमाएको थियो। त्यसअघि सुरुआतमा ब्याटिङ गरेको पन्जाबले ७ विकेटको नोक्सानीमा १ सय ३८ रन जोडेको थियो। सन्दीपले पावर प्लेअघि बेङ्लोरका मुख्य तीन ब्याट्सम्यान गेल, कप्तान विराट र डी भिलियर्सलाई आउट गरेपछि पन्जाबको जित सहज बन्दै गएको थियो। तिनै ब्याट्सम्यानले सन्दीपको बललाई सही रूपमा सामना गर्न सकेनन्।

बेङ्लोरका लागि सर्वाधिक रन जोडेका ओपनर मन्दीप सिंहले ४४ बलमा ४६ रन जोडे। तर मन्दीपलाई १२औं ओभरमा पन्जाबका कप्तान ग्लेन म्याक्सवेलले बोल्ड गरे। अलराउन्डर म्याक्सवेलले ३ ओभरमा २ विकेट लिँदै टोलीको जितमा योगदान गरे। पन्जाबको जितमा योगदान गर्ने अर्का बलर बने अक्षर पटेल। उनले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिएका थिए।

पन्जाबका कप्तान म्याक्सवेलले बलर सन्दीपको प्रदर्शनले खेल जित्न सहयोग गरेको बताए। म्याक्सवेलले भने, 'उनले असाधारण प्रदर्शन गरे। सिजनमा तीन (विराट, क्रिस, एबी) उत्कृष्ट ब्याट्सम्यानलाई आउट गर्नु उत्कृष्ट प्रयास हो। उनी एउटै खेलमा त्यो सफलता प्राप्त गर्न सफल भए।' पन्जाबले १० खेलमा पाँचांै जित हासिल गर्दै १० अंक जोडेको छ। बेङ्लोरलाई हराएपछि पन्जाब अंकतालिकाको पाँचांै स्थानमा पुगेको छ।

गत वर्ष फाइनल खेलेको रोयल च्यालेन्जर्स बेङ्लोर ५ अंकसहित अंकतालिकाको पुछारमा छ। बेङ्लोरले १२ खेल खेल्दा २ खेलमा मात्र सफलता प्राप्त गरेको छ। हारपछि बेङ्लोरका कप्तान विराटले निकै निराशाजनक अनुभव गरिरहेको बताए। 'यस्तो खेलमा म के भनूँ भनेर सोच्न सकिरहेको छैन। तैपनि हामीले राम्रो ब्याटिङ गर्ने प्रयास गरेको हो। तर ब्याट्सम्यानबाट सहयोग भएन,' विराटले भने, 'ब्याटिङकै कारण हामी पुनः एक पटक निराश हुनुपर्‍यो। अहिलेको जस्तो एकै सिजनमा धेरै पटक असफल भएको मैले देखेको छैन।'

सुरुआतमा ब्याटिङ गरेको पन्जाब पनि ब्याटिङ राम्ररी जम्न सकेको थिएन। अन्त्यतिर अक्षरले क्रिजमा धैर्य देखाएपछि पन्जाबले सन्तोषजनक स्कोर बनाएको थियो। अक्षर पन्जाबका लागि अविजित रहँदै १७ बलमा सर्वाधिक ३८ रन जोड्न सफल भए। बेङ्लोरका अंकित चौधरीले १७ रन खर्चेर २ विकेट लिए। अर्का बलर युजभिन्द्र चाहलले २१ रन खर्चेर २ विकेट हात पारेका थिए।

खेलको पहिलो ओभरमै पन्जाबका ओपनर हासिम अमला चौधरीको बलमा क्याच भएका थिए। दक्षिण अफ्रिकन ब्याट्सम्यान १ रन जोडेर पबेलियन फर्केपछि पन्जाबको विकेट पतन सुरु भएको थियो। २५ रन जोडेका मनन बोरा चौथो विकेटको रूपमा आउट हुँदा पन्जाबले ६१ रन जोडेको थियो। म्याक्सवेलले ६ रन बनाएर चाहलको बलमा आउट भए। १९औं ओभरमा सातौ विकेटको रूपमा मोहित शर्मा आउट हुँदा समेत पन्जाबले १ सय १९ रन जोडेको थियो। तर अक्षरले सेन वाट्सनको अन्तिम ओभरमा १९ रन जोड्दै पन्जाबको स्कोर बढाए। अक्षरले अन्त्यतिर वाट्सनको बलमा एउटा छक्का र २ चौका प्रहार गरेका थिए।

प्रकाशित: २४ वैशाख २०७४ ०४:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App