१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

२५ देखि ३१ सम्म विद्यालय बन्द

काठमाडौं- सरकारले निर्वाचन आयोगको अनुरोधमा एक साता विद्यालय बन्द गर्ने निर्णय गरेको छ। पहिलो चरणमा निर्वाचन हुने प्रदेश ३, ४ र ६ मा पर्ने सबै सरकारी तथा निजी विद्यालयलाई वैशाख २५ देखि ३१ गतसम्म बन्द हुने सरकारले जनाएको छ। यसअघि सरोकारवालाले पठनपाठन कम प्रभावित हुनेगरी निर्वाचन सम्पन्न गर्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए। आयोगले शिक्षा मन्त्रालयमार्फत ७ दिन विद्यालय बन्द गर्न पत्राचार गरेको शिक्षा विभागका निर्देशक केशव दाहालले बताए।

१ करोड ४० लाख ५४ हजार ८ सय ४२ मतदाताका लागि १८ हजार मतदान केन्द्र तोकिएको छ। जसमध्ये दुईतिहाइ सार्वजनिक विद्यालय रहेको विभागले जनाएको छ। शिक्षा विभागले निर्वाचनका बेला गरिने बिदालाई वर्षे र हिउँदे बिदामा मिलान गर्न सम्बन्धित निकायहरूलाई पत्राचार गरिसकेको समेत उनले बताए। शिक्षा नियमावली अनुसार एक शैक्षिक सत्रमा २ सय २० दिन विद्यालय खुल्नुपर्ने र १ सय ८० दिन कक्षा सञ्चालन हुनुपर्छ।

निर्वाचन आयोगका सहसचिव दीपक सुवेदीले मतदानस्थल सार्वजनिक स्कुल, सामुदायिक स्वास्थ्य चौकी, सामुदायिक भवन तोकिएको बताए।

'अधिक मतदानस्थल सार्वजनिक स्कुल भएकाले चुनावको एकसाता अघिदेखि पठनपाठन बन्द गर्नुपर्ने अवस्था आएको  हो,' उनले भने।

निर्देशक दाहालले निर्वाचनका समयमा साना बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग नगर्नसमेत विभिन्न दलसँग आग्रह गरिएको बताए। निर्वाचन आयोगलले चुनावमा बालबालिका प्रयोग नगर्न निर्देशन दिएको छ।

विभिन्न विद्यार्थी संगठनले पनि चुनावमा बालबालिका प्रयोग नगर्न दलहरूलाई आग्रह गरेका छन्। नेपाली कांग्रेस निकट नेपाल  विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले बालबालिकालाई चुनावी प्रचारमा प्रयोग नगर्न आफ्नो संगठनले सबै राजनीतिक दलललाई आग्रह गरेको बताए। 'सरकारले विद्यालय र बालबालिकालाई ६ वर्षअघि नै शान्तिक्षेत्र घोषणा गरेको छ,' महरले भने, 'हाम्रो संघले दलका नेतालाई बालबालिकालाई कुनै पनि चुनावी प्रयोजनमा प्रयोग नगर्न सचेत गराइसकेको छ।'

काओवादी केन्द्र निकट क्रान्तिकारी विद्यार्थी संगठनका उपाध्यक्ष रञ्जित तामाङले १८ वर्ष मुनिका बालबालिकालाई चुनाव प्रचारप्रसारमा प्रयोग गर्न नहुने बताए। 'हामी विद्यार्थी संगठन विद्यार्थीकै हकहितका लागि स्थापना गरिएको हो,' उपाध्यक्ष तामाङले भने, 'त्यही भएर दलीय कार्ययोजनाका लागि हामी कुनै पनि हालतमा बालबलिकाको दुरुपयोग हुन दिन्नौं।' उनले थपे, 'बालबालिकालाई चुनावको प्रचारको साधनको रुपमा प्रयोग नगर्न हामीले दलका नेतालाई पटकपटक सचेत गराइरहेका छौं।'

एमाले निकट अनेरास्ववियुका महासचिव ऐन महरले कुनै पनि दलले बालबालिकालाई चुनावी प्रचारको साधन बनाउनु आपत्तिजनक विषय रहेको बताए। 'मतदानको अधिकारै नभएका साना नानीहरूलाई चुनावी कार्यमा प्रयोग नगर्न हाम्रो संगठनले पार्टीलाई अवगत गराइसकेको छ,' महरले भने, 'हामी विद्यार्थी संगठन पनि एकबद्ध भएर यसको विरोधमा लागेका छौं।'

प्रकाशित: २२ वैशाख २०७४ ०३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App