१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

स्वास्थ्य सेवा सुधारको खाँचो, ड्राइभरले गर्छन् एक्स–रे

इलाम- सूर्योदय नगरपालिकास्थित फिक्कल बजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र (प्रास्वाके)मा बिहीबार दिउँसो २ चिकित्सक बिरामी जाँच्न खटिए। प्रयोगशालामा केही स्वास्थ्यकर्मी थिए भने काउन्टर र मेडिकलमा २–४ कर्मचारी।

चिकित्सकले नगरपालिकाकै वडा–१२ का एक बिरामीको ढाड एक्स–रे गर्न सुझाए। एक्स–रे गर्न केन्द्रको ५ नम्बर कोठामा बिरामी र उनका सहयोगी पुग्दा कोठा खाली थियो । काउन्टरमा सोध्दा ‘डाक्टर साब आइहाल्नुहुन्छ, बस्दै गर्नुस् न’ जवाफ पाएपछि बिरामी र सहयोगीले पर्खिए । एकछिनमा ‘डाक्टर साब’ आए। र, कोठा अन्धकार बनाएर बिरामीको ‘एक्स–रे’ पनि गरे। १० मिनेटमा रिपोर्ट दिने भन्दै ‘डाक्टर’ अर्को कोठामा छिरे ।

                एक्स–रे गर्ने ‘डाक्टर साब’ अरू कोही नभएर त्यही स्वस्थ्य केन्द्रका एम्बुलेन्स चालक मोहन प्रधान थिए । स्थानीय नै भएकाले प्रधानलाई धेरैले चिन्छन् पनि । तर, ‘एक्स–रे गर्नु थियो, गरिहाले, उनी चालक हुन् या चिकित्सक, के मतलब भो र !’ अर्का एक बिरामीले व्यंग्य कसे । बिरामीका सहयोगीले एक्स–रे गर्ने व्यक्ति चिकित्सक हुन् कि एम्बुलेन्स ड्राइभर भनेर सोध्दा काउन्टरका कर्मचारीबाट जवाफ पाए, ‘ड्राइभर होइन, डाक्टर नै हो ।’ तर, आधा घण्टाअघि स्वास्थ्य केन्द्रको आँगनमा एम्बुलेसन्स नै चलाएर आएका प्रधान एक्स–रे सकेर त्यही एम्बुलेन्स चलाउँदै निस्किए।

                इलाम नगरपालिका–१ साखेजुङका भीमबहादुर थापा शुक्रबार दिउँसो उपचारका लागि भाइलाई जिल्ला अस्पताल लिएर आए । बिहान रुखबाट झरेर सख्त घाइते उनका भाइ फिरोज थापालाई डाक्टरले बेडमा ओरालिनसक्दै अन्तै लैजान भनिहाले ।

                ‘लु यो बिरामीको त एक्स–रे गर्नुपर्छ, यहाँ एक्स–रे हुँदैन भनेर कुनै उपचार गरेनन्,’ भीमबहादुरले सुनाए, ‘बिरामी ल्याउनेबित्तिकै डाक्टरले अरू नै अस्पतालमा लगिहाल्न सुझाव दिँदै दुखाइ कम गर्ने औषधि मात्रै दिए ।’ एक्स–रे र भिडियो एक्स–रे नै अस्पतालमा नहुने बुझेपछि भीमबहादुर भाइलाई गम्भीर अवस्थामा दिउँसो झापातिर लैजान बाध्य भए । ‘५० बेडको जिल्ला अस्पतालमा एक्स–रे नै छैन भन्ने थाहा पाएको भए सोझै झापा लगिहाल्थें, यहाँ किन समय बर्बाद गर्न आइरहने थिएँ र !’ भीमबहादुरले गुनासो गरे, ‘टाढा लैजानेगरी पैसाको बन्दोबस्त पनि थिएन, अकास्मात रेफर गर्दा अभर परियो ।’

                हरेक वर्षजसो औषधि अभाव भइरहने जिल्लाका स्वास्थ्य संस्थामा केही महिनायता औषधि अभावको गुनासो धेरै सुनिएको छैन । तर, स्वास्थ्यकर्मी अभाव र व्यवस्थापनको लापरबाहीका कारण सर्वसाधारणलाई भने उपचार सेवा पाउन निकै कठिन छ । ‘गाडी ड्राइभरले एक्स–रे गर्ने अस्पतालमा सर्वसाधारणले राम्रो उपचार पाउने आशा र विश्वास कति हुन्छ र !’ सूर्योदय नगपालिकाका वीरसिंह राईले भने, ‘एक्स–रे गर्नेजस्तो संवेदनशील काममा दक्ष प्राविधिक नै छैनन् भने सर्वसाधारणले कस्तो उपचार पाउँदै होलान् ।’

                जिल्ला अस्पतालसहित जिल्लाभरका स्वास्थ्य संस्थामा लामो समयदेखि केही स्वास्थ्यकर्मीको दरबन्दी रिक्त छ । अस्पतालमा चिकित्सक नपाउने बुझेका बिरामी टाढासम्म पुगेर औषधि–उपचार गराउन बाध्य छन् । एक्स–रेजस्तो आधारभूत सेवा नै भरपर्दाे नहुँदा बिरामीको चाप पनि यी स्वास्थ्य संस्थामा कमै हुने गरेको छ ।

                सदरमुकामस्थित ५० शड्ढयाको जिल्ला अस्पतालमा १६ डाक्टरको दरबन्दी छ । तर, यहाँ अहिले २ जनामात्रै कार्यरत छन् । १० विशेषज्ञ चिकित्सक, ५ मेडिकल अधिकृत तथा १ डेन्टल सर्जनको दरबन्दी रहेकामा डेन्टल सर्जन र १ स्त्री रोग विशेषज्ञ मात्रै कार्यरत रहेको अस्पतालले जनाएको छ । अस्पतालका ६४ मध्ये एक तिहाइभन्दा बढी दरबन्दी अझै खाली छन् ।

                ‘जिल्ला अस्पतालमा एक्स–रे मेसिन चाहिँ नभएको होइन तर बिजुलीको भोल्टेज नपुगेर सबै बिरामीको एक्स–रे गर्न नसकिएको हो,’ अस्पताल प्रमुख डाक्टर प्रभु साहले भने, ‘अन्य अंगको एक्स–रे यहीं हुन्छ, ढाडको एक्स–रे गर्न मेसिनलाई भोल्टेज पुग्दैन ।’ उनले अस्पतालमा सानो क्षमताको विद्युत् ट्रान्सफर्मरले धान्न नसक्दा उपचार सेवा दिन कठिनाइ भएको बताए । 

                जिल्ला अस्पताललाई २५ बाट ५० शड्ढयामा स्तरवृद्धि गरी भौतिक पूर्वाधार पुर्‍याइए पनि जनशक्ति र उपकरण अभावकै कारण सेवा दिन समस्या भइरहेको अस्पतालले जनाएको छ । ५० शड्ढयाको अस्पतालमा भिडियो एक्स–रे सुविधासमेत छैन । ‘एउटा भएको भिडियो एक्स–रे स्त्री रोगको जाँचका लागि म आफैं चलाउँछु,’ डाक्टर साहले भने, ‘विभिन्न रोगका विशेषज्ञसमेत नभएकाले अन्य बिरामीले भिडियो एक्स–रे सुविधा पाउन सकेका छैनन् ।’

                अस्पतालकी सूचना अधिकारी रीता अधिकारीले भने विशेषज्ञ हुँदा मात्रै भौतिक पूर्वाधार पनि पूरा गर्न सजिलो हुने बताइन् । ‘मुख्य समस्या नै जनशक्ति अभाव हो,’ उनले भनिन्, ‘सम्बन्धित विषयको दक्ष जनशक्ति हुँदा कुन उपकरण र पूर्वाधार चाहिन्छ भन्ने थाहा हुन्छ ।’ जिल्ला अस्पतालमा दिनहुँ ४०–५० बिरामी उपचारका लागि आउँछन् । तर, यहाँ आएकामध्ये अधिकतर बिरामी रेफर भएर जाने गरेका छन्। ‘यहाँ डाक्टर छैनन् भन्ने थाहा पाएर बिरामी पनि कम नै आउने गरेका छन्,’ अधिकारीले सुनाइन्, ‘आकस्मिक रूपमा उपचार चाहिँदा मात्रै बिरामीहरू यहाँ आउँछन्। जनशक्ति अभावले सेवाग्राहीलाई उनीहरूले चाहेअनुसार सेवा दिन सकेका छैनौं ।’

                जिल्ला अस्पतालमा मात्र होइन, यहाँका ४ प्राथमिक स्वास्थ्य केन्द्रमध्ये पनि फिक्कलमा मात्रै एक्स–रे सेवा छ । तर, प्रास्वाकेमा एक्स–रे गर्ने प्रयोजनका लागि प्राविधिकको बेग्लै दरबन्दी (मेडिकल असिस्टेन्ट)को भने व्यवस्था नै नभएको प्रास्वाके प्रमुख कुशल वस्तीले बताए । ‘एक्स–रे सेवा भएपनि प्रास्वाकेमा त्यसैका लागि बेग्लै दरबन्दी हुँदैन,’ प्रमुख वस्तीले भने, ‘भ्याएको बेला म आफैं एक्स–रे गर्छु। अरू डाक्टर साबहरूले पनि गर्नुहुन्छ । नभ्याएको बेला अन्य स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकले पनि एक्स–रे गरिहाल्छन् ।’ उनले एम्बुलेन्स चालकलाई पनि एक्स–रेको तालिम दिएकाले उनले ‘सघाउने गरेको’ बताए ।

                जिल्ला जनस्वास्थ्य प्रमुख जीवन मल्लले जिल्लाका मंगलबारे, पशुपतिनगर र प्याङका प्राथमिक स्वास्थ्य केन्द्रमा भने एक्स–रे मेसिनसमेत नभएको बताए । ‘जिल्लाका ३ प्रास्वाकेमा भिडियो एक्स–रे त होइन, एक्स–रे मेसिनसमेत छैन,’ उनले भने, ‘अब चाहिँ व्यवस्था गर्ने तयारी छ ।’ मल्लले चालकले एक्स–रे गर्नु उपयुक्त नभएपनि ‘कामचलाउ’ गर्नुपरेको बताए।

                गाउँ–गाउँका स्वास्थ्य संस्थामा चिकित्सक नहुँदा सेवाग्राहीले बाहिरी जिल्ला धाउनुपरिरहेको छ। जिल्ला अस्पतालसमेतमा उपचार नपाएपछि यहाँका बिरामी झापा, धरान, विराटनगर, काठमाडौं र भारतको सिलिगुडीसमेत पुगेर उपचार गराउन बाध्य छन्। ‘हाम्रो जिल्लाका अस्पतालमा कहिले औषधि हुँदैन, कहिले डाक्टर,’ जोगमाईका सोनाम शेर्पाले भने, ‘घन्टौं धाएर सदरमुकाम आएर पनि डाक्टर नपाएर अन्तै जानुपर्ने बाध्यता छ ।’

 

 

प्रकाशित: २२ वैशाख २०७४ ११:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App