१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

जितपछि एपिएफ सेमिफाइनलमा

अत्तरिया- विभागीय टोली एपिएफ लगातार दोस्रो जित हासिल गरेपछि यहाँ जारी राष्ट्रिय महिला रुस्लान अत्तरिया कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

शुक्रबार अत्तरियास्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा भएको दोस्रो खेलमा एपिएफले कञ्चनपुर ११ माथि ८ विकेटको सानदार जित हासिल गरेको हो। यसअघि बिहीबार पनि एपिएफले नेपाली महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षत्रीले नेतृत्व गरेको मिलन क्रिकेट एकेडेमी झापालाई ७ विकेटले हराएको थियो। समूह एकमा एक खेल गुमाएका मिलन क्रिकेट एकेडेमी झापा र कञ्चनपुर ११ बीचको विजेता  सेमिफाइनल पुग्नेछ।

टस जितेर पहिले ब्याटिङ गरेको कञ्चनपुर ११ ले १२ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ३५ रनको झीनो योगफल खडा गर्‍यो। सुरुदेखि विकेट गुमाएर दबाबमा परेको कञ्चनपुरका कुनै पनि खेलाडीले दोहोरो रन बनाउन सकेनन्। कप्तान विन्दु रावलले बनाएको ५ रन नै सबैभन्दा बढी  थियो।

कञ्चनपुरलाई कम रनमा समेट्न एपिएफकी विनु बुढामगर, करुणा भण्डारी, सीता रानामगर र सरिता मगरले २/२ विकेट लिए। इन्दु बर्मा र सोनु खड्काको नाममा १/१ विकेट थियो।

३६ रनको लक्ष्य लिएर ब्याटिङ गरेको एपिएफले ५ ओभरमै २ विकेटको क्षतिमा विजयलक्ष्य भेट्टायो। जितमा ज्योति पाण्डेयले १२ रन बनाइन् भने सीता रानामगर र ममता चौधरीले ६/६ रन बनाए। एपिएफले ९ रन अतिरिक्त पायो। कञ्चनपुरकी डली भट्टले २ विकेट लिइन्। खेलमा उत्कृष्ट प्रदर्शन गरेकी एपिएफकी सीता वुमन अफ द म्याच भइन्। उनले नगद ३ हजार पाइन्।

अत्तरियास्थित एपिएफको खेलमैदानमा शुक्रबार बिहान भएको खेलमा राइजिङ क्रिकेट वुमनले कैलाली जिल्ला क्रिकेट एकेेडेमीको टोलीलाई १७ रनले हराएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको राइजिङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३७ रन बनायो। यो योगफल तयार पार्नका लागि विदेशी खेलाडीको प्रदर्शन उत्कृष्ट रह्यो। बंगलादेशी खेलाडी सहनाज प्रवीन र भारतीय खेलाडीद्वय पूजा निमाभाट र लक्ष्मी चौधरीले ब्याटिङ समाले। २० रन बनाएकी सहनाजले १९ रन बनाएकी पूजासँग पहिलो विकेटका लागि २४ रनको साझेदारी गरिन्। सहनाजले दोस्रो विकेटका लक्ष्मी चौधरीसँग ४५ रनको साझेदारी गरिन्। लक्ष्मीले पनि २० रनको योगदान गरिन्। कैलाली जिल्ला क्रिकेट एकेेडेमीका लागि चाँदनी शाहले २ विकेट लिइन्। सुमन विष्ट, अञ्जली चन्द र लक्ष्मी साउदले १/१ विकेट लिए।

१ सय ३८ रनको विजयलक्ष्य लिएर मैदान उत्रिएको कैलाली जिल्ला क्रिकेट एकेेडेमीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २० रन मात्रै बनाउन सक्यो। टोलीका  लागि नितु भण्डारीले ३५, मञ्जु भण्डारीले २० र कविता कुँवरले १७ रन बनाए। राइजिङ क्रिकेट वुमनका लागि अस्मिता कर्माचार्यले ३ विकेट लिइन्। पुना निराभाटले २ तथा आरती विडारी र कृति सेनले १/१ विकेट लिए। खेलमा १९ रन बनाएर एक विकेट लिएकी भारतीय खेलाडी पूजा निभाभाट वुमन अफ द म्याच भइन्। उनले नगद ३ हजार हात पारिन्। प्रतियोगिताअन्तर्गत शनिबारको पहिलो खेल राइजिङ क्रिकेट वुमन काठमाडांै र बारा क्रिकेट एकेडेमी तथा दोस्रो खेल कञ्चनपुर ११ र मिलन क्रिकेट एकेडेमी झापाबीच हुनेछ।

सुरुदेखि विकेट गुमाएर दबाबमा परेको कञ्चनपुरका कुनै पनि खेलाडीले दोहोरो रन बनाउन सकेनन्। कप्तान रेखा रावलले बनाएको ५ रन नै सबैभन्दा बढी  थियो।

प्रकाशित: २३ वैशाख २०७४ ०४:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App