२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

महालक्ष्मीको लाकुरी भन्ज्याङ र गोदावरीको फुल्चोकी मुख्य अजेन्डा

ललितपुर- महालक्ष्मी र गोदावरी नगरपालिकाका मेयर उम्मेदवारले प्राकृतिक स्रोतसाधनलाई अर्थोपार्जन र रोजगारी सिर्जनाको आधार बनाउने आश्वासन बाँडेका छन्। ती नगरपालिकाका धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्व बोकेका ऐतिहासिक सहरको बागडोर सम्हाल्न लोभलाग्दा आश्वासनसहित उम्मेदवार घरदैलोमा व्यस्त छन्।

महालक्ष्मी नगरपालिकाका बालकुमारी, इमाडोल, टीकाथली, लामाटार, लुभु र सिद्धिपुरमा रहेका मठमन्दिर र सम्पदाका साथै गोदावरी तथा कर्मनासा खोलासमेत चुनावी अजेन्डामा परेका छन्। यस्तै उम्मेदवारले शिक्षा, खानेपानी, सरसफाइ र स्वास्थ्यसमेत चुनावी अजेन्डा बनाएका छन्। महालक्ष्मी नगरपालिकाका लाँकुरी भन्ज्याङलाई पर्यटकीय गन्तव्य बनाउने र नेवार तथा तामाङ बस्तीलाई जीवित संग्रहालय बनाउने मुद्दा उम्मेदवारको छ।

गोदावरी नगरपालिकाभित्रका बज्रबाराही मन्दिरका साथै हात्तीवन, सन्तानेश्वर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना सबै पार्टीका उम्मेदवारले बनाएका छन्। फुल्चोकी डाँडा र हरियो वनको विकास र संरक्षण अर्को चुनावी मुद्दा बनेको छ। नगरपालिका क्षेत्रका मार्बल, फलाम र ढुंगागिटीजस्ता प्राकृतिक स्रोतसाधनको उचित व्यवस्थापन गर्ने आश्वासन उम्मेदवारले बाँडेका छन्।

महालक्ष्मी नगरपालिकाका निर्वाचन अधिकृत राम घिमिरेका अनुसार मेयर पदका लागि १२ र उममेयरमा ८ जना चुनावी प्रतिस्पर्धामा छन्। १० वडा रहेको नगरपालिकाका लागि दुई सय ६८ जनाले प्रतिस्पर्धा गरिरहेको घिमिरेले बताए। उनका अनुसार वडा नम्बर ७ का वडाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार रामेश्वर कार्कीले उम्मेदवारी फिर्ता लिएका छन्।

गोदावरी नगरपालिकामा मेयरका लागि १८ जना प्रतिस्पर्धामा छन्। उपमेयरमा सात जनाको उम्मेदवारीलाई निर्वाचन कार्यालयले अन्तिम मानेको छ। १४ वडा रहेको नगरपालिकाका लागि ३३२  उम्मेदवार रहेको निर्वाचन अधिकृत हरिप्रसाद रेग्मीले जानकारी दिए।

महालक्ष्मी नगरपालिका

रामेश्वर श्रेष्ठ (मेयर, एमाले)

महालक्ष्मीलाई समृद्ध नगरपालिका बनाउने र यहाँका नगरबासीलाई सुखी बनाउने योजना छ। भौतिक संरचना निर्माण वातावरणमैत्री र दिगो बनाउँछौं। नगरभित्रका गोदावरी र कर्मनासा खोलामा करिडोर र हरित उद्यान बनाउने योजना छ। नगरभित्रका राजकुलोको संरक्षण हुनेछ। वातावरणीय सुधारका क्षेत्रमा नगरपालिका क्रियाशील हुनेछ।

महेश खड्का (मेयर, कांग्रेस)

नगरबासीका लागि सेवामुखी, भ्रष्टाचारमुक्त र छिटोछरितो नगर प्रशासन पहिलो आवश्यकता हो। अव्यवस्थित विकास रोक्दै व्यवस्थित र सुविधा सम्पन्न नगर बनाउने योजना छ। नगरभित्रका गोदावरी र कर्मनासा खोलालाई स्वच्छ, हराभरा र वातावरण अनुकूल बनाउनेछौं। लाँकुरी भन्ज्याङ प्रमुख पर्यटकीय गन्तव्य हुनेछ। खानेपानीका लागि विशेष योजना तत्काल कार्यान्वयनमा आउनेछ। शिक्षा, स्वास्थ्य, सुरक्षा र रोजगारीलाई आधारभूत आवश्यकताकै रूपमा अघि बढाउनेछौं।

शिवप्रसाद कट्टेल (मेयर, माओवादी केन्द्र)

नगरभित्रको पूर्वाधार विकास जनमैत्री, विकासमैत्री र वातावरणमैत्री बनाउने योजना छ। शिक्षाका लागि सामुदायिक विद्यालयको विकास र सुधार हुनेछ। नगरलाई राजधानीसँग जोड्न नियमित र सुविधा सम्पन्न नगर बस तथा नगरभित्र आन्तरिक चक्रपथ निर्माण हुनेछ। सम्पदा संरक्षणका साथै नगरभित्रका जनजातिको पहलमा जीवित संग्रहालय निर्माण गरिनेछ। लाँकुरी भन्ज्याङमा महालक्ष्मी भ्युटावर निर्माण हुनेछ।

आनन्द अधिकारी (मेयर, राप्रपा)

लाँकुरी भन्ज्याङ र त्यहाँ बसोबास गर्ने बहुसंख्यक तामाङ जातिलाई समेटेर पर्यटकीय गन्तव्य बनाउने योजना छ। नगरभित्र जनजातिको भेषभूषा, रहनसहन तथा खानपिन झल्काउने जीवित संग्रहालय बनाइनेछ। पुराताŒिवक तथा धार्मिक सम्पदाको विकास, संरक्षण र प्रवर्द्धनमा विशेष जोड हुनेछ। भौतिक पूर्वाधार एक शताब्दीपछिको सोचाइ राखेर निर्माण कार्य गरिनेछ। शिक्षा, स्वास्थ्य र रोजगारका लागि नगरभित्रका साधनस्रोतको अधिकतम प्रयोग हुनेछ।

गोदावरी नगरपालिका

श्याम केसी (मेयर, माओवादी वैद्य)

सर्वसाधारणलाई नगर विकासको मनोविज्ञानअनुसारका योजनामा सहभागी बनाउनेछु। गोदावरी नगर, हाम्रो नगर भन्ने अवधारणाअनुसार विकासमा समान सहभागिता र लाभमा समान हकदारको योजना अघि सारेका छांै। नगरभित्रका सम्पदा, स्रोतसाधन तथा सुविधामा सबैको समान अधिकार र दायित्वअनुसारका योजना बनाउनेछांै। जनमुखी नगरपालिका कार्यालय बनाउन पूर्ण इमानदारीसाथ लाग्नेछु। शिक्षा, स्वास्थ्य, सुरक्षा र रोजगारमा विशेष जोड रहनेछ। प्राकृतिक स्रोतसाधनलाई वातावरणमैत्री बनाउँदै नगरलाई आत्मनिर्भर बनाउनेछांै।

श्यामकृष्ण सिलवाल (मेयर, एमाले)

गोदावरीलाई देशकै नमुना नगरपालिका बनाउने योजना छ। उपत्यकाको दक्षिण भेगमा रहेको प्राकृतिक सम्पदालाई सुरक्षित राख्दै उद्योगको विकास गर्ने योजना छ। कृषि तथा वन पैदावरलाई प्रमुख आर्थिक उपार्जनको क्षेत्र बनाउने योजना छ। नगरभित्र यातायातको पूर्वाधार र सर्वसुलभ सार्वजनिक यातायातको सुविधा हुनेछ।

प्रकाशित: २२ वैशाख २०७४ ०३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App