१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

उम्मेदवारलाई चुनाव चिह्न प्रदान

काठमाडौं- स्थानीय तहका लागि वैशाख ३१ मा हुने पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी दिएका झन्डै ४९ हजारले शुक्रबार चुनाव चिह्न पाएका छन्।

स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, वडासदस्यका उम्मेदवारले शुक्रबार मुख्य/निर्वाचन अधिकृतको कार्यालयबाट चुनाव चिह्न पाएका हुन्। दलीय र स्वतन्त्रतर्फका दुवै उम्मेदवार चुनाव चिह्न पाएपछि प्रचारप्रसारमा मा जुटेका छन्।  पहिलो चरणमा प्रदेश ३, ४ र ६ का ३४ जिल्लामा २ सय ८३ स्थानीय तहका लागि चुनाव हुँदैछ।

निर्वाचन आयोगले मुख्य/जिल्ला निर्वाचन अधिकृतको कार्यालयमार्फत शुक्रबार विहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म दलीय र स्वतन्त्र उम्मेदवारलाई चिन्ह प्रदान गरेको हो।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार संसद्मा प्रतिनिधित्व गर्ने २७ दलका उम्मेदवारले पार्टीगत आधारमा र अन्यले स्वतन्त्र चिह्न पाएका छन्। 'संसद्मा प्रतिनिधित्व गर्ने दललाई मात्रै पार्टीको चुनाव चिह्न दिने व्यवस्थाबमोजिम २७ दलका उम्मेदवारले मात्रै दलगत चिह्न पाएका छन्,' शर्माले भने, 'बाँकी सबैलाई स्वतन्त्र चुनाव चिह्न दिइएको छ। संसदमा प्रतिनिधित्व नगरेका एउटै दलबाट छुट्टाछुट्टै पदका लागि छुट्टाछुट्टै उम्मेदवारले पनि फरकफरक चिन्ह पाएका छन्।'

आयोगका अनुसार २ सय ७३ स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्य पदका १३ हजार ५ सय ५६ पदका लागि ४९ हजार ७ सय ५४ जनाको उम्मेदवारी परेको छ। तर बिहीबार देशभर कतिले उम्मेदवारी फिर्ता लिए भन्ने तथ्यांक आयोगसँग नआइपुगेको हुँदा अन्तिम संख्या यकिन भइनसकेको शर्माले जानकारी दिए। 'उनले भने 'आइतबारसम्म यकिन तथ्यांक आइपुग्छ।'

निर्वाचन आयुक्त नरेन्द्र दाहालले भने, 'स्थानीय तह निर्वाचनमा भाग लिने दलीय र स्वतन्त्र सबै उम्मेदवारलाई मुख्य/निर्वाचन अधिकृतको कार्यालयले चिह्न प्रदान गरिसकेको छ। उम्मेदवारले मतदान हुनुको २४ घन्टा अघिसम्म प्रचारप्रसार गर्न पाउनेछन्।' दाहालका अनुसार उम्मेदवारलेे ३० गते बिहान ७ बजेसम्म प्रचारप्रसार गर्न पाउनेछन्। 'मतदान हुनु २४ घन्टाअघि मौन अवधि सुरु हुने भएकाले त्यो समयमा राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न पाउँदैनन्,' आयुक्त दाहालले भने।

प्रकाशित: २३ वैशाख २०७४ ०३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App