१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तरकारी खेतीबाटै मनग्य आम्दानी

काक्राे टिप्दै झुनखुनवाका मुनिफ मियाँ । तस्बिर : मदन ठाकुर

रौतहट – देशका युवाहरू विदेशिने क्रम बढीरहेको बेलामा रौतहटका करिव दर्जन गाउँका किसानहरूले बेमौसमी तरकारी खेतीमार्फत विदैशिक रोजगारीबाट प्राप्त हुने भन्दा धेरै आम्दानी गरी उदाहरणीय बनेका छन् । 

झुनखुनवाका मुनिफ मियाँले आफ्नो एक बिगाहा खेतमा नियमित तरकारी खेती गरेर मासिक बीसदेखि तीस हजार रुपैयाँसम्म कमाइरहेको बताउँछन् । तरकारी खेती गरेरै मियाँले ५ छोरा र दुई छोरी हुर्काएका छन् । आफ्नो खेतमा उब्जाएको तरकारीको कमाइले कसैको मुख ताक्न नपरेको मियाँ बताउँछन् । मियाँले जस्तै झुनखुनवाका दर्जनौँ किसानले बेमौसमी तरकारी उब्जाएर मनग्य आम्दानी गरिरहेका छन्।

यस्तै सरुअठाका जनिफ मियाँले अरुको खेत भाडामा लिएर तरकारी खेती गरेका छन् । तरकारी खेतीबाट मासिक पच्चीस हजार आम्दानी हुने गरेको उनि बताउँछन् । तरकारी खेतीबाट राम्रो कमाइ भइरहेकोले छोराछोरीलाई राम्रो विद्यालयमा पढाइरहेको मियाँ बताउँछन् । 

त्यसैगरी जिल्लाको पूर्वी भेगमा बग्ने बागमतीको बगरमा पनि तरकारी खेती हुन थालेको छ । बागमती किनारका गाउँहरू ब्रह्मपुरी र कटरवन लगायतका गाउँका किसानहरू बगरमा  परवल उब्जाएर राम्रो कमाइ गरिरहेका छन् । 

जिल्लाको हजमिनिया, सरुअठा, झुनखुनवा, भेडियाही लगायतका गाउँका किसानहरुले नियमित रुपमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । व्यावसायिक तरकारी खेतीले किसानको आय बढाएको छ भने भारतबाट तरकारीको आयात पनि कम गरेको छ । किसानहरूले उब्जाएको तरकारी राजधानी काठमाडौँसम्म पुगिरहेको छ । किसानहरू आफैले पनि उब्जाएको तरकारी काठमाडौँसम्म पुर्याएर राम्रो कमाइ गरिरहेका छन् ।

तरकारी खेतीमा लगानीको तुलनामा आम्दानी धेरै भएको किसानहरु नै बताउँछन् । पानी, ज्याला, खनजोत, मलखाद, बीउ समेत गरी प्रतिकठा पाँचदेखि सात हजारसम्म रुपैयाँसम्म तरकारी खेतीमा लाग्ने गरेको हजमिनियाका किसान सफिउल्लाको भनाइ छ । रोगले नसताएमा तरकारी खेतीबाट एक सिजनमा  प्रति कठा बीसदेखि पचीस हजार रुपैया सजिलै कमाइ भइरहेको सफिउल्लाहको दाबी छ ।

बीउ, मलखाद, सिँचाइ आदि सम्पूर्ण काम किसानले आफैँले गरिरहेकोमा सरकारी अनुदान भएमा किसानले झन् राम्रो गर्ने बताउँछन् । तरकारी खेतीको लागि अहिलेसम्म सरकारी अनुदान केही पनि नपाउँदा सरकारप्रति किसानहरु क्षुब्ध देखिएका छन् । 

जिल्लाको विभिन्न गाउँमा गरी बन्दाकोभी ८०० हेक्टर, काउली १६४०, गोडभेंडा ४१०, मूला ५०, भिन्डी १७००, काँक्रो ३५०, फर्सी २५०, करेला ६५०, परवल २००, बोडी ३००, लौका १२६०, खुर्सानी ४२५, भन्टा ५०० हेक्टरमा खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालय रौतहटले जनाएको छ । 
जिल्लाको औरैया, गंगापिपरा, माधोपुर, सरुअठा, हजमिनिया, राजदेवी, मुडबलवा, ब्रह्मपुरी, बेलबिछवा, बन्जरहा लगायतको गाउँमा व्यावसायिक तरकारी खेती हुने गरेको जिला कृषि कार्यालय रौतहट प्रमुख राजनारायण यादवले बताएका छन् । विभिन्न गाउँको खेतको माटो तरकारी खेतीको लागि निकै अनुकूल भएको र हावापानी समेत राम्रो भएकोले व्यावसायिक खेतीतर्फ किसानहरु आकर्षित भएको कृषि प्रमुख यादवको भनाइ छ । 

 

प्रकाशित: २२ वैशाख २०७४ ११:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App