१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

महामहिमको मत

स्थानीय तह निर्वाचनको पहिलो चरणमा ४९ लाख ५६ हजार ९ सय २५ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन्। यसमा एक विशिष्ट मतदाताले भने आफ्नो मताधिकार प्रयोग गर्ने छैनन्– उनी हुन् राष्ट्रपति विद्यादेवी भण्डारी। राष्ट्रपतिले आफू संविधानको संरक्षक भएकाले निर्वाचनमा सहभागी भएर मतदान गर्दा कुनै दलविशेषलाई मत हाल्नुपर्ने भएकोले यो निर्णयमा पुगेको तर्क अघि सारेकी छन्। उनका पूर्ववर्ति डा. रामवरण यादवले पनि २०७० साल मंसिरमा सम्पन्न संविधानसभा निर्वाचनमा सर्वसाधारणलाई मत दिन आह्वान गरे तर आफूले तटस्थता कायम गर्न मत नदिने भनेका थिए। तर, के यस्तो गर्नु आवश्यक छ? राष्ट्रपति भनेका राजा होइनन्। राजाले हिजो निर्वाचनमा भाग लिँदैनथे। तिनले कसैलाई मतदान गर्न पनि सक्दैनथे। तर, राष्ट्रपति बन्ने व्यक्ति दलबाट निर्वाचित हुने हुन्। निर्वाचित भएपछि त्यो संस्थालाई तटस्थ बनाउन प्रयास गर्ने हो।

राष्ट्रपति संस्थाको मर्यादा र तटस्थताभन्दा पनि सम्बन्धित व्यक्तिले आफ्नो मातृ दलकै उम्मेवारलाई मतदान गरेको आम आकलन हुन सक्ने भएकोले लोकलाजबाट आफूलाई जोगाउन खोजेको मात्र देखिन्छ। हिजो डा. यादवलाई कांग्रेसका उम्मेदवारलाई मत दिएको आशंका हुने डर थियो भने आज भण्डारीलाई एमाले उम्मेदवारलाई। एक मतदाताका रुपमा कुनै दल विशेषका उम्मेदवारलाई राष्ट्रपति पदमा बहाल व्यक्तिले मत दिँदा संख्यात्मक रुपमा ठूलो अर्थ नराखे पनि सांकेतिक रुपमा मतदातामा उत्साहको अर्थ लाग्छ। हामीकहाँ प्रत्यक्ष निर्वाचित नभए पनि जनताका प्रतिनिधिले छानेका व्यक्ति राष्ट्रपति बन्ने हुन्। तिनलाई दल विशेषको समर्थन र साथ रहन्छ। राष्ट्रपति बनिसकेपछि तिनले दलविशेषको अजेन्डा परित्याग गरी संविधान पालकको रुपमा आफूलाई उभ्याउनु पर्छ। तर, निर्वाचनमा मत दिँदा आफ्नो तटस्थतामा प्रश्न उठ्छ भनेर सशंकित हुनुपर्दैन। मतदान यस्तो पवित्र कार्य हो, जसमा राष्ट्रप्रमुखदेखि सर्वसाधारणसम्मले भाग लिन्छन्। बरु राष्ट्रपति बनेपछि आफूबाट त्यो पद अनुकूल कतिपय काम नभएका हुन सक्छन्, त्यसमा ध्यान दिए हुन्छ। हालै राष्ट्रपति निवासमै भएको एउटा विवाह समारोहमा कस्ता पाहुना बोलाउन हुन्थ्यो वा हुन्नथ्यो? त्यसले कस्तो सन्देश जान्छ? भन्नेमा ध्यान दिनुपर्थ्यो। राष्ट्रपति भएपछि कसरी जनताको हृदय जित्ने हो? त्यसमा विचार गर्ने हो। राष्ट्रपति आवधिक पद हो। त्यसबाट निस्केपछि फेरि राज्यबाट पाइने सामान्य सुविधाबाहेक साधारण हैसियतमै फर्कने हो। राष्ट्रपति पदको सकारात्मक उपयोगलाई भने समाजले सम्भि्करन्छ।

हामीकहाँ भन्दा भारतमा राष्ट्रपति संस्थाको परम्परा लामो छ। त्यहाँका राष्ट्रपतिले आफ्नो 'गुड अफिस' लाई समाज प्रेरक काममा उपयोग गरेका अनेकन उदाहरण छन्। भारतीय राष्ट्रपतिले निर्वाचनमा भाग नलिने गरेको उदाहरणलाई यहाँ पनि टपक्क टिपेर परम्परा बनाउन खोजेको देखिन्छ। तर, त्यहाँ पनि राष्ट्रपतिले मताधिकार प्रयोग गर्न खोजेका उदाहरण छन्। भारतीय राष्ट्रपति प्रणव मुखर्जीले २०१४ को लोकसभा निर्वाचनमा मताधिकार प्रयोग गर्न सम्पूर्ण प्रक्रिया पूरा गरे पनि पछि आफ्ना पूर्ववर्तिकै परम्परालाई निरन्तरता दिएका थिए। उनले पनि संस्थाको तटस्थतालाई ध्यानमा राखेर मतदान गर्न नचाहेका हुन्। भारतमा जारी परम्परा र नेपालमा बसाउन खोजिएको नयाँ थिति उस्तै भए पनि अमेरिकी राजनीतिमा भने राष्ट्रपतिको मतदानले ठूलो महŒव राख्छ। अमेरिकी राष्ट्रपतिले उत्साहसाथ मत दिन्छन्। नेपाल र भारतका राष्ट्रपति आलंकारिक हुन् तर अमेरिकी राष्ट्रपति कार्यकारी अधिकारयुक्त। आलंकारिक राष्ट्रपति हुँदैमा मताधिकार प्रयोगले संस्थाको तटस्थता कायम हुँदैन भन्ने सोच्न सकिन्न। यो संस्थाले निर्वाचनमा उत्साह दिन पनि मतदान गर्नु उचित हुन्छ। मर्यादा राख्नुपर्ने कतिपय विषयमा बेवास्ता गर्ने र वास्ता गर्न अनावश्यक विषयमा बढ्ता गम्भीर हुने प्रवृत्ति अन्त्य हुनुपर्छ।

प्रकाशित: २२ वैशाख २०७४ ०३:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App