१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

'बाहुबली २' को रेकर्डै रेकर्ड

मुम्बई- गत अप्रिल २८ मा रिलिज भएको बलिउड फिल्म 'बाहुबली २–द कन्क्लूजन'ले बलिउड बक्स अफिसमा अनेक रेकर्ड राखेको छ। निर्देशक एसएस राजामौली निर्देशित यो फिल्म सन् २०१५ मा रिलिज फिल्म 'बाहुबली'को सिक्वेल हो।

प्रभास, राणा दग्गुबती, अनुस्का शेट्टी, तमन्ना भाटिया र राम्या कृष्णामूर्तिलगायतका कलाकार अभिनित फिल्मले रिलिजको चार दिनमा अनेक रेकर्ड राखेको हो। फिल्मको हिन्दी संस्करणले पहिलो दिन पुरै भारतमा ४१ करोडको कमाइ गरेर आमिर खानको 'दंगल' र सलमान खानको 'सुल्तान'को रेकर्ड तोडिदिएको थियो। पहिलो दिन फिल्म 'दंगल'ले २९ करोड र 'सुल्तान'ले २६ करोड कमाइ गरेको थियो।

हिन्दीसहित तमिल, तेलुगु र मलायलम भाषामा बनेको फिल्म 'बाहुबली २' भारतका ८ सय स्त्रि्कनमा रिलिज भएको थियो। योभन्दा अघि आमिरको फिल्म 'दंगल' ६ सय स्त्रि्कनमा रिलिज भएको थियो।

फिल्म व्यापार विश्लेषक तरन आदर्शका अनुसार फिल्मले पहिलो दिन एक सय करोड कमाइ गरेको थियो। यसमा हिन्दी संस्करणको ४१ करोड र तमिल, तेलुगु र मलयालम भाषाको ८० करोड संलग्न छ। 'बाहुबली २' भारतकै यस्तो पहिलो फिल्म हो, जसले रिलिजको पहिलो दिन नै सय करोड कमाइ गरेको थियो।

फिल्मले अमेरिकामा पहिलो दिन ६५ करोडको व्यापार गरेको थियो। करण जोहर र धर्मा प्रोडक्सनको तथ्यांकअनुसार 'बाहुबली २'ले तीन दिनमा ३ सय करोड कमाइ गरेको थियो। जसमा हिन्दी संस्करणको १ सय २८ करोड र  तमिल, तेलुगु, मलयालमको १ सय ७५ करोड जोडिएको छ।

सोमबार हरेक फिल्मको कमाइमा गिरावट आउने गर्दछ। तर, चौथो दिन पनि 'बाहुबली २'ले ४० दशमलब २५ करोडको कमाइ गरेर अर्को नयाँ रेकर्ड कायम गर्‍यो। धर्मा प्रोडक्सनका अनुसार 'बाहुबली २'को हिन्दी संस्करणको कुल कमाइ १ सय ६८ दशमलब ५६ करोड छ।

प्रकाशित: २१ वैशाख २०७४ ०४:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App