१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अरू बेला सहरमै, चुनाव आएपछि गाउँमा

काठमाडौं- स्थानीय निकाय चुनाव नजिकिएसँगै राजनीतिक दलका नेताहरू गाउँगाउँ पस्न थालेका छन्। भोट माग्न र आफ्ना चुनावी अजेन्डा जनतामाझ राख्न दलका नेताहरू गाउँगाउँ पस्न थालेका हुन्।

उपत्यकाका काँठ क्षेत्रका धेरै उम्मेदवार प्रचारप्रसार सामग्री बोकेर भोट माग्न गाउँतिर लम्किएका छन्। ललितपुर महानगरपालिकाका मेयर उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जन स्थानीयसँग भोट माग्न र घुलमिल हुन आफू गाउँगाउँ पसेको बताउँछन्। उनले उम्मेदवारी दिएको भोलिपल्टै च्यासल, बुङमती, भंैसेपाटी, खोकनालगायत टोलमा पुगेर स्थानीयसमक्ष आफ्ना अजेन्डा राखिसकेका छन्। 'मैले चुनावको बेला मात्रै होइन अरू बेला पनि स्थानीयका गुनासा सुन्दै आएको छु,' उनी भन्छन्, 'स्थानीयसँग भिजेर काम गर्नेलाई मात्र स्थानीयले पत्याउँछन्।' उनी आफूले चुनाव जिते ललितपुर महानगरलाई स्वच्छ र सांस्कृतिक सम्पदा सहरका रूपमा विकास गर्ने बताउँछन्।

ललितपुर महानगरपालिकाकै एमालेका मेयर उम्मेदवार हरिकृष्ण व्यञ्जनकार पनि घरदैलो कार्यक्रममा जुटेका छन्। उनी नगरवासीको घरघरमा पुगेर आफ्ना योजना र अजेन्डा राखिसकेको बताउँछन्। 'सहरमा बसेर गाउँले र स्थानीयका समस्या देखिँदैन,' उनी भन्छन्, 'सहर र गाउँ दुवै क्षेत्रका स्थानीयको समस्या सुन्ने र व्यवहारमा उर्तानेले मात्रै चुनावमा जित्न सक्छ।'

माओवादी केन्द्रका मेयर उम्मेदवार दीपेश महर्जन पनि गाउँ पस्न थालेका छन्। 'पहिलेदेखि नै स्थानीयसँग घुलमिल हुँदै आएको छु,' उनी भन्छन्। उनले आफू महानगरपालिकाको मेयर भए ललितपुरलाई हराभर बनाउने दाबी गरे।

सधंै सहरमा अनुहार लुकाइरहने नेता चुनाव लागेपछि सुनसान गाउँमा पुग्न थालेपछि गाउँले पनि अचम्मित भएका छन्। 'चुनावका बेला हुरुक्कै पार्ने अजेण्डा र योजना सुनाउने नेताहरू जितेर गएपछि गाउँतिर फर्किंदैनन्,' ललितपुर चापागाउँका उदय तिमिल्सिनाले भने, 'अब त पार्टी हेरेर होइन योग्य र सक्षम उम्मेदवार हेरेर भोट दिन्छौं।'

चुनावी माहोल र नेताका विकासका लोभलाग्दा अजेन्डाले केही गाउँलेको अनुहारमा खुसी पनि छाएको छ। नेताहरूले गाउँमा आफ्ना अजेन्डा सुनाएको र गाउँलाई कायापलट बनादिने आश्वासन सुनेपछि टहरामा भएका भूकम्पपीडितका मनमा आशा पलाएको छ। 'हाम्रो समस्या समाधान जसले गर्छ उसैलाई भोट हाल्ने हो,' ललितपुर बुङमतीका भूकम्पपीडित सुमन मालीले भने, 'भूकम्प गएको दुई वर्ष भयो अहिलेसम्म टहरामै छौं।'

खोकनाका अशोक महर्जनले पनि योग्य र समाजसँग जोडिएर काम गर्ने उम्मेदवारलाई भोट हाल्ने बताए। 'चुनावका बेला सबै नेताहरू नजिकिन्छन् जब चुनाव सकिन्छ त्यसपछि नेताहरूको अनुहारै देख्न पाइन्न,' उनले भने, 'यसअघिको चुनावमा आश्वासन दिने नेताहरु चुनावपछि गाउँमा कहिल्यै आएनन्।' उनले स्थानीयका समस्या बुझेको र नेतृत्व गर्न सक्ने व्यक्तिलाई भोट हाल्ने बताए।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका राप्रपाका मेयर उम्मेदवार श्याम श्रेष्ठको विचार भने फरक छ। उनी चुनावका बेलामात्रै घरदैलोमा भोट माग्न जाने दलहरूको संस्कारप्रति विमति राख्छन्। 'चुनावका बेला घरदैलोमा जाने तर जितेपछि फर्केर पनि नर्हेने नेताहरू धेरै छन्,' उनले भने, 'चुनावका बेला स्वार्थ पूरा गर्न गाउँ जाने नेतालाई जनताले पत्याउन छाडिसके, त्यसैले सुखदुःखमा घरदैलो पुग्ने नेतालाई जनताले भोट दिन्छन्।' काठमाडौं महानगरपालिकाका एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले चुनाव नजिकिँएसँगै आफू प्रचारप्रसारमा लागेको बताए। 'हामीले पूरा गर्न सक्ने मात्र अजेन्डा बोकेर जनताको घरदैलोमा पुगेका छौं,' उनले भने, 'चुनावमा जित्नका लागि पूरा गर्न नसक्ने ठूला प्रतिबद्धता जनाउनु भन्दा सक्ने प्रतिबद्धता जनाएर त्यसलाई साकार पार्नु उत्तम हुन्छ।'

प्रकाशित: २२ वैशाख २०७४ ०३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App