१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उम्मेदवार अपहरणको भित्री पाटो

काठमाडौं- स्थानीय तहको निर्वाचन आउन अब ९ दिन मात्र बाँकी छ। विभिन्न तहका उम्मेदवार यति बेला घरदैलो गर्न र प्रचारप्रसारमा केन्द्रित छन्। तर, नयाँ शक्ति पार्टी, नेपालका नागार्जुन नगरपालिका–७ का वडा अध्यक्षका उम्मेदवार मदन गिरी अपहरणमा परे भन्ने खबरले सनसनी मच्चियो।

पार्टीले यही विषयमा विज्ञप्ति पनि जारी गर्‍यो। बिहीबार नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले जारी गरेको विज्ञप्तीमा अपहरणको आरोप सत्ताधारी दलका कार्यकर्तामाथी लगाइएको छ।

गिरी २ दिन अगाडि नयाँबजारबाट बेलुका साढे ७ वजे अपहरणमा परेको र उनले अपहरण अगाडि पार्टीका नेतालाई जानकारी गराए लगत्तै मोवाइल स्विच अफ भएको जानकारी आएपछि महानगरीय प्रहरी आयुक्त कार्यालय, महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसरको संयुक्त टिम उनको खोजीमा लाग्यो।

अपहरणमा परेका भनिएका गिरी शुक्रबार आफैं प्रहरीको सम्पर्कमा आए। उनले आफू गोकर्णेश्वरको जंगलमा नजिकै रहेको र हतियारधारी समूहले अपहरण गरेर जंगलमा राखेको बताएपछि प्रहरी टोली गएर उनको उद्धार गर्‍यो।

'प्रहरीले भेट्दा जिउभरि हिलो थियो हातमा पनि सानो चोट लागेको थियो,' काठमाडौं परिसरका एसएसपी छवीलाल जोशीले भने, 'उनले चार जना मिलेर अपहरण गरेको दाबी गरे।'

तर, प्रहरीले टेकुमा रहेको परिसरको कार्यालयमा ल्याएर घटनाबारे सोधपुछ शुरु गरेपछि भने दृष्य फेरियो। प्रहरीले पाएको प्रारम्भिक जानकारी र उनले दिएको विवरण मिलेन।

प्रारम्भमा उनले चार जना युवतीहरुले अपहरण गरेको दाबी गरेका थिए। बयानमा उनको दाबी मिलेन। उनले आफुलाई जंगलमा लगेर राखेको दाबी गरे पनि अनुसन्धानमा उनी एक परिचितको घरमा गएर बसेको खुल्यो।

घटना नाटकीय देखिएपछि प्रहरीले केरकार बढायो। अनि बल्ल खुल्यो– उनको अपहरण भएको होइन, उनी आफैंले अपहरणको नाटक गरेका थिए। अपहरणको नाटक गर्न उनले केही नेतालाई जानकारी दिएर  मोवाइलको स्विच अफ गरि साथीको घरमा गएर बसेका थिए।

बाबुरामको विज्ञप्तीसँगै प्रहरीले उनको खोजीको रफ्तारलाई बढायो र परिवार र आफन्तसम्म पुग्यो। प्रहरी टोली खटिइसकेको र लामो समय लुक्न नसक्ने भएपछि शुक्रबार उनी आफैं प्रहरीको सम्पर्कमा आएको तथ्य खुल्यो।

'पहिला उनले हतियारसहितको समूहले अपहरण गरेको बताए पनि बयानमा आफैं दोहोरो जानकारी दिन थाले,' एसएसपी जोशीले भने, 'उनले दिएको जानकारी एक आपसमा मेल खाएको छैन, उनी जंगलमा होइन साथीको घरमा गएर बसेको पुष्टी नै भइसक्यो।'

प्रहरीले प्रारम्भमा नक्कली अपहरण चुनावी चर्चाका लागि गरेको आशंका गरेको थियो। तर गिरीको बयानबाट अर्कै पाटो खुल्यो। अनुसन्धानमा संलग्न अधिकारीका अनुसार वडा अध्यक्षको उम्मेदवार बनेपछि पार्टीले अन्य उम्मेदवारहरुलाई सहयोग गर्नुपर्ने भन्दै सात लाख रुपैंया मागेपछि त्यसबाट जोगिन अपहरणको नाटक गरेको प्रहरी बयानमा खुलाएका छन्।

चुनावमा प्रचारका लागि पार्टीले सहयोग गर्ला भन्ने आशमा रहेका उनलाई उल्टो पैसा मागेको र सो दिन नसकेपछि अपहरणमा परेको र अपहरणमुक्तहुन फिरौती बुझाउँदा पैसा सकिएको भन्दै पार्टीलाई पैसा बुझाउनबाट जोगिन अपहरणको नाटक रचेको उनले प्रहरी बयानमा दाबी गरेका छन्।

नयाँशक्तिका प्रवक्ता खिमलाल देवकोटाले पार्टीले कुनै उम्मेदवारसँग पैसा नमागेको र गिरीलाई अपहरण गर्ने तत्वले जोगिन दुश्प्रचार गरेको दाबी गरे। 'हामीले कसैसँग पनि पैसा मागेका छैनौँ, सहयोग गर्नुको साटो उम्मेदवारसँगै पैसा माग्ने विषय पनि हैन,' देवकोटाले नागरिकसँग भने, 'यो दुस्प्रचारमात्र हो।'

प्रकाशित: २३ वैशाख २०७४ ०२:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App